व्यङ्ग्यचित्रमा हास्य अतिशयोक्तिका रूपमा पनि प्रस्तुत भएका हुन्छन् । हास्यव्यङ्ग्यभित्र हुने सिर्जना पीडाबाट जन्मिए पनि जनप्रियताबाट हुर्केको हुन्छ । मान्छेलाई पीडा दिने धेरै कुरा हुन्छन् र सजिलै तिनले रुवाएका हुन्छन् ।
हास्यव्यङ्ग्यको चित्राङ्कन विधा व्यङ्ग्यचित्र मानव चेतनाको उत्कृष्ट सिर्जना हो । एउटा चित्र हजार शब्द बराबर हुन्छ भन्ने मान्यता अनुसार व्यङ्ग्यचित्रले दिने प्रस्तुति अझ प्रभावशाली र महत्वपूर्ण मानिन्छ ।
हास्यव्यङ्ग्य क्षेत्रमा तीन प्रमुख विधा छन्– लेखन, प्रदर्शन र चित्राङ्कन । नेपाली हास्यव्यङ्ग्य साहित्यको इतिहास धेरै पुरानो छैन । तापनि भानुभक्तको समयदेखि यसले तहल्का मच्चाउँदै आएको छ । यसका तिनै विधा जनकल्याणकारी, जनपक्षीय, जनप्रिय रहँदै आएका छन् ।
प्रहसनको कुरा गर्दा पाटनको कार्तिकनाचमा बाथ प्रहसन विशिष्ट रूपमा १७ औँ शताब्दीदेखि चल्दै आएको पाइन्छ । व्यङ्ग्यचित्रबारे पुराना टुँडाल र पुरुषलाई पशु बनाएको भित्तीचित्रमा देखिए पनि धेरैपछि २०१४ सालमा गोवर्धन शाहको कार्टुन छापामा आएको हो ।
लेखनमा कवितातर्फ भानुभक्त आचार्य र लक्ष्मीप्रसाद देवकोटा देखिनुभयो । नाटक लेखनमा शक्तिवल्लभ र प्रेमराज शर्मा देखिनुभएको छ । गद्य हास्यमा सुरुमा केशवराज पिँडाली र कृष्णप्रसाद चापागायीका कृति देखा परे । लेखनमा २० को दशक प्रभावी रह्यो र त्यसपछि नै हास्यव्यङ्ग्यको चौतर्फी विकास भएको पाइन्छ ।
कार्टुन पछिल्लो र द्रुततर विकास भएको हास्यव्यङ्ग्यको चित्र विधा हो । नेपालमा राजनीतिक प्रयोजनमा कलाकार चन्द्रमान मास्केको व्यङ्ग्यचित्र ९७ सालमा प्रयोग भएको देखिन्छ । छापा माध्यममा भने सर्वप्रथम गोवर्धन शाहले २०१४ सालमा जानी नजानी राजनीतिक असन्तुष्टिको चित्र कोर्नुभयो, जुन तात्कालिक संयुक्त प्रयास पत्रिकामा छापिएर प्रारम्भिक छापा इतिहासमा कार्टुनको थालनी हुन गयो । तात्कालिक व्यङ्ग्यचित्रको क्रमिक विकास गर्नमा गोवर्धन शाहपछि कुलमानसिं भण्डारी जस्ता थोरै व्यक्ति भेटिनुहुन्छ । यसपछि नै दुर्गा बराल, रामकुमार पाँडे, शशी शाह व्यङ्ग्यचित्र निर्माणको मिर्मिरेमा देखा पर्नुभएको छ । त्यसपछि टेकवीर मुखिया (उदय), बलराम थापा (बराथा) र मोहनश्याम महर्जन (खोकना) व्यङ्ग्यचित्रमा आआफ्ना विशेषता बोकेर आउनुभएको देखिन्छ ।
व्यङ्ग्यचित्रमा हास्य अतिशयोक्तिका रूपमा पनि प्रस्तुत भएका हुन्छन् । हास्यव्यङ्ग्यभित्र हुने सिर्जना पीडाबाट जन्मिए पनि जनप्रियताबाट हुर्केको हुन्छ । मान्छेलाई पीडा दिने धेरै कुरा हुन्छन् र सजिलै तिनले रुवाएका हुन्छन् । भनिन्छ, मस्तसँग हाँस्ने मान्छे स्वस्थ हुन्छ तर मान्छेलाई हँसाउन गाह्रो छ र हाँसेको पाउन पनि कठिन छ । आधुनिक समयमा साँच्चै भन्नुपर्दा मानिस प्रायः समस्याग्रस्त, असन्तुष्ट र खिन्नताले मुस्कान विलुप्तीतिर गए जस्तो लाग्छ । मान्छेमा प्रकृतिले दिएका तीन उद्गार– पीडामा ऐया ! आश्चर्यमा ओहो ! र खुसीमा हाहा ! हाँस्नमा अट्टहासदेखि मिठो मुस्कान मान्छेको मुहारमा कमै देखिन थालेको छ । कार्यालयका कर्मचारीमा मुस्कानमय प्रसन्नता त्यति भेटिन्न, साथीभाइमा घत पर्दा हाहा हाँस्नेमा अट्टहास गरेको देखिन्न र कुनै सभा समारोहमा हाँस्ने कुरा आउँदा पनि ३२ दन्त खुलेर हाहा गर्दै हाँसेको कमै पाइन्छ तर मानिसलाई प्रसन्न पार्न, घतलाग्दो रोचक कुरा गर्न हास्यव्यङ्ग्य क्षेत्रका तीन विधा खुसी र सुखी जीवनको अपेक्षासाथ अघि बढेका छन् ।
हास्यव्यङ्ग्य सुधार सापेक्ष हुन्छ र कमीकमजोरी खुट्याएर सुन्दर समाज निर्माणतिर उन्मुख भएकै हुन्छ । हास्यव्यङ्ग्य मानव मनोरञ्जनको माध्यम मात्र हैन, चेतनाको स्तर उठाउन पनि उपयोगी हुन्छ । व्यङ्ग्यचित्र अतिशयोक्तिको पनि रमाइलो चित्रात्मक अभिव्यक्ति हो । यही मनोरञ्जन र अन्तरदृष्टि दिने दिलाउने व्यङ्ग्यचित्र सबैलाई आकर्षित गर्न समर्थ हुन्छ । कार्टुनमा हास्य रुचाइन्छ । विद्युतीय माध्यममा कमिक कार्टुनले विशेष स्थान ओगटेको छ तर नेपालमा एनिमेसन कार्टुनको अभाव छ ।
कार्टुनलाई नेपालमा मूलतः पत्रपत्रिकामा छापिने व्यङ्ग्यचित्रका रूपमा बढी बुझिने गरिन्छ । सम्पादकीय व्यङ्ग्यचित्र, हास्यचित्र, चित्रात्मक चित्र र एनिमेटेड चित्र कार्टुनका विविध रूप हुन् । यसका अलावा व्यङ्ग्यचित्रमा क्यारिकेचरको आफ्नै स्थान छ । क्यारिकेचर निकै पछि देखिए पनि नेपालमा यसले राम्रै विकास गर्दै छ ।
नेपालमा मूलतः राजनीतिक व्यङ्ग्यचित्रको बाहुल्य छ । यस्ता व्यङ्ग्यचित्र समाचारपत्रमा सम्पादकीय व्यङ्ग्यचित्रका रूपमा छापिने गर्छन् । कुनै कुनै पत्रिकामा हास्य मनोरञ्जनका रूपमा हास्यप्रधान व्यङ्ग्यचित्र पनि दिने गरिन्छ । नेपालमा व्यङ्ग्यचित्रलाई व्यापक बनाउन गोरखापत्रको भूमिका सराहनीय छ । गोरखापत्रमा नियमित रूपमा बलराम थापाले ‘बराथा’ को छोटो नाममा धेरै वर्ष व्यङ्ग्यचित्र बनाउनुभएको हो । पछि दुर्गा बरालले वात्स्यायनको नाममा पहिला नयाँ सन्देश र पछि कान्तिपुरमा नियमित रूपमा लामो समय राजनीतिक र सामाजिक दुवैखाले कार्टुन बनाउनुभयो । त्यसपछि अबिन श्रेष्ठले कान्तिपुरमा कार्टुनद्वारा समसामयिक विशिष्ट व्यङ्ग्यचित्र बनाउँदै तीन दशकभन्दा बढी खटिएर नेपाली व्यङ्ग्यचित्रको स्तर अन्तर्राष्ट्रिय तहमा पु¥याउनुभयो । यसरी व्यङ्ग्यचित्रलाई व्यापक रूपमा जनसमक्ष पु¥याउनेमा बलराम थापा, दुर्गा बराल र अबिन श्रेष्ठ अग्रणी व्यङ्ग्यचित्रकारमा स्थापित हुनुहुन्छ ।
नेपालका कार्टुनिस्टमा केही नाम छाडी शशि शाह (रैथाने) ले इन्डियाको ‘धर्मयुग’ पत्रिकामा व्यङ्ग्यचित्र प्रकाशित गरेको पाइन्छ । टेकवीर मुखियाले कौवा प्रकाशनबाट प्रकाशित पुस्तक र यती डाइजेस्ट पत्रिकामा व्यङ्ग्यचित्र बनाएको र युनेस्को अन्तर्गत सर्वप्रथम दुई वटा रङ्गीन पोस्टर कार्टुन प्रकाशित गरी एसिया–प्रशान्तका देशहरूमा वितरण भएको देखिन्छ ।
पछिल्लो समय अबिन श्रेष्ठ र अशोकमान सिंहका व्यङ्ग्यचित्र पनि अन्तर्राष्ट्रिय कमिक आर्ट जर्नलमा छापिएका छन् । अमेरिकी प्रसिद्ध कमिक आर्टका सम्पादक जोन लेन्ट आलुपार्टीमा सहभागी हुँदा अशोकमान सिंहले उहाँको क्यारिकेचर बनाई नेपाली व्यङ्ग्यचित्रकारको विशिष्ट दक्षता देखाउनुभएको थियो । २०३४ सालदेखि कागतिहारमा हास्य दिवसका रूपमा गरिँदै आएको आलुपार्टीमा हास्यव्यङ्ग्यका तिनै विधा समेटेर चर्चा चलाइने परम्परा बसेको छ । पछि व्यङ्ग्यचित्र अघि बढाउन हास्यव्यङ्ग्य समाज नेपाल (हासने) प्रतिष्ठान र पछि क्रमशः कार्टुनिस्टहरूको संस्था कार्टुनिस्ट क्लब अफ नेपाल (सिकोन) ले प्रवर्धनका काम गरेको देखिन्छ । व्यङ्ग्यचित्रको विकास ३० को दशकदेखि निकै राम्रो भएको देखिन्छ । यस समय प्रज्ञाको गाईजात्रा महोत्सवले पनि प्रदर्शनी र पुरस्कारमा सघाएको पाइन्छ । यसअघि २० को दशकमा मायालु र कलियुगले कार्टुन छाप्न केही प्रयास गरेको र पछि मुस्कान, भाँडभैलो र कामनाले नेपाली कार्टुन प्रवर्धनमा विशेष प्रयास गरेको देखिन्छ । व्यङ्ग्यचित्रयुक्त चारखुट्टेको चमत्कार पुस्तक पनि २०३८ सालमा छापिएको हो । नेपाली व्यङ्ग्यचित्र परम्परामा धीरेशकुमार दाहाल (डिकेड), उज्ज्वलकुन्दन ज्यापू, शरद रञ्जित, रविन, राजेश केसी, वासु क्षितिज, राजेश मानन्धरलगायत थोरै व्यक्तित्व स्थापित हुनुहुन्छ । राजेश मानन्धर अहिले फित्कौलीमा सिर्जनारत हुनुहुन्छ ।
नेपालमा व्यङ्ग्यचित्र समाचार पत्रिकामा मात्र नभई क्रमशः साहित्यिक पत्रपत्रिका र हास्यव्यङ्ग्य पुस्तकमा पनि देखा पर्दै गयो । मायालु पत्रिकामा त ‘कार्टुन संवाद’ का रूपमा बोल्ने कार्टुन पात्रका रूपमा सर्वप्रथम २० को दशकमा स्तम्भारम्भ नै भयो । त्यसताका काठको ब्लकबाट कार्टुन बनाएर ह्यान्ड कम्पोजमा मिलाएर छापिन्थ्यो । व्यङ्ग्यचित्रकारले राम्रै बनाए पनि काठ खोप्दा हुबहु निस्कँदैनथ्यो तापनि जिङ्कको ब्लक नआएसम्म काठको ब्लकले धानिएको थियो । यस दृष्टिले वर्तमान व्यङ्ग्यचित्रकारलाई प्राविधिक सहयोगमा कम्प्युटरले राम्रै सघाएको छ । दुर्गा बराल, धीरेशकुमार दाहाल, अबिन श्रेष्ठ आदि नेपाली व्यङ्ग्यचित्रकारका कार्टुन पुस्तकमा हेर्न सकिन्छ । साथै अबिन श्रेष्ठको कार्टुन सङ्कलनको पुस्तकले नेपाली व्यङ्ग्यचित्रलाई अन्तर्राष्ट्रियस्तरमा उठाएको महसुस गर्न सकिन्छ ।
उबेलामा कार्टुन बनाउने चित्रकार कम थिए । हासने प्रतिष्ठानले कार्टुन प्रवर्धनमा दुई पटक र दोस्रो २०५१ सालमा राष्ट्रिय कार्यशाला गोष्ठी गरेको थियो । प्रज्ञा–प्रतिष्ठान र हासने प्रतिष्ठानको संयुक्त आयोजनामा विश्व कार्टुन प्रदर्शनी २०५५ सालमा पनि गरिएको थियो ।
कार्टुन पनि पत्रकारिताको एक अङ्ग हो भन्ने स्थापित नगरेसम्म व्यङ्ग्यचित्र एउटा पेसाका रूपमा आउन सकेन र कार्टुनबारे चर्चा त्यति चल्न सकेन । कार्टुनका बारे खोजी गरी सन् १९९७ मा ‘नेप्लिज कार्टुन्स’ परिचयात्मक पहिलो अङ्ग्रेजी पुस्तक निस्कियो । सेन्स अफ ह्युमर सेरिजमा नेपाली कार्टुन, नेपाली ह्युमर र नेपाली कमिक्स तिनै विधामा अङ्ग्रेजी पुस्तक परिचयात्मक रूपमा आएका छन् । कार्टुनलाई महत्व दिएर प्रज्ञा–प्रतिष्ठानले गाईजात्रा महोत्सवमा प्रदर्शन र पुरस्कारसमेतको व्यवस्थाबाट यो क्षेत्र प्रवर्धनमा सघाउ पु¥याउने काम भयो । हासनेले आयोजना गरेको पहिलो चित्रका विभिन्न क्रियाकलापपछि नै पत्रकारिता जगत्मा पहिलो चित्रले पत्रकारिताको अभिन्न अङ्गका रूपमा स्थापित हुँदै गयो । पछिल्लो समय यो सिकोन र ललितकला प्रज्ञा–प्रतिष्ठानमार्फत प्रवर्धनका कार्यक्रम अघि बढ्दै गरेको देखिन्छ ।
नेपालमा राजनीतिक व्यङ्ग्यले भरिएको कार्टुन २०४६ को आन्दोलनमा धेरै देखा परे । सार्वजनिक प्रदर्शनी पनि भए । यसकै फलस्वरूप पत्रपत्रिका विशेष गरी ब्रोड सिटका दैनिक र केही साप्ताहिकमा पनि निरन्तर कार्टुन देखा परे । व्यङ्ग्यचित्रकारकै कारण नेपालमा राजनीतिक कार्टुन समाचारपत्रहरू अन्नपूर्ण, कान्तिपुर, नयाँ पत्रिका, नेपाल समाचारपत्र, राजधानी जस्तामा व्यापक हुँदै गएकामा हालसाल हराउन थालेको छ । साप्ताहिक पत्रपत्रिका र अङ्ग्रेजी समाचार पत्रिकाको अवस्था झनै राम्रो देखिन्न । पत्रकारिताको अभिन्न अङ्ग कार्टुन जुन सम्पादकीय कार्टुनका रूपमा चिनिन्छ, त्यो नै हराउनु भनेको पत्रकारिताको स्तर ह्रासोन्मुख अवस्थातिर गएको बुझिन्छ । पहिला गोरखापत्र र नेपाल समाचारपत्रमा हास्यव्यङ्ग्य स्तम्भकै रूपमा आउने गथ्र्याे जसले पाठक खोजी खोजी पढ्ने गर्थे । यसले पठन संस्कृति प्रवर्धनमा पनि सघाउ पुग्थ्यो । पत्रकारिता भूगोलको एक अध्ययनमा पत्रपत्रिकाले नकारात्मक सूचना मात्र अत्यधिक ल्याउने गरेको देखिँदा राष्ट्रिय दृष्टिले मनोरञ्जनतर्फ पनि सोच्नुपर्ने र रचनात्मक र सिर्जनात्मकतातिर पहल गरी अग्रसर हुनु उचित हुने छ । साँच्चै भन्नुपर्दा अनलाइन मिडियाले त अझ कुनै कार्टुन समावेश गरेको देखिन्न । थाहाखबर डटकमले भने नियमित कार्टुन दिँदै आएको छ ।
नेपाली हँसिला, रसिला र ठट्यौली मिजासका हुनाले पनि नेपालमा हास्यव्यङ्ग्य क्षेत्र फस्टाउँदै गएको छ । नेपालको युगौँ पुरानो हास्य संस्कारका रूपमा गाईजात्रा युरोपमा हुने कार्निभलभन्दा बृहत् र मौलिक महत्वको शोकमा हाँसोले बिर्साउने सिर्जना मानिन्छ । यस क्षेत्रलाई एकतन्त्रीय राणाशासनमा पनि अनेक रूपमा गाईजात्रे व्यङ्ग्य गर्ने गरिन्थ्यो । राजा महेन्द्रका समयमा हास्यरस कार्यक्रम र राजा वीरेन्द्रका समयमा गाईजात्रा महोत्सव गरी हास्यव्यङ्ग्यलाई संस्थागत रूप दिने प्रयास भएको हो । यस्ता हास्यव्यङ्ग्य प्रदर्शनले सत्तामा रहनेले आफ्नै आँखाले देशमा के भइरहेको छ भनेर जनभावना प्रत्यक्ष सुन्ने, हेर्ने र कमीकमजोरी सुधार्ने अवसर पाउने गर्थे । पछिल्लो समय यो हुन सकेन । देशभरिबाट प्रतिनिधिका रूपमा प्रस्तुत हुने कविता, प्रहसन र व्यङ्ग्यचित्र, राजा प्रजा एकै थलोमा बसी सुन्ने हेर्ने हास्यव्यङ्ग्य महोत्सवको राजनीतिक, सामाजिक महत्व थियो । यस क्षेत्रमा यसलाई पुनः गति दिँदा नयाँ नयाँ हास्यव्यङ्ग्यकार कवि लेखक, प्रहसन कलाकार र व्यङ्ग्यचित्रकारको जन्म हुँदा देशका लागि हितकर नै हुने महसुस गर्न सकिन्छ । जनआन्दोलनको समयमा खुला रूपले कार्टुनचित्रमा जनभावना छरपस्ट भएका थिए । कार्टुनिस्ट राजनीतिक दृष्टिले जहिले पनि शिरमा डेमोक्लिजको तरबार टाउकामाथि झुन्डिए झैँ अवस्थामा हुन्छन् । नेपालमा पनि कार्टुनसम्बद्ध अदालती करबाही भोगेको इतिहास छ । यो एकप्रकारको आलोचना मन नपराउने प्रवृत्तिले समाजमा विकृति बढी देखिएको हो । उच्च व्यक्तित्वले राम्रो ठाने पनि प्रशासनले कारबाही गरेको देखिन्छ ।
वास्तवमा व्यङ्ग्यचित्रकारको नियत खराब हुँदैन । उसले सचेत गराउन हास्य पाराले व्यङ्ग्यको घुएँत्रो हाने पनि त्यो नराम्रो गर्नेका लागि सुधारको अपेक्षासाथ प्रयोग हुने गर्छ । हास्यव्यङ्ग्यकार, हास्यकलाकार, व्यङ्ग्यचित्रकारले कहिल्यै पनि अहित चिताएर आफ्ना सिर्जना प्रस्तुत गरेका हुन्नन् । राम्रैको लागि सचेत गराउन र सुधारकै अपेक्षा राखेर रमाइलो तरिकाले प्रस्तुत गरेको बुझिन्छ । यस्तो व्यङ्ग्य सिर्जना गर्नेले प्रतिपक्षको भूमिका निर्वाह गरेको हुन्छ । जनताको भावना सकारात्मक सुधारको अपेक्षा गरेको हुन्छ । उनीहरूको आफ्नो सामाजिक जिम्मेवारी पनि हुन्छ । हास्यस्रष्टालाई स्वतन्त्र वातावरण पनि वाञ्छित छ । विगतमा निस्केका कार्टुनप्रधान पत्रिका मुस्कान, भाँडभैलो, कामनामा जनअभिरुचि हेर्दा आज त्यो पचाउन नसकी खुला रूपमा गाईजात्रा महोत्सव नहुनु दुर्भाग्यपूर्ण देखिन्छ । नेपाली हास्यव्यङ्ग्यलाई हेर्दा ६० को दशकमा हास्य लेखन, ७० को दशकमा प्रहसन र ९० को दशकमा व्यङ्ग्यचित्रको बढोत्तरी भएको देखिन्छ ।
विश्व परिवेशमा हेर्दा कार्टुनको जन्म इटालीमा, विकास फ्रान्स, जर्मनी, हल्यान्डमा र कार्टुनको प्रख्याति बेलायतमा भएको बुझिन्छ । बेलायतकै प्रभावमा इन्डियामा आयो । नेपालमा अरूमा निकै अघि भए पनि व्यङ्ग्यचित्र निकै पछि प्रादुर्भाव भएको देखिन्छ । कार्टुनले प्रजातन्त्रको मूल्यमान्यता राख्न सघाउँछ । हाम्रो जस्तो देशमा राजनीतिक विकृति र बेथितिलाई सचेत गराउन व्यङ्ग्यचित्र बढी प्रभावपूर्ण भएको छ । नेपाली व्यङ्ग्यचित्र अझै खारिनु पर्छ । सबैले बुझ्ने, बुझाउने शब्द खर्चनु नपर्ने सर्वकालिक र शाश्वत कार्टुनको अभाव नै छ । चित्र पनि बढी रेखाले जेलिएको, अर्थ बुझाउन बढी शब्दको प्रयोग, हास्य मुडको कमीकै कारण, चित्रमा गति प्रभाव नदेखिँदा कार्टुन धिमा देखिन्छ । चित्राङ्कन सटिक नबन्दा कार्टुन भद्दा भएको देखिन्छ । प्राविधिक सिप शिक्षाको कमी, विषयवस्तुमा व्यापकताको अभाव, पक्षपाती र एकतर्फी सोचले कार्टुन प्रस्तुति जम्न नसकेको पनि पाइन्छ ।
नेपालमा कार्टुन प्रवर्धनका लागि कार्टुनिस्टहरूको संस्थाले यो जनप्रिय क्षेत्रमा केही काम गरे पनि बेला बेलामा राष्ट्रियस्तरमा प्रदर्शनी, सम्मेलन र विचारविमर्श कमै हुने गर्छ । पछिल्लो समय क्यारिकेचरमा राम्रो प्रगति देखिएको छ । कार्टुनलाई प्रोत्साहनस्वरूप पुरस्कार, कार्टुनिस्टलाई सम्मान राज्य पक्षबाट केही गरेको देखिन्न । पत्रपत्रिकामा कार्टुन जे जति प्रकाशित भइरहेछ, तिनको मूल्याङ्कन पनि भएको देखिन्न । अनलाइन मिडियाले कार्टुन राख्ने गरेको देखिन्न । यसले पत्रकारिताको ठुलो पाटो नयाँ पुस्तालाई कार्टुनको ज्ञानबाट वञ्चित गरे जस्तो भएको छ । कार्टुन केवल राजनीतिक विषयवस्तुमा मात्र सीमित नगरी सामाजिक मुद्दामा पनि जानुपर्ने र यसका लागि पत्रिकामा राजनीतिक व्यङ्ग्यचित्रको साथमा सामाजिक सचेतनाका लागि कार्टुनको स्तम्भ नै राख्नु उपयोगी हुन्छ; जुन पहिले गोरखापत्र र कान्तिपुरले गर्ने गर्थे । व्यङ्ग्यचित्रको प्रभाव हेर्दा विभिन्न देशले शैक्षिक र वाणिज्यिक प्रयोजनमा पनि प्रयोग गरे जस्तै नेपालमा हुन सकेको छैन । यसको प्रयोग प्रभावशाली हुने हुँदा राजनीतिक, सामाजिक र शैक्षिक क्षेत्रमा पनि गर्ने गरिन्छ । व्यङ्ग्यचित्रले एउटा छुट्टै र प्रभावपूर्ण दृष्टि दिन्छ । व्यङ्ग्यका साथमा मनोरञ्जन र सचेतना पनि जगाएको हुन्छ । नेपालमा हास्यव्यङ्ग्यको म्युजियम र कार्टुन प्रदर्शनका लागि स्थायी व्यवस्था गर्न हासने घरको परिकल्पना गरिएको छ । भौतिक विकासमा मात्र ध्यान गएको नगरपालिका र गाउँपालिकामा प्राज्ञिक, बौद्धिक र मानवीय मनोवैज्ञानिक स्तरोन्नयनतर्फ ध्यान गएको देखिन्न ।
नेपालमा व्यङ्ग्यचित्र विकासका लागि सम्बद्ध संस्था, निकाय र व्यक्तित्वको ध्यान यसतर्फ जानु आजको विश्वमा समय सान्दर्भिक मात्र हैन; एउटा राष्ट्रको चौतर्फी विकासका लागि पनि आवश्यक देखिन्छ । दुर्भाग्य के छ भने समसामयिक नेपालका पत्रपत्रिकामा कार्टुन जस्तो एउटा चित्रले हजार शब्द व्यक्त गर्ने कला स्यालको सिङ भएको छ ।