कल्पना खरेल
नवलपरासी पश्चिम, असार १९ गते । नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिकाले किसान लक्षित कार्यक्रमअन्तर्गत १०८ जना कृषकलाई प्रविधिँसग जोडेका छन् । कृषिमा आत्मनिर्भर बनाउने दीर्घकालीन लक्ष्यसहित ५० प्रतिशत लागत साझेदारीमा किसानलाई विद्युतीय मोटर र पम्पसेट वितरण गर्दै प्रविधिसँग जोडेको हो ।
पालिकाले कृषको आवश्यकता अनुरूप आवेदन माग गरी छनोट प्रक्रिया मार्फत ७० जना कृषकलाई पानी मोटर र ३८ जना कृषकलाई पम्पसेट वितरण गरिएको प्रतापपुर गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादवले बताउनुभयो । कृषिमार्फत जिविकोपार्जन गर्दै आएका पालिकाका कृषकहरूलाई आधुनिक प्रविधिसगँ जोडी उत्पादनमा वृद्धिगरी आत्मनिर्भर बनाउने कार्यक्रमको उद्देश्य रहेको छ ।
अध्यक्ष यादवले भन्नुभयो, “कृषकलाई प्रविधिसगँ जोड्न सके छिटो, छरितो र सहज तरिकाले समय अनुकुल र बेमौसमी कृषि उत्पादन गर्न सकिने भएकाले कृषकको जीवनस्तर उकास्न टेवा पुग्ने विश्वास लिएका छौं ।”
उपाध्यक्ष मानकुमारी चौधरीले यस्ता कार्यक्रमहरूले कृषको आत्मविश्वास बढ्नुको साथै आर्थिक रूपमा सशक्त बनाउने विश्वास लिइएको बताउनुभयो । किसानलाई प्रविधिमैत्री बताउँदै उत्पादित वस्तुलाई बजारीकरण गर्न थप पहल गर्ने प्रतापपुर गाउँपालिकाले जनाएको छ ।