• १५ मंसिर २०८१, शनिबार

देश विकासको आधार

blog

नेपालको कृषि, पर्यटन र जलविद्युत् राज्यका प्रमुख स्रोत हुन् । यिनै विषयमा केन्द्रित रही मोहन कार्कीले कृषज पुस्तक प्रकाशन गर्नुभएको छ । केवल पचास पृष्ठ मात्र भएको पुस्तकले विकासका आधारभूत तीन वटा विषयलाई समेटेको छ । योजना निर्माण गर्ने प्राविधिक र प्रशासनिक क्षेत्रमा काम गर्ने व्यक्तिलाई यो पुस्तक सहयोगी सन्दर्भ सामग्री बन्न सक्ने देखिन्छ । यो पुस्तक राज्यको आर्थिक अवस्थालाई सुदृढ गर्न र कृषि, पर्यटन र जलविद्युत्लगायत विभिन्न व्यवसायमा संलग्न नागरिकको आर्थिक, शैक्षिक र सामाजिक जीवनस्तरमा सुधार ल्याउन उपयोगी हुने देखिन्छ ।  राज्यका स्रोत र साधनलाई सही रूपमा उपयोग गर्न सकेको अवस्थामा कोही कसैसँग हात तल पार्नु पर्दैन भन्ने विषयलाई पुस्तकले पुष्टि गर्ने प्रयास गरेको देखिन्छ । नेपालको वर्तामान अवस्थामा राज्यका विभिन्न क्षेत्रमा मौलाउँदो भ्रष्टाचार, कुशासन, असुरक्षा, विकृति र विसङ्गतिले सीमा नाघेको अवस्थामा यो पुस्तक प्रकाशन गरी जनसमुदायलाई सचेत हुने अवसर प्रदान भएको छ । 

लेखकले पूर्ण चेतना भनेको के हो ? नागरिकमा पूर्ण चेतना किन आवश्यक छ ? भन्ने विषयमा गम्भीर समीक्षा र विमर्श गर्नुभएको छ । राष्ट्रिय भावनाले ओतप्रोत भएको व्यक्ति र व्यक्तिगतभन्दा राष्ट्रहितमा प्राथमिकता दिने नागरिकलाई पूर्ण चेतना भएको नागरिक भनिन्छ र त्यस्ता व्यक्तिबाट मात्र मुलुक अघि बढ्न सक्नेतर्फ लेखक सचेत रहेको देखिन्छ । पूर्ण चेतना भएको व्यक्तिमा प्राकृतिक र सांस्कृतिक सम्पदाको ज्ञान र प्राविधिक विषयको ज्ञान र सिप हुनुका साथै भूत, वर्तमान र भविष्य देखेर राष्ट्रहितमा काम गर्ने क्षमता भएको व्यक्ति हो । राष्ट्रिय सम्पदाको पहिचान गरी त्यसको संरक्षण गर्नु र आवश्यकता अनुसार उपयोग गर्नु एउटा सचेत नागरिकको दायित्वभित्र पर्दछ । राष्ट्रहितका विषयमा सचेत हुने र राष्ट्रका नागरिकलाई सचेत गराई देश विकासमा निःस्वार्थ अग्रसर हुन सहयोग गर्नु नै सचेत नागरिकको कर्तव्य हो भन्ने सन्देश लेखकले दिनुभएको छ । 

उहाँले सम्पन्न नेपाल बनाउने प्रमुख आधारका रूपमा कृषि, पर्यटन र जलविद्युत् (कृपज) लाई प्राथमिकता दिनुभएको छ । नेपालको भूबनोट, हावापानी, जनसङ्ख्या, जनघनत्व र जनशक्तिको अवस्थालाई ध्यानमा राख्दै त्यस अनुसार हिमाल, पहाड र तराईका समतल भूमिको बनोट, हावापानीको अवस्था र कृषकको माग अनुसारका कृषि र पशुपालन व्यवसायका विविध योजना निर्माण गर्नुपर्ने उल्लेख भएको छ । नेपाललाई अझै पनि कृषि प्रधान देश भन्न छाडिएको छैन तर राज्यलाई चाहिने सम्पूर्ण खाद्यवस्तु परनिर्भर हुनु परेको छ । नेपालका अधिकांश भूमि पर्ती र खाली छन् । 

राज्यका ६० प्रतिशतभन्दा अधिक  नागरिक अझै कृषि कार्यमा नै निर्भर रहेका छन् । राज्यको ५० प्रतिशतभन्दा बढी आय कृषिमा देखाएको हुन्छ । नेपाललाई किन कृषि प्रधान न भन्ने ? 

नेपाल विकासमा पछि पर्नुको प्रमुख कारण जनतामा शिक्षा र चेतनाको अभाव भन्ने विषयमा दुईमत छैन । राज्यको उच्च नेतृत्व तहमा युवा वर्गले प्राथमिकता नपाउनु पनि एउटा प्रमुख कारण हो ।  मोहनजीको योजना अनुसार राज्यका विभिन्न क्षेत्रको पहिचान गरी त्यसै क्षेत्रको स्रोत र साधनलाई उपयोग गर्ने गरी स्थानीय नागरिकको आवश्यकतालाई ध्यानमा राखी योजना निर्माण गरी लागु गर्दा राष्ट्रिय हित हुने अवस्था छ । राष्ट्रिय सोच भएका युवा वर्गलाई राज्यले न त रोजगार दिन्छ, न त राज्यका स्थानीय निकायदेखि सङ्घीय सरकारको नेतृत्व गर्ने अवसर नै पाएका हुन्छन् । जसको परिणाम हातमुख जोड्न पनि बिदेसिनु बाध्यता हुन्छ । राज्यको नागरिक भएर रोजगार प्राप्त गर्ने र राज्यका विभिन्न तहमा रहेर विकास निर्माण कार्यमा सहभागी हुने अवसरबाट नै वञ्चित हुनु परेको छ । नेपालका लगभग एक करोड युवा वर्ग जीविकोपार्जन वा हातमुख जोड्न खाडी मुलुकको ५० डिग्रीको तापक्रममा अति जोखिमपूर्ण काम गर्न बाध्य छन् । प्राविधिक सक्षमता र सिपमूलक शिक्षाको अभावमा अति खतरनाक श्रम गर्ने गर्छन् । बिदेसिन बाध्य भएका युवाले नखाई नलाई पठाएको रेमिट्यान्सले देश विकास गर्नु परेको बेहोरा यस पुस्तकमा उल्लेख भएको छ । 

नेपालको हिमाल, पहाड र तराईका प्रत्येक क्षेत्रमा योजनाबद्ध विकास गर्ने विषयमा यस पुस्तकमा लेखक कार्कीले चर्चा गर्नुभएको छ । यस पुस्तकमा कृषि कार्यक्रमबाट कृषकको जीवनस्तर उकास्ने किसिमका योजना प्रस्तुत भएका छन् । राज्यमा भएका प्राकृतिक र सांस्कृतिक सम्पदाको संरक्षण संवर्धन र विकासले विदेशी र स्वदेशी पर्यटक आकर्षण गर्ने विविध योजना प्रस्तुत भएका छन् । नेपाल जलस्रोतमा विश्वको दोस्रो धनी देश भनिन्छ तर नेपालका कैयौँ दुर्गम क्षेत्रका नागरिकले बिजुलीको उज्यालो राम्रोसँग प्रयोग गर्न पाएका छैनन् । 

हिमाली क्षेत्रमा कृषि भूमि ज्यादै न्यून रहेकाले पशुपालन र पर्यटन विकासमा जोड दिइएको छ । उच्च हिमाली क्षेत्रको घाँसे मैदानमा चौँरीगाई, घोडा, खच्चड, भेडा, बाख्रा, च्याङ्ग्राको व्यावसायिक पालन र पर्यटनको विकासले हिमाली क्षेत्रको आर्थिक विकासमा टेवा पु¥याउन सकिने लेखकको ठम्याइ छ ।

विश्वमा अति दुर्लभ मानिने हिमाली जनावर पनि यसै क्षेत्रमा पाइन्छन् । हिमाली क्षेत्रको जडीबुटीबाट समेत लाभ लिन सकिने चर्चा पुस्तकमा छ । 

नेपालको पहाडी क्षेत्रमा लगभग ६८ प्रतिशत भूमिमा ४०.२४ प्रतिशत जनसङ्ख्या रहेको छ । यो क्षेत्र नेपालको आवासीय क्षेत्रका लागि अति उपयोगी मानिन्छ । पहाडी क्षेत्रको भूबनोट, हावापानी जमिनको उचाइ, भूमिको ढल्काइ आदि कारणले गर्दा पनि रमणीय र मनोरम आवास क्षेत्रका रूपमा लेखकले चर्चा गर्नुभएको छ ।

भूमिको वर्गीकरण गरेर आवास क्षेत्र र कृषि क्षेत्रको भूमि छुट्याई बस्ती विस्तार गर्न सकेको अवस्थामा नागरिकको जीवनस्तरमा सुधार हुने, स्वस्थ्य जीवन व्यतीत गर्न सहज हुने उल्लेख भएको छ ।  

पहाडका नदी, बेँसी र टारमा नियमित सिँचाइ भएको अवस्थामा नेपालका नागरिकले खाद्यवस्तु र फलफूल तरकारीमा परनिर्भर हुनुपर्ने अवस्था आउने लेखकले चर्चा गर्नुभएको छ । 

तराई क्षेत्रले नेपालको लगभग १७ प्रतिशत भूमिमा ५३.६६ प्रतिशत जनसङ्ख्या रहेको छ । तराई क्षेत्र कृषि उत्पादनका लागि नेपालको अति उर्वरा भूमिका रूपमा लिने गरिएको छ । यो क्षेत्रको समतल भूबनोट, हावापानी, नदी निर्मित मलिलो माटो आदि कारणले गर्दा पनि कृषि उत्पादनका लागि अति उत्तम भूमि र नेपालको अन्न भण्डार भन्ने गरिन्छ ।  तराईमा भएको अधिकांश भूमिलाई कृषि, पशु र माछापालन व्यवसायका लागि उपयोगी मानिन्छ । यस क्षेत्रको भूमिलाई वर्गीकरण गरी आवास क्षेत्र र कृषि क्षेत्रमा छुट्याई खेती विकास गर्नुपर्ने धारणा लेखकको छ । तराईको भूमिलाई वर्गीकरण गरी कृषि कार्य, पशुपालन, फलफूल खेती, तरकारी खेती र माछापालनमार्फत आर्थिक विकासमा महìवपूर्ण टेवा दिन सकिने निष्कर्ष लेखकले निकाल्नुभएको छ ।    

Author

इन्द्रविलास घिमिरे