• २ माघ २०८१, बुधबार

कानुन मन्त्री लेखीलाई भूमिगत समूहको धम्की

blog

गृह मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री राजकुमार लेखी सहित । तस्विरः धर्बेन्द्र झा

धर्बेन्द्र झा 

जनकपुरधाम, मङ्सिर १४ गते । मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले जनतान्त्रिक तराई मुक्ती मोर्चा (भूमिगत समुह) का संयोजक जयकृष्ण गोइतले आफूलाई धम्की दिएको बताउनुभएको छ ।

भारतीय नम्बरबाट ह्वाटसएपमा फोनगरी आर्थिक सहयोग माग गरेको र आफूले दिन अस्विकार गरेपछि आफुलाई धम्की दिएको उहाँले बताउनुभयो । गृह, सञ्चार तथा कानुन मन्त्रालय मधेश प्रदेशको सभा हलमा शुक्रबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले आफूलाई गोइतले पटक पटक फोन गरेर आर्थिक सहयोग मागेको र आफु दिन अस्विकार गरेपछि तेस्रो पटक आफूलाई फोन गरेर धम्की दिएको बताउनुभयो । ‘तपाईले पैसा कसरी दिने हो त्यो मलाइ थाहा छ’ भनेर आफूलाई धम्की दिएको र यसबारेमा प्रदेशको सुरक्षा वैठकमै प्रहरी अधिकारीहरुलाई जानकारी गराइसकेको पनि उहाँले पत्रकारहरुलाई जानकारी गराउनुभयो । 

आफू चार जिल्ला रौतहट, धनुषा, सिरहा र सप्तरीका केही प्रहरी चौकी र इलाका प्रहरी कार्यालयको अवलोकन निरीक्षण गर्दा प्रहरी इन्चार्जहरु नै प्रहरी अनुसाशनको पालना नगरेको पाइएको भन्दै नागरिकप्रति जिम्मेवार भएर कामकाज गर्न सुरक्षा वैठकमा प्रहरी अधिकारीहरुलाई आग्रह गरेको बताउनुभयो । 

उहाँले आफू पारदर्शीरुपमा कार्यक्रमहरु गर्न खोज्दा एउटा मिडियाले भत्ताकै लागि कार्यक्रम गरेको भनेर भ्रम फैलाउने किसिमले समाचार सम्प्रेसन गरेको भन्दै भत्ताको निमित्त नभएर सचेतनाका लागि मन्त्रालयले कार्यक्रम गरेको बताउनुभयो । उहाँले सरकारको कमी कमजोरीबारेमा औल्याउनु राम्रो कुरा भए पनि पित पत्रकारिता गर्नु राम्रो कुरा नभएको बताउनुभयो । 

आफू आएको चार महिनामा चारवटा कार्यक्रम मात्र गरेको पत्रकारहरुलाई जानकारी गराउनुभयो । उहाँले जनकपुरधाममा मनाइने साताव्यापी सिताराम विवाह पञ्चमी महोत्सव र बाराको गढीमाइ मेलामा बाहिरबाट आउने तिर्थयात्री र श्रद्धालुहरुको सहजताका लागि सरोकारवाला विभिन्न पक्षसँग समन्वय भइरहेको र बाराको बरियारपुरमा मंसिर १५ गते शनिबार ११ वजे सुरक्षा वैठक आयोजना गरिएको बताउनुभयो । 

उहाँले विवाह पञ्चमी महोत्सवमा १४ सयभन्दा बढी सुरक्षाकर्मी जनकपुरधाममा परिचालन गर्ने स्थानीय प्रशासनले जानकारी गराएको बताउनुभयो ।