• १५ मंसिर २०८१, शनिबार

सम्झौताको तीन वर्षपछि आयोजनाले लियो गति

blog

दोस्रो खण्डको छ्याङकुटी क्षेत्रमा निर्माणाधीन सडक । तस्बिर : ध्यान कुलुङ

ध्यान कुलुङ

सङ्खुवासभा, मङ्सिर १५ गते  । तीन देश जोड्ने उत्तरदक्षिण कोसी राजमार्ग अन्तर्गत खाँदबारीदेखि नुमसम्मको खण्ड कालोपत्रे योजनाले तीव्रता लिएको छ । आयोजना सम्झौता गरिएको तीन वर्षपछि निर्माण कार्यले तीव्रता पाएको हो ।

निर्माण अवधि थपिएपछि पनि निर्माण कम्पनीले काम नगरेपछि कालो सूचीमा राख्न आयोजना कार्यालयले तयारी गरेको थियो । ठेक्काको नेतृत्व गर्ने कम्पनी शिवशक्तिले काम गर्न नसकेपछि शर्मा निर्माण सेवाले नेतृत्व गरी कामलाई तीव्रता दिन थालेको हो । खाँदबारीदेखि नुमसम्मको ३९ किलोमिटर सडकलाई तीन खण्डमा विभाजन गरी ठेक्का लगाइएको थियो । सबै ठेक्का शर्मा शिवशक्ति जेभीले नै ४८ प्रतिशत कम लागतमा पाएको थियो ।

तीन वटा खण्डमध्ये खाँदबारीदेखि थामसेर्कुसम्मको ब्याक कटिङ, पर्खाल निर्माण, नाली निर्माणलगायतको काम अधिकांश सम्पन्न भइसकेका छन् । खाँदबारीदेखि मानेभन्ज्याङसम्म कालोपत्रेका लागि सतह (बेस) तयार भइरहेको छ । दोस्रो खण्ड थामसेर्कुदेखि देउराली र तेस्रो खण्ड देउरालीदेखि नुमसम्मको सडकको पनि माटो कटिङ गरी नाली निर्माणको काम धमाधम भइरहेको छ । 

पहिलो खण्डको आयोजनाका लागि २०८२ असार मसान्तसम्म म्याद थप गरिएको छ भने दोस्रो र तेस्रो खण्डका लागि भदौ मसान्तसम्म समय थप गरिएको छ । दोस्रो पटक थपिएको म्यादभित्र सम्पन्न गराउनका लागि उत्तर दक्षिण कोशी सडक आयोजनामार्फत कार्ययोजना पेस गर्न लगाइएको प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले जानकारी दिनुभयो । आफू हालै मात्र प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा आएको र जिल्लाका सबै पक्षसँग परामर्श गरी यस आयोजनालाई प्राथमिकताका साथ हेर्दै आएको बताउनुभयो । 

निर्माण कम्पनीलाई आफू आउनेबित्तिकै स्पष्टीकरण सोधेको र उनीहरूले बेलैमा काम सक्ने गरी प्रतिवद्धता व्यक्त गरेको प्रजिअ खड्काले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामीले निर्माण कम्पनीलाई ‘एक्सन प्लान’ पेस गर्न लगाएका छौँ । सो अनुसार काम भएको छ वा छैन नियमित अनुगमन गर्छौं ।” 

निर्धारित समयभित्र काम सम्पन्न गराउन आयोजना कार्यालयले पनि प्रयत्न गरिरहेको आयोजना प्रमुख रामबहादुर गुरुङले बताउनुभयो । डोजर, टिप्परलगायतका आवश्यक उपकरण सडक डिभिजन कार्यालयलगायतबाट पनि थप गर्न सहजीकरण गरिरहेको प्रमुख गुरुङले बताउनुभयो । सडक निर्माणका लागि आवश्यक पर्ने ढुङ्गा, गिट्टीलगायतका वस्तुको उपलब्धताका लागि सम्बन्धित स्थानीय तहसँग छलफल भइरहेको उहाँले बताउनुभयो । 

सार्वजनिक खरिद ऐनको ११ औँ संशोधन अनुसार निर्माण कम्पनीलाई म्याद थप गरिएको र यही नै अन्तिम ‘डेटलाइन’ रहेकोले काम सक्नै पर्ने बाध्यता रहेको आयोजना प्रमुख गुरुङले बताउनुभयो । 

शर्मा शिवशक्ति जेभीले २०८० पुस १७ मा सम्पन्न गर्ने गरी २०७८ असार १७ गते सम्झौता गरेको थियो । उक्त समयसम्म पनि सन्तोषजनक प्रगति नभएको अवस्थामा २०८० मा पहिलो पटक म्याद थपिएको थियो । म्याद थप गरिए पनि शिवशक्तिले काम नगरेपछि आयोजना कार्यालयले स्पष्टीकरण सोधी धरौटी रकमसमेत जफत गरेको थियो । यसविरुद्ध निर्माण कम्पनी शिवशक्ति उच्च अदालत पाटन पुगे पनि मुद्दा हारेको थियो ।