जेठको उराठलाग्दो समय । त्यसमाथि २०५८ जेठ १९ को दरबार हत्याकाण्डले मुलुकमा अन्योल र आशङ्काको बादल मडारिएको थियो । कलाप्रेमी राजा वीरेन्द्रवीरविक्रम शाहको वंश विनाश भएको थियो । दरबारसँग पारिवारिक साइनो सम्बन्ध रहेका कलाकार शशिविक्रम शाहमा केही सोच्नै सक्ने अवस्था थिएन । कला विकासका लागि राजा वीरेन्द्रसँग सहकार्य गर्नुभएका कलाकार शाह नतमस्तक हुनुहुन्थ्यो ।
टेलिभिजनमा एकतमासले शोकधुन बजिरहेको थियो । मनमा अनेक कुरा खेलाउँदै ओछ्यानमै पल्टिरहेका थिए, शशि । चियाको सुर्कोसँगै टेबुलको पत्रिका उठाएर केही समाचार पढ्न खोजे । पत्रिकाको एकातिर नयाँ राजालाई शुभकामना अर्कोतिर स्वर्गीय राजाप्रति श्रद्धाञ्जली थियो । यो नियति देख्नु पर्ला, भोग्नु पर्ला भनेर सायदै कसैले सोचेको थियो । यो घटनाले कलाकार शशिको मस्तिष्कमा एक खालको बज्रप्रहार नै भयो । एक खालको विक्षिप्त अवस्था थियो, त्यो । त्यसपछि टेबुलबाट कलम निकालेर मनमा उद्वेलित उकुसमुकुस त्यही पत्रिकामाथि कोर्न थाल्नुभयो शशिले । त्यही पत्रिकाको तस्बिरमाथि, त्यही समाचारमाथि एकोहोरो कोरिरहनुभयो । पत्रिकामा कोर्ने ठाउँ सकिएपछि आर्ट पेपरको मुठा खोल्नुभयो । त्यसमा निरन्तर कोरिरहनुभयो, रङ पोतिरहनुभयो । कार्टुन शैलीका रेखामा राजा वीरेन्द्रको वंशनाश, राजपरिवारसँगको सम्बन्ध, सम्झना, आत्मीयता र त्यसले उब्जाएका भावनालाई आर्ट पेपरमा उतार्दै जानुभयो, शशि । यसरी आठ/दस दिनमै कलाकार शाहले १५ थान कलाकृति सिर्जना गर्नुभयो ।
पत्रिका हेर्नेबित्तिकै समयको त्यो दर्दनाक तस्बिरले उद्वेलित बन्नुभएका शाहले पत्रिकालाई नै क्यानभास बनाउनुभएको थियो । शुभकामना र श्रद्धाञ्जलीमा छापिएका तस्बिर विषयवस्तुका अङ्ग बनाइएका थिए । पत्रिकाका ती तस्बिर नै शाहका लागि सुरु यन्त्र बने, त्यसैका आधारमा उहाँले आफ्ना अभिव्यक्ति पोख्न थाल्नुभयो । राजा कतै देवता बनेको देखिन्छ, कतै मृत जीवाश्म । यसरी ती चित्रमा वीरेन्द्र, उनका परिवार र शशि शाहका चलायमान रेखाहरू कलाका विषय बन्न पुगे । चित्रमा परेवा, गिद्ध, दुःख, निराशा र राजपरिवार नै मुख्य पात्र बनाइएका छन् ।
घोडा छाडेर मिक्समिडिया
घोडा र कलाकार शशि शाह नेपाली कलामा पर्याय मानिन्छ । हिनहिनाएको घोडाको विम्बमा समाज, विकास, समसामयिक चिन्तन र सोचको प्रतिविम्ब खोज्नुहुन्छ, कलाकार शशि । कलाकार शाहले सन् १९९० भन्दाअघि देखि नै क्यानभासमा घोडालाई विम्बका रूपमा प्रयोग गर्दै आउनुभएको हो । यसै विषयमा कलाकार शाहका दस अवतार शृङ्खला निकै प्रख्यात पनि छ । तथापि दरबार हत्याकाण्ड सम्बन्धित १५ वटा कलाकृतिमा घोडा हिनहिनाएको पाइन्न । शैलीगत रूपमा चाहिँ यी कलामा शाहले अघिल्ला कलाशैली नै पछ्याएको पाइन्छ ।
घोडाको साटो यी कलामा शशि शाहका वीरेन्द्रसँगका सम्बन्ध र बुझाइलाई पाउन सकिन्छ । यी कलाकृतिमा तत्कालीन नेपाली समाजले राज परिवारलाई भगवान् मान्दै आएको मिथकलाई पनि देख्न सकिन्छ । हत्याकाण्डपछि नेपालीजनले गरेको विलापलाई शाहले हरेक जसो चित्रमा उतार्ने प्रयास गर्नुभएको छ । नेपाललाई शान्ति क्षेत्र घोषणा गराउने अभियानका सूत्रधार राजा वीरेन्द्र आफ्नै दरबारभित्र गोलीले मारिनु परेको विषयलाई सजीव रूपमा क्यानभासमा उतारिएको छ । अत्तालिएर तितरबितर उडिरहेका परेवाका बथानलाई श्रद्धाञ्जलीमा छापिएका राजपरिवारको सामूहिक तस्बिरसँग कोलाज गरेर कलाकार शाहले चित्रलाई पूर्णता दिनुभएको छ । कलाकृतिमा हिन्दु धर्मका मिथक, पौराणिक सन्दर्भका साथमा तत्कालीन राजनीतिक उतारचढावलाई बुझ्न सकिन्छ । यी चित्र न्युज प्रिन्ट पेपरमा सिर्जना गरिएका छन् र निकै थोरै रङको प्रयोग गरिएको छ । विशेष गरी कालो र सेतो रङ मात्र प्रयोग गरिएको छ । रमाइलो त के भने चित्रहरू पानाका दुवैतर्फ बनेका छन् । त्यसलाई दुवैतिरबाट हेर्न मिल्ने गरी फ्रेमिङ गरिएको छ । तथापि ८४ वर्षीय कलाकार शशि शाहका घोडाले केही समय विश्राम पाए पनि अचेल घोडाका विक्षिप्त, आक्रोशित, उद्वेलित विम्बमा विश्व राजनीति, हतियार होडबाजी र त्यसले विश्वको सुरक्षामा ल्याएको चुनौतीलाई कलाकार शाहले उतारिरहनुभएको छ ।
विश्व बजारमा नेपाली कला
घोडा छाडेर मिक्समिडियामा अचानक फाल हालेका कलाकार शशिका दरबार हत्याकाण्ड सम्बन्धित १५ कलाकृति बेलायतको विश्वप्रसिद्ध टेट मोर्डन (सङ्ग्रहालय) मा सङ्गृहीत हुने मौका पाएको छ । नेपालबाट पहिलो पटक यस आधुनिक कलाले सङगृहीत हुने अवसर पाएको हो । यद्यपि कलाकार शाहका कलाले जापानको फुकुओका कला सङ्ग्रहालयमा समेत सजिने अवसर पाएको छ । त्यसपछिका समयमा फुकुओका सङ्ग्रहालयमा धेरै नेपाली कलाकारका कृति सङ्गृहीत छन् । कलाकार शाहका आधुनिक कलाकृति बेलायतको टेट मोर्डनमा सङ्गृहीत भएको खबरले यतिबेला नेपाली कलावृत्त तरङ्गित छ, रोमाञ्चित छ । दरबार हत्याकाण्ड सम्बन्धित १५ थान कलाकृति टेट मोर्डनमा पुगिसकेको छ । अवलोकनकर्ताका लागि कलाकृति खुला भइसकेको छ । टेट मोर्डन जस्तो विख्यात कला सङ्ग्रहालयको स्थायी कला सङ्कलनमा नेपाली कला परेको यो पहिलो अवसर हो । यस कारण पनि यो अवसर कलाकार शशि शाहका साथै नेपाली कलाकारका लागि उत्साहको विषय बन्न पुगेको छ । नेपाली समसामयिक कलाकारका लागि अब विश्व बजारमा ठुला सङ्ग्रहालयको ढोका खुलेको छ ।
ट्रिनालेबाट टेट यात्रा
तीन वर्षअघि आयोजित ‘काठमाडौं ट्रि«नाले’ का लागि शशिसँग चित्रकला मागियो । सिद्धार्थ आर्ट फाउन्डेसनले १२ वर्षदेखि यसखाले कला उत्सवको आयोजना गर्दै आएको छ । यस कला महोत्सवमा स्वदेशी तथा विदेशी सयौँ कलाकारले सहभागिता जनाउँदै आएका छन् । ‘काठमाडौँ ट्रिनाले’ मा कुन कलाकृति
पठाउने ? कलाकार शाहको रोजाइ पुरातन घोडाका उन्मुक्त चाल नै थियो । तथापि नाति प्रियङ्कर चन्दको रोजाइ दरबार हत्याकाण्डसम्बन्धी तिनै १५ थान कलाकृति थिए । प्रदर्शनीमा राखिएका शाहका दरबार हत्याकाण्डसम्बन्धी कलाप्रति नेपाली कला सङ्कलक र अवलोकनकर्ताले खासै चासो नदिए पनि टेट मोर्डनका अधिकारीले त्यसमै आँखा लगाएका थिए । त्यसलगत्तै काठमाडौँ ट्रि«नालेका कलाकृति बर्लिन, जर्मनीमा प्रदर्शन गरिएको थियो । सो प्रदर्शनीमा पनि टेटका क्युरेटरले शाहका कलाकृतिमाथि खुवै ध्यान दिएका थिए । कलाकार शाहको सट्टा बर्लिन प्रदर्शनीमा चित्रकला लिएर प्रियङ्कर पुग्नुभएको थियो । टेटको दक्षिण एसियाको कला हेर्ने समितिमा शाहको दरबार हत्याकाण्डसम्बन्धी कलाबारे चर्चा भयो । त्यसलाई खरिद गर्ने प्रस्ताव राखियो । टेटको एसिया समितिमा अनेकौँं पटक यस विषयमा छलफल भयो । कलाकारका तर्फबाट प्रियङ्करसँग विभिन्न चरणमा कुराकानी भयो । अन्ततः कलाकृति सङ्ग्रहालयको स्थायी सङ्ग्रहमा राख्ने निक्र्योलमा समिति पुग्यो । प्रियङ्करकै व्यवस्थापन र पहलमा लामो प्रशासनिक प्रक्रिया पार गर्दै सिमेभुमे आर्ट्समार्फत करिब आठ महिनाअघि शाहका कलाकृति बेलायत पुगेको थियो । सिमेभुमे आटर््सका अध्यक्ष प्रियङ्कर चन्दका अनुसार शाहका कोलाज कला टेट मोर्डनको ‘मिडिया नेटवक्र्स’ विभाग अन्तर्गत प्रदर्शनमा राखिएको छ । कात्तिक ५ गतेबाट सर्वसाधारणका लागि शाहका कला खुला गरिएको छ । यो प्रदर्शनी दुई वर्षसम्म चल्ने छ । प्रदर्शनीमा शाहका आठ थान कलाकृति समावेश गरिएको छ । अर्को वर्ष बाँकी सात चित्र प्रदर्शनमा राखिने जानकारी ग्यालरीले दिएको छ ।
शशिकै बारे
नेपाली ललितकलाका विद्यार्थीका लागि शशि शाह अपरिचित होइनन् । छ दशकदेखि नेपाली कला क्षेत्रमा अविच्छिन्न साधनारत कलाकार शाहले सन् १९६७ मा बम्बैबाट कलाको उच्च शिक्षा लिनुभएको हो । उहाँ त्यसभन्दा अघि नै कार्टुन विधामा सक्रिय हुनुहुन्थ्यो । संयुक्त प्रयास पत्रिकामा शाहले १४ सालताका नै कार्टुन प्रकाशित गर्नुभएको थियो । उहाँले समीक्षा, रमितालगायत पत्रपत्रिकामा कार्टुन छाप्दै जानुभयो तर उहाँका लागि कार्टुन विधा व्यावसायिकभन्दा बढी सोखका रूपमा र हास्यव्यङ्ग्य अभिव्यक्ति दिने माध्यमका रूपमा रह्यो । उहाँले अहिले पनि अभिव्यक्ति साहित्यिक पत्रिकामा नियमित जस्तो कार्टुन बनाउँदै आउनुभएको छ । उहाँलाई विचार अभिव्यक्तिको हिसाबले कार्टुन विधा अत्यन्त मन पर्छ । उहाँले बम्बैमा कला विषय अध्ययन गर्दाताका धर्मयुगलगायत पत्रिकामा कार्टुन बनाउनुभएको थियो । त्यो समयमै कार्टुन बनाएबापत ५०/६० भारतीय रुपियाँ पारिश्रमिक पाएको स्मरण कलाकार शाह गर्नुहुन्छ । उच्च शिक्षापछि नेपाल फर्किनुभएका शाहले ललितकलामा लामो समय प्राध्यापन गर्नुभयो । पछि सिर्जना कलेज अफ आर्ट्समा क्याम्पस प्रमुखका रूपमा शाहले सेवा गर्नुभएको थियो ।
सामाजिक जिम्मेवारीबाट अलग रही सार्वजनिक कार्यक्रममा समेत कमै देखिनुहुने शाहको धेरै समय आजकाल क्यानभास र रङसँगै बित्ने गरेको छ । कमै कान सुन्नु हुने तर लेखेर प्रश्न तेस्र्याएपछि सुस्त तर कड्केर कुरा थाल्नुहुने शाहले मुठाका मुठा निम्तापत्रमा सयौँ चित्रखेस्रा कोर्नुभएको छ । हातमा तमाखुको पाइप नछुटाउने शशिको हातमा आजकाल हरदम लट्ठी छ । तलमाथि यताउता जता गए पनि त्यो लट्ठीले शशिको साथ छाड्दैन । त्यो लट्ठीले क्यानभासमा पनि शशिलाई छाडेको छैन । चुस्स परेका दारी मुसार्दै लेघ्रो तानेको स्वरमा शशिले भन्नुभयो, “यी अहिले यसैकैइइइ साथ छ । म जता जता यो त्यतैत्यतैइइइ ।”