मकवानपुर समाचारदाता
हेटौँडा, मङ्सिर १५ गते । स्थानीय तह उपनिर्वाचन, २०८१ अन्तर्गत हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ को वडाध्यक्ष पदका लागि यही मङ्सिर १६ गते हुने निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ ।
निर्वाचनका लागि मतदान अधिकृत, सहायक मतदान अधिकृतलगायतका कर्मचारी खटाउने, निर्वाचन हुने वडामा सर्वदलीय बैठक, सुरक्षाकर्मी परिचालनलगायतका काम पूरा भएको छ ।
हेटौँडा उपमहानगरपालिका–१२ को वडाध्यक्ष पदका लागि हुने निर्वाचनका लागि दुई वटै मतदान स्थलमा तयारीका लागि कर्मचारी खटाइएको हो ।
प्रदेश निर्वाचन कार्यालय, हेटौँडाका प्रदेश निर्वाचन अधिकारी हरिप्रसाद ढकालले निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको भन्दै शनिबार मतदान केन्द्र निर्माणसँगै निर्वाचनको सम्पूर्ण तयारी पूरा हुने र मतदाताको पर्खाइमा रहने जानकारी दिनुभयो ।
उहाँले वडा नम्बर १२ मा वडाध्यक्ष पदका लागि हुने निर्वाचनका लागि प्रतिभा माध्यमिक विद्यालय सिव्रmेनीमा पाँच मतदान केन्द्र र विष्णुज्योति आधारभूत विद्यालय भोर्लेमा चार मतदान केन्द्र गरी नौ वटा रहेको बताउँदै नौ वटा केन्द्रका लागि प्रतिनिर्वाचन केन्द्र पाँच पाँच जना कर्मचारी र प्रतिकेन्द्र एक एक जना स्थानीय स्वयम्सेवक रहने व्यवस्था रहेको बताउनुभयो । स्थानीय स्वयम्सेवक महिला नै हुनुपर्ने गरी व्यवस्था गरिएको छ ।
कुल मतदाता आठ हजार ५३ रहेको वडा नं. १२ को प्रतिभा मावि मतदान स्थलमा महिला दुई हजार ३१५, पुरुष दुई हजार ११२ र अन्य एक जना गरी दुई हजार ४२८ जना तथा विष्णुज्योति आधारभूत विद्यालय मतदान स्थलमा एक हजार ८५९ जना महिला, एक हजार ७६६ जना पुरुष गरी तीन हजार ६२५ जना मतदाता रहेका छन् । प्रदेश निर्वाचन अधिकारी ढकालले मतदान हुने दिन आइतबार वडा नम्बर १२ मा मात्र सार्वजनिक बिदा दिने निर्णय भएको बताउनुभयो ।
मतगणना स्थलको तयारी सुरु भएको भन्दै उहाँले भन्नुभयो, “मतदान भएसँग मतगणना स्थलमा सर्वदलीय बैठक बसेर सोही दिन नै मतगणना सुरु गर्ने छौँ, उज्यालो हुँदा मतपरिणाम सार्वजनिक गर्ने योजनामा छौँ ।” वडाध्यक्ष पदमा तीन स्वतन्त्रसहित १२ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् ।
२०७९ वैशाखमा भएको निर्वाचनबाट वडाध्यक्षबाट निर्वाचित नेकपा माओवादी केन्द्रका ललितबहादुर घलान जिल्ला समन्वय समिति मकवानपुरका अध्यक्ष बन्नु भएपछि रिक्त हुन गएको वडाध्यक्ष पदमा उपनिर्वाचन हुन लागेको हो ।
मतगणना सिद्धार्थ माविमा गरिने
स्थानीय तह उपनिर्वाचन, २०८१ अन्तर्गत हेटौँडा उपमहानगरपालिका–१२ को वडाध्यक्ष पदको निर्वाचनपछि मतगणना कार्य सिद्धार्थ माध्यमिक विद्यालयको सभा हलमा गरिने भएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय मकवानपुले हेटौँडा उपमहानगरपालिका वडा नं. १२ वडाध्यक्ष पदको यही मङ्सिर १६ गते निर्वाचन सम्पन्न भएपछि मतगणना गरिने स्थान बिहीबार तोक्दै हेटौँडा उपमहानगरपालिका–२ स्थित सिद्धार्थ माध्यमिक विद्यालयमा मतगणना गरिने जनाएको हो ।
मुख्य निर्वाचन अधिकृत अवनी मैनाली भट्टराईले सबै मतदान केन्द्रमा मतदान भई मतपेटिका प्राप्त भएपछि मतगणना गरिने मिति र समय प्रकाशन गरिने जनाउनुभएको छ । यसअघि मुख्य निर्वाचन अधिकृत एवं जिल्ला निर्वाचन व्यवस्थापन समितिको संयोजकत्वमा बसेको समितिको बैठकले सिद्धार्थ माध्यमिक विद्यालयलाई मतगणना स्थल तोक्ने निर्णय गरेको थियो ।
मदिरा बिक्री रोक
हेटौँडा उपमहानगरपालिका–१२ को वडाध्यक्ष पदको निर्वाचनलाई शान्तिपूर्णरूपमा सम्पन्न गर्न मदिराजन्य पदार्थ बिक्रीवितरण र सेवनमा पूर्ण रूपमा रोक लगाइएको छ ।
जिल्ला प्रशासन कार्यालय, मकवानपुरले आगामी आइतबार हुने वडाध्यक्षको पदको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न भन्दै हेटौँडा १२ एवं सो वडासँग सिमाना जोडिएका क्षेत्रमा मदिरा तथा नसालु पदार्थ बिक्रीवितरण र सेवनमा पूर्ण रूपमा रोक लगाएको हो ।
मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी धोलकराज ढकालले एक सूचना जारी गर्दै हेटाँैडा उपमहानगरपालिका–१२ एवं सो वडासँग सिमाना जोडिएका अन्य क्षेत्रको पाँच सय मिटरभित्र बिहीबार राति १२ः०० बजेदेखि मतदानको कार्य सम्पन्न नभएसम्म मदिरा तथा नसालु पदार्थ बिक्रीवितरण र सेवन गर्न नपाउने गरी पूर्ण रूपमा रोक लगाइएको जनाउनुभएको छ ।
उहाँले कोही कसैले प्रशासनको सूचनाको बर्खिलाप हुने गरी कुनै कार्य गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही हुने बताउनुभएको छ ।