• २४ मंसिर २०८१, सोमबार

रवि लामिछानेसँग बयान जारी

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, मङ्सिर १५ गते । सहकारीको रकम हिनामिनाको आरोप लागेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग काठमाडौँ सरकारी वकिल कार्यालयमा बयान सुरु भएको छ । कालिमाटीको स्वर्णलक्ष्मी सहकारीको बचत रकम हिनामिनाको आरोपमा काठमाडौँ प्रहरीको हिरासतमा रहनुभएका लामिछानेसँग शुक्रबार झन्डै पाँच घण्टा बयान लिइएको छ । 

प्रहरी स्रोतका अनुसार बयानका लागि लामिछानेलाई शुक्रबार बिहान १० बजे जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँमा लगिएको थियो । जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटुवाल र प्रहरी नायब उपरीक्षक हरि खतिवडाले बयान लिनुभएको छ । शनिबार सार्वजनिक बिदा रहेकाले आइतबार पुनः लामिछानेसँग थप बयान लिइने जनाइएको छ । स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिनामा संलग्न भएको आरोपमा गोर्खा मिडियाका निर्देशक तथा पूर्वप्रहरी नायव महानिरीक्षक छविलाल जोशी, कुमार रम्तेलसँग पनि जिल्ला सरकारी वकिलको कार्यालयको रोहबरमा प्रहरीले बयान लिइसकेको छ । दुवै जना हाल कास्की प्रहरीको हिरासतमा हुनुहुन्छ ।

काठमाडौँको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको रकम अनधिकृत रूपमा गोर्खा मिडियामा लगेर हिनामिना गरेको भनी पीडितहरूले तत्कालीन गोर्खा मिडियाका अध्यक्ष गितेन्द्रबाबु (जिबी) राई, प्रबन्ध निर्देशक रवि लामिछाने तथा सञ्चालक नेपाल प्रहरीका पूर्वप्रहरी महानिरीक्षक छविलाल जोशी बन्जाडे र कुमार रम्तेलविरुद्ध किटानी जाहेरी दिएपछि यही मङ्सिर २ गते काठमाडौँ जिल्ला अदालतबाट राई, लामिछाने, बन्जाडे र रम्तेलविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।

पोखराको सूर्यदर्शन सहकारीको बचत रकम हिनामिना गरेको पाइएपछि लामिछानेलाई गत कात्तिक ३ गते काठमाडौँको वनस्थलीस्थित रास्पवा केन्द्रीय कार्यालयबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालय कास्की लगिएको थियो । रुपन्देहीको बुटबलमा रहेको सुप्रिम सहकारीको रकम हिनामिनामा समेत संलग्नता देखिएपछि रविमाथि रुपन्देही जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको छ ।