बेरुत, लेबनान, मङ्सिर १४ गते । जिहादी र उसका टर्की समर्थित सहयोगीहरुले शुक्रबार सिरियाको दोस्रो शहर अलेप्पोमा सरकारी सेनाविरुद्ध ठूलो आक्रमण गरेका छन् ।
बेलायतमा कार्यालय रहेको सिरियाली युद्ध अनुगमनकारी संस्था (सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स) का अनुसार यस हिंसामा दुई सय ४२ जनाको मृत्यु भएको छ, जसमध्ये अधिकांश दुवै पक्षका लडाकुहरु थिए । मारिने मध्ये २४ जना सर्वसाधारण रहेका छन् र उनीहरु अधिकांश रुसी हवाई आक्रमणमा मारिएका बताइएको छ ।
हिजबुल्लाह र इजरायलबिच यसै हप्ताको सुरुमा छिमेकी लेबनानमा कमजोर युद्धविराम लागू भएको समय सिरिया र यस क्षेत्रका लागि संवेदनशील समयमा आक्रमण सुरु भएको हो । सिरियामा सन् २०११ मा राष्ट्रपति बशर अल असदको सेनाले प्रजातन्त्र पक्षधर प्रदर्शनमा कडाइ गरेपछि गृहयुद्ध सुरु भएको थियो ।
त्यसयता सिरियामा पाँच लाखभन्दा बढी मानिसको ज्यान गइसकेको छ, लाखौँ मानिस विस्थापित भएका छन् र देशको पूर्वाधार र उद्योगधन्दामा व्यापक क्षति पुगेको छ । पछिल्ला वर्षहरुमा यो द्वन्द्व जिहादी र असदका सहयोगी रुस, इरान र हिजबुल्लाहलगायत विदेशी शक्तिहरुबिच जटिल युद्धमा परिणत भएको छ ।
सेनाले युद्धमा गुमेको अधिकांश भूभागमा पुनः नियन्त्रण कायम गरे पनि जिहादी र उनीहरुका सहयोगीहरु रहेको क्षेत्रमा सन् २०२० देखि युद्धविराम शुरु भएको थियो । सिरियासँगको छिमेकी र असद विरोधी विद्रोहलाई समर्थन गर्ने टर्की समर्थित जिहादी र अन्य समूहले यसै साता सरकारी सेनाविरुद्ध ठूलो आक्रमण सुरु गरेका थिए । रासस/एएफपी