अमरराज नहर्की
तनहुँ, चैत ३ गते । गण्डकी प्रदेशको ग्रामीण पर्यटन प्रवर्धन गर्ने उद्देश्यका साथ यस वर्षको ‘गाउँ पर्यटन मार्ट २०८३’ तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा आयोजना हुने भएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश र बन्दीपुर गाउँपालिकाको संयुक्त आयोजनामा आगामी वैशाख १८ र १९ गते यो महोत्सव हुन लागेको हो ।
ग्रामीण पर्यटनका माध्यमबाट स्थानीय अर्थतन्त्र चलायमान बनाउन र मौलिक संस्कृतिको जगेर्ना गर्न यो मार्ट कोसेढुङ्गा सावित हुने अपेक्षा गरिएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेका अनुसार पोखरामा लगातार तीन संस्करण सम्पन्न भएपछि यसपटक नयाँ ग्रामीण गन्तव्यलाई प्रवर्धन गर्ने लक्ष्यसहित चौथो संस्करण बन्दीपुरमा आयोजना गर्न लागिएको हो ।
नेपालकै पहिलो होमस्टे सर्किट मार्टको अवसरमा बन्दीपुरले ‘बन्दीपुर–केशवटार होमस्टे सर्किट’लाई समेत विशेष प्राथमिकताका साथ अघि सारेको छ । करिब ७५ किलोमिटर चक्रीय दूरीमा फैलिएको यो सर्किटले १४ वटा होमस्टे (घरबास) सहित २० वटा गाउँलाई समेट्नेछ । यसलाई नेपालकै पहिलो होमस्टे सर्किटको रूपमा विकास गर्ने योजना बनाइएको छ ।
बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले यस सर्किट विकासका लागि तीन चरणका कार्यक्रम तय गरेको छ । पहिलो चरणअन्तर्गत चैत १४ र १५ गते पर्यटन तथा संस्कृतिविद्, व्यवसायी र प्राविधिक टोलीले समग्र सर्किटको अध्ययन अवलोकन गर्नेछन् ।
स्थानीय उत्पादन र संस्कृतिको सङ्गम मार्टमा गण्डकी प्रदेशका सामुदायिक होमस्टे, पर्यटकीय कृषि फार्म (फार्म स्टे), पर्यटन सम्बद्ध कम्पनी तथा गैरसरकारी संस्थाहरूको सहभागिता रहनेछ । कार्यक्रममा गुरुङ, मगर, नेवार, क्षेत्री, ब्राह्मण र दलित समुदायद्वारा सञ्चालित होमस्टेहरूको मौलिक स्वाद र संस्कृतिको अनुभव लिन सकिने पर्यटन अभियन्ता हरिसिंह गुरुङले बताउनुभयो । मार्टमा सहभागी हुन इच्छुक संस्थाहरूलाई आगामी चैत १५ गतेभित्र आवेदन दिन नेपाल पर्यटन बोर्डले आह्वान गरेको छ । बन्दीपुर भ्रमण वर्ष २०२६ लाई समेत सहयोग पुर्याउने उद्देश्यले आयोजित यस मार्टमा सफारी जीप सञ्चालन र डिजिटल माध्यमबाट प्रचारप्रसारका कार्यहरू समेत गरिनेछ ।
पहाडकी रानी उपनामले परिचित बन्दीपुरले यसअघि भ्रमण वर्ष २०२५ को सफलतापछि सन् २०२६ लाई ‘ग्रामीण पर्यटन भ्रमण वर्ष’का रूपमा मनाउने घोषणा गरिसकेको छ । यो मार्टले बन्दीपुरका साथै व्यास नगरपालिका–१४ का पर्यटकीय क्षेत्रलाई समेत राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय स्तरसम्म जोड्ने मद्दत पुग्ने अभियान्ता गुरुङ बताउनुहुन्छ ।