राजन रावत
हुम्ला, चैत ३ गते । विद्यालयमा अध्ययनरत विद्यार्थी र अभिभावकहरूले शैक्षिक समस्याहरूको चाङ प्रस्तुत गरेका छन्। शैक्षिक सुधारका लागि गाउँपालिका स्तरमा सञ्चालन गरिएको शैक्षिक अन्तरक्रिया कार्यक्रममा विद्यार्थीहरूले आफ्ना समस्या राखेका हुन्।
नयाँ शैक्षिक सत्रमा शिक्षा क्षेत्र सुधारका लागि आफ्ना धारणा राख्दै मानसरोवर नमूना माध्यमिक विद्यालयकी छात्रा एलिसा जेठाराले विद्यालयमा खानेपानीदेखि सेनिटरी प्याडसम्मको व्यवस्था राम्रो नभएको गुनासो गर्नुभयो। उहाँले कक्षाकोठा धुलाम्मे हुँदा पठनपाठनमा असर परेको पनि बताउनुभयो।
कार्यक्रममा अर्का विद्यार्थी डिल्लीराज शाहीले पुस्तकालयमा पर्याप्त पुस्तकको व्यवस्था नभएको र विशेषगरी प्रविधिसम्बन्धी पुस्तकको अभाव रहेको बताउनुभयो। कम्प्युटर ल्याबमा कम्प्युटर प्रयोग गर्न नपाइने हुँदा विद्यार्थीहरू आधुनिक प्रविधिसँग घुलमिल हुन नसकेको उहाँको भनाइ थियो।
त्यसैगरी, अर्का विद्यार्थी रविन सुनारले गाउँपालिकाले एक वर्षअघिदेखि कक्षा १ देखि ८ सम्म स्थानीय पाठ्यक्रम लागू गरे पनि हालसम्म पाठ्यपुस्तक तयार गर्न नसकेकोमा असन्तुष्टि व्यक्त गर्नुभयो। उहाँले खेल मैदान साँघुरो हुँदा विद्यार्थीहरू खेलकुदबाट वञ्चित हुनुपरेको पनि बताउनुभयो।
अभिभावक गोर्ख बोहराले शैक्षिक गुणस्तर खस्कँदै गएको उल्लेख गर्दै यसको सुधारका लागि अभिभावक, शिक्षक, विद्यार्थी र सरोकारवाला सबै पक्ष गम्भीर हुनुपर्ने बताउनुभयो। उहाँले गाउँपालिकाले शिक्षा क्षेत्रमा देखिने गरी काम गर्न सुझाव दिनुभयो। शिक्षा क्षेत्रको सुधारबिना अन्य क्षेत्रमा गरिएको काम प्रभावकारी नहुने उहाँको भनाइ थियो।
कार्यक्रममा सिमकोट गाउँपालिकाकी उपाध्यक्ष सुशिला भाम रोकायाले सुधारका लागि प्रयास थालिएको भए पनि पर्याप्त नभएको स्वीकार गर्नुभयो। उहाँले साधन–स्रोतको अभावका कारण आवश्यक काम गर्न कठिनाइ भइरहेको बताउँदै उपलब्ध स्रोतसाधनबाटै काम गर्नुपर्ने बाध्यता रहेको उल्लेख गर्नुभयो।
सिमकोट गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख कृष्णप्रसाद आचार्यले यस्ता समस्याको सुनुवाइका लागि कार्यक्रम आयोजना गरिएको र उठेका विषय समाधानका लागि पहल गरिने बताउनुभयो।
कार्यक्रममा विद्यार्थी, प्रधानाध्यापक, जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, शिक्षक–अभिभावक संघका प्रतिनिधि तथा अभिभावकहरूको उल्लेख्य उपस्थिति रहेको थियो।