• १५ मंसिर २०८१, शनिबार

बलिहाङ राजा

blog

प्राचीन समयमा किराँत समुदायका राजा बलिहाङ थिए । राजा बलिहाङ भौतिक रूपमा शक्तिसम्पन्न थिए । विशाल सामरिक शक्तिले बलवान् थिए । अझ राजकाज शक्तिभन्दा प्राकृतिक मुन्धुमभित्रको ज्ञान विवेकबाट सहस्र शक्तिले अजर अमर राजा थिए । कुनै शत्रु शक्तिले बलिहाङ राजाको अघि टिक्ने सम्भावना थिएन । कसैले उनको राज्यविरुद्ध आवाज उठाउन सकेनन् । किराँत राजा बलिहाङले प्रजालाई खुसी राखेका थिए । कसैको गुनासो बलिहाङसँग थिएन । 

कदाचित् आफ्ना प्रजाले समस्या जाहेर गरे राजाले तुरुन्त समाधान गर्थे । आफ्नो पिरमर्कालाई राजाले सहयोग गर्ने भएकाले मानिस ढुक्कसँग जीवन निर्वाह गर्थे । बलिहाङ राजाको समयलाई सबैले सुनौलो युग भन्थे । बलिहाङ राजालाई अचानक रोगले समायो । निको हुनलाई राजाले अनेक उपाय लगाए । आफ्नो अद्भुत मुन्धुमी शक्ति प्रयोग गरे । अन्ततः यसबाट पनि केही पार नलाग्ने अवस्था देखा पर्दै गयो । 

दिदी लिम्चिबुङले भाइको दीर्घायुका लागि ईश्वरसँग प्रार्थना गर्दै माला लगाइदिइन् । त्यसपछि पनि राजाको स्वास्थ्य अवस्था झन् झन् बिग्रँदै गयो । एक रात राजाले सपना देखे, “बलिहाङ भोलि बिहान म तिमीलाई लिन आउँछु, आज राति भयो । म समयमा तिमीलाई लिन आउन असम्भव भएँ । दुःख नमान, तिमीले जीवनमा राम्रो काम कर्तव्य निर्वाह ग¥यौ । मृत्यु सत्य हुन्छ । प्रकृतिमा विलीन हुन्छ । कुनै पनि प्राणी अमर छैन । मेरो पनि मृत्यु हुन्छ ।” मृत्युले बलिहाङ राजालाई जीवनको वास्तविकता बताए । 

राजा सपनाबाट ब्युँझे । पूर्व उज्यालो भयो । भाले बासेको आवाजले गाउँ ब्युँझँदै थियो । राजाले सारा प्रजालाई बोलाएर सभामा भने, “म बाँच्न असम्भव जस्तो छ । मृत्युले मलाई सपनामा भेट्यो । भोलि बिहान लिन आउँछु भनेर गयो । मलाई अन्त्यमा बचाउने भनेको जनताले नै हो । यो रातभर मलाई कुरेर गीत गाउँदै पर्खेर बस । मलाई सबैले मृत्युबाट बचाउने प्रयास गर । जाग्राम बसेर मृत्युलाई यहाँबाट भगाऊ । लुकेर कतै बसेको हुन सक्छ ।”

त्यो रात, फेरि अर्को रात गर्दै जनताले राजा बलिहाङलाई पर्खे, उनको सुरक्षा गरे । मृत्युलाई खेदे । मृत्युबाट आफ्नो प्यारो राजालाई बचाए । राजाको हुकुमबमोजिम नाचगान गर्दै मृत्युलाई भुलाउने प्रयास गरे ।

यसप्रकार प्रत्येक घरमा मृत्यु लुकेर बसेको छ कि भनेर देउसी खेल्ने परम्परा विकास भयो । बलिहाङको आदेश अनुसार किराँत समाजमा रमाइलो गर्दै देउसी खेल्ने प्रचलन सुरु भएको पाइन्छ । 

‘हामी त्यसै आएको होइन, बलिराजको हुकुमले’ भन्दै पूर्वी किराँत समुदायमा तिहारको समयमा देउसी खेलिन्छ । यसलाई अचेल रमाइलो चाडपर्वका रूपमा मनाइन्छ ।

   

Author

विष्णु राई