काठमाडौं, साउन ४ गते । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले एक वर्षको कार्यप्रगति सार्वजनिक गरेको छ । बिहीबार आर्थिक वर्ष २०७९/८० को कार्यप्रगति सार्वजनिक गर्दै सीआईबीले विभिन्न मुद्दामा १२५ जनालाई पक्राउ गरेको जनाएको छ ।
यस्तै सीआईबीले एक वर्षमा विभिन्न शीर्षमा ४३ वटा मुद्दा दायर गरेको छ । सीआईबीले ठगी, आपराधिक लाभ तथा आपराधिक विश्वासघात (एक्सटर्सन) सम्बन्धी कसुर, जुवा सम्बन्धी कसुर, नागरिकता ऐन तथा लिखित सम्बन्धी कसुर, सङ्गठित अपराध (सुन चोरी पैठारी), राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ अन्तर्गतको कसुर, दूरचारा हानी नोक्सानी, सहकारी ठगी, लिखतसम्बन्धी कसुर, नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गतको कसुर र बैङ्किङ कसुरमा मुद्दा दर्ता र आरोपीहरूलाई पक्राउ गरेको हो ।
आर्थिक अपराध अनुसन्धानको सिलसिलामा सहकारी ठगी–दुई, ठगी–चार, लिखत–एक र भीओआईपी– दुई गरी आठ मुद्दा दर्ता भई ३९ जनालाई पक्राउ गरेको सीआईबीले जनाएको छ ।
यसअनुसार शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था लि. भक्तपुर, ललितपुर र काठमाडौंका विभिन्न शाखाहरूबाट १७ अर्ब रकम अपचलन गरेर ठगी गर्ने कार्यमा संलग्न संस्थाका पूर्व अध्यक्ष केदारनाथ शर्मासहित सात जनालाई विभिन्न मितिमा पक्राउ गरी आवश्यक कारबाही गरिएको सीआईबीको रिपोर्टमा उल्लेख छ ।
सीआईबीको रिपोर्टका आधारमा पृथ्वीबहादुर शाहको ठगी एवम् आपराधिक कार्यदेखि धर्मको नाममा ठगी गर्ने शिवसुत गौरी बाबालाई पनि कानुनी दायरामा ल्याएको छ ।
यस्तै, क्रिकेटमा सट्टेबाजी गराउने पूर्व राष्ट्रिय खेलाडी महवुव आलम, राष्ट्रिय खेलाडी मोहमद आदिल आलम र स्थानीय नितेश गुप्तालाई पनि कानुनी दायरामा ल्याइएको छ ।
वार्षिक अपराध अनुसन्धान प्रगति समिक्षमा लिखत, ठगी, वैदेशिक रोजगार, नागरिकता ऐनअन्तर्गत कसुरमा १६ वटा मुद्दा दर्ता भई ५७ जनालाई पक्राउ गरी कानुनी दायरामा ल्याइएको उल्लेख छ ।
यसैगरी, सीआईबीले नेपाल सरकारको १४३ रोपनी जग्गा (ललिता निवास) सङ्गठित रूपमा सरकारी छापा र दस्तखत किर्ते मुद्दामा मीन बहादुर गुरुङसहित १७ जनालाई पक्राउ गरी थप अनुसन्धान भइरहेको जनाएको छ ।
सीआईबीका अनुसार समाजको विकास क्रमसँगै अपराधको कार्यविधि र त्यसमा प्रविधिको प्रयोग बढ्दै गएको वर्तमान सन्दर्भमा अपराध गर्ने शैली र आपराधिक गिरोहको सञ्जाल देश विदेशसम्म विस्तार भइरहेकाले अपराध अनुसन्धान कार्य थप चुनौतीपूर्ण हुँदै गइरहेको छ । आपराधिक घटना र तथ्याङ्कको ग्राफ उकालो लागेसँगै अपराध अनुसन्धान कार्य प्राविधिक रूपमा अझै जटिल हुँदै गइरहेको सीआईबीको रिपोर्टमा उल्लेख छ ।