• १२ मंसिर २०८१, बुधबार

सूचना प्रविधिको प्रयोगको दायरा बढाउन स्वास्थ्यमन्त्रीको आग्रह

blog

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेत ।

काठमाडौं, साउन ४ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य क्षेत्रमा सूचना प्रविधिको प्रयोग दायरा बढाउन आग्रह गर्नुभयो । स्वास्थ्यमन्त्री बस्नेतले राष्ट्रिय डिजिटल स्वास्थ्य दिवस एक सूचना जारी गर्नुहुँदै यस्तो आग्रह गर्नुभएको हो ।

मन्त्री बस्नेतले स्वास्थ्य सूचना प्रणाली सुदृढीकरण, टेलिमेडिसिन र डिजिटल प्रविधियुक्त अन्य स्वास्थ्य सेवा, आम सञ्चार र स्वास्थ्य शिक्षा, आपतकालीन स्वास्थ्य, मानव स्रोत व्यवस्थापन, स्वास्थ्य बीमा जस्ता क्षेत्रलाई प्रारम्भिक रूपमा कार्यसूची बनाई क्रमशः सूचना प्रविधिको प्रयोगको दायरा बढाउन आग्रह गर्नुभएको हो ।   

सूचना प्रविधिको विश्वव्यापी प्रतिस्पर्धामा सामेल हुन जनशक्तिको क्षमता विकास गरी स्वास्थ्य सेवा व्यवस्थापनलाई प्रविधिमैत्री बनाउनु जरुरी रहेको मन्त्री बस्नेतले जिकिर गर्नुभयो ।

स्वास्थ्य सेवामा रहेका विशेषज्ञ जनशक्तिको अभाव, स्वास्थ्य सेवा लिँदा लाग्ने समय, खर्च र श्रम न्यूनीकरण गर्न प्रविधिमा आधारित स्वास्थ्य सेवाले सम्बोधन गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “वञ्चितिकरणमा परेका र दुर्गम क्षेत्रका बासिन्दालाई पहिलो प्राथमिकतामा राख्दै । ज्ञानको अभावले डिजिटल हेल्थका सेवाबाट पुनः वञ्चित हुन सक्ने र यस प्रविधिको दुरुपयोग हुन सक्ने सम्भावना हेरी कार्य अघि बढाउन आवश्यक छ ।”

स्वास्थ्य सूचनाको गोपनीयता र सुरक्षा सुनिश्चित गरी डिजिटल सेवाप्रति जनताको विश्वास अभिवृद्धि गर्नुसमेत भविष्यकाे चुनौती रहेको उहाँको तर्क छ । डिजिटल हेल्थको कार्यान्वयन बहुपक्षीय सहकार्य र प्रयासबाट मात्र सम्भव हुने भएकाले सम्बन्धित सबैको सहकार्य आवश्यक रहेको उहाँको भनाइ छ ।

नेपालमा लगभग ७३ प्रतिशत घरपरिवारमा कम्तीमा एउटा स्मार्ट मोबाईल फोन, आधाजसो परिवारमा टेलिभिजन रहेको र ३८ प्रतिशत परिवारको इन्टरनेटमा पहुँच रहेको तथ्याङ्क राष्ट्रिय जनगणना २०७८ ले देखाएको छ । ५५ प्रतिशत स्वास्थ्य संस्थामा इन्टरनेटसहितको कम्प्युटर रहेको तथ्यले स्वास्थ्य क्षेत्रमा सूचना तथा सञ्चार प्रविधिको द्रुत विकास भइरहेको देखाउँछ ।

आज “स्वास्थ्यमा सर्वव्यापी पहुँचको लागि डिजिटलिकरण” भन्ने मूल नाराका साथ राष्ट्रिय डिजिटल स्वास्थ्य दिवस विभिन्न कार्यक्रम मनाइँदै छ ।