• ३ जेठ २०८२, शनिबार

बिजलपुरा–कुर्था रेल सेवा सुरु

रेलवेको विकास र विस्तारमा सरकार प्रतिवद्ध : मन्त्री ज्वाला

blog

महोत्तरीको विजलपुरादेखि धनुषाको कुर्था–जनकपुर–जयनगर रेल सेवाको उद्घाट गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला । तस्विर : रवीन्द्र उप्रेती

रवीन्द्र उप्रेती 

बर्दिबास, असार ३१ गते । बहुप्रतिक्षित कुर्था–बिजलपुरा १७ किमी ब्रोडगेज रेलमार्गको उद्घाटन गरिएको छ । भारत सरकारको एक हजार २५० करोड अनुदान सहयोगमा भारतीय रेलवे कम्पनी इरकन इन्टरनेशनल प्रालिले निर्माण सम्पन्न गरेको रेलवे ट्रयाकको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले आइतबार उद्घाटन गर्नुभयो ।  

यस खण्डको निर्माण सम्पन्न भइसकेपछि इरकनका महाप्रवन्धक दीपककुमारले नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रवन्धक निरञ्जन झालाई गत जेठ १८ गते रेलवे ट्रयाक हस्तान्तरण गरेपछि रेल्वे सेवा विस्तारको प्रवन्ध मिलाइएको थियो । उद्घाटनपछि जयनगर–जनकपुर–विजलपुरा ५२ किमी क्षेत्रमा विधिवत रेलवे सेवा सञ्चालन भएको हो । 

मन्त्री ज्वालाले हरियो झण्डा फहराएर सङ्केत गरेपछि ३१ वर्षपछि विजलपुराबाट जनकपुरका लागि यो रेल गुड्न थालेपछि स्थानीयले ताली पिटेर खुसी प्रकट गरेका थिए । रेल्वे विभागका महाप्रवन्धक रोहितकुमार विसुरालका अनुसार राणाकालदेखि सञ्चालित तत्कालीन न्यारोगेजको यो रेलको रातु खोलाले ट्रयाक र पुल बगाएपछि २०५९ देखि सेवा वन्द रहेको थियो । 


इष्टिम इन्जनमा चल्ने त्यसबेला यो रेललाई नेपाल जनकपुर–जयनगर रेल्वे अर्थात छोटकरीमा एनजेजेआर नामकरण गरिएको थियो । यस रुटमा हाल दैनिक सेवा सञ्चालन गरिने महाप्रवन्धक झाले बताउनुभयो । जनकपुर–कुर्था ३५ किमि रेलमार्गमा भने २०७८ चैत २० गतेदेखि रेल सेवा सञ्चालित भएको थियो । 

यस रुटको सोही वर्षको चैत १८ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रुपमा उदघाट गर्नुभएको थियो । 

यात्री सेवाको उदघाटन गर्नुहुँदै मन्त्री ज्वालाले रेलको शुभारम्भसँगै मुलुकले यातायात क्षेत्रमा फड्को मारेको बताउनुभयो । विजलपुरापछि छिटै बर्दिबाससम्म र त्यसपछि रौतहटको निजगढसम्म रेल विस्तार गर्ने सरकारको योजना रहेको जानकारी दिनुभयो । निजगढ–काठमाडौं रेल सञ्चालनका लागि समेत डीपीआर तयार भइसकेकाले रेलको माध्यमबाट त्रिदेशीय सम्वन्ध सुदृढ गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।  


उहाँले भारतको बथनाहादेखि विराटनगरसम्म पनि छिट्टै कार्गो रेल सेवा सञ्चालन हुने जानकारी गराउनुभयो । ‘हामी यो कार्गो रेल सञ्चालनको तयारीमा जुटेका छौ’ उहाँले भन्नुभयो ‘मुलुकको आर्थिक समुन्नती र व्यापार व्यवसाय प्रवद्र्धनका लागि रेलवेको महत्वपूर्ण भूमिका हुन्छ । यसको विकास र विस्तारका लागि सरकार प्रतिबद्ध छ ।’ 

यसअघि मधेश प्रदेशका कृषिमन्त्री गोविन्द न्यौपानेले यात्री रेल सेवाले यातायातको क्षेत्रमा सुविधा थपे पनि मुलुकको अर्थतन्त्रलाई टेवा दिन कार्गो रेल सञ्चालनका लागि पनि भारतसँग समन्वय र सहकार्य गर्नुपर्ने धारणा राख्नुभयो । 

‘दुवै मुलुकका प्रधानमन्त्रीले दुई वर्षअघि उद्घाटन गरेको रेल सेवा आज विजलपुरासम्म पुगेको छ । यसको विकास यात्राले उत्तरोत्तर नयाँ उचाइ लिंदै जाओस् भन्ने शुभेच्छा ब्यक्त गर्दछु’ श्रीवास्तवले भन्नुभयो । 


यसअघि भंगाहा सीतापुरका नगर प्रमुख सञ्जीव साह तथा रेल्वे कम्पनी लिमिटेडका महाप्रवन्धक निरञ्जन झाले रेल्वे सेवाको विविध पक्षमा प्रकाश पार्दै यसले समाजदेखि मुलुकसम्म पार्ने प्रभावबारे धारणा राख्नुभयो ।