• ९ मंसिर २०८१, आइतबार

अनौपचारिक पठनसमीक्षामा कृष्णभक्त श्रेष्ठका कविता

blog

कविताबारे पठन गर्नु जति सरल छ, त्यति नै कठिन कार्य कविताबारे बोल्नु वा लेख्नु हो । त्यसमाथि परम्परित समीक्षाले लेख्य विषयलाई विवेचना गर्दा वा मूल विषयमाथि अनेक सन्दर्भसामग्रीले उदाहरण बनाउँदा लेख्य विषयको मूल कथ्य वा विषय दिग्भ्रमित हुने कुरा त छँदै छ, त्यसमा झन् उदाहरणको थुप्रो थुम्कोले भन्नुपर्ने ‘कुरा’ बिलाइरहेको अवस्था बन्न जान्छ तर त्यहीँ अनौपचारिक पठनसमीक्षाले जहिले पनि लेख्य मूल विषयलाई केन्द्रमा राखी सम्बन्धित कुरालाई विवेचना गर्ने गर्दछ । यसो गर्नाको कारण हो, कृति र कृतिकारको समान उपस्थित र सामञ्जस्यमाथि समान दृष्टि पु्¥याउनु । 

त्यसै अनुरूप यहाँ समीक्ष्य छन्– कवि कृष्णभक्त श्रेष्ठ (विसं १९९७) का कविताहरू । अनि समीक्षाको केन्द्रमा छन् कवि श्रेष्ठका चार कवितासङ्ग्रह– कृष्णभक्त श्रेष्ठका कविता (वि. सं. २०३३), मान्छेको कथा (वि.सं. २०५३), रातको दस बजे (विसं २०६०), ठुलो मान्छे (वि. सं. २०६१) ।

कवि श्रेष्ठका कविताबारे बोल्नुभन्दा पहिला कवि श्रेष्ठ कस्ता कवि हुन्, यसबारे चिन्तन गर्नु उचित हुन्छ । कविका बारे विशेषण खोज्दा अनेक विशेषण काव्य–विवेचनका ग्रन्थहरूमा देख्न वा भेट्न सकिन्छ, त्यस्ता विवेचन ग्रन्थमा ग्रन्थित नबनी यस समीक्षाको वृत्तमा रहेर हेर्दा आरम्भमै भन्न सकिन्छ, कवि कृष्णभक्त श्रेष्ठ आधुनिक कविताको प्रथम दशकबाट देखा परेका अस्तित्ववादी चिन्तक कवि हुन् । यस हिसाबले उनका कवितामा पाइने मूलभूत चुरो भनेको आधुनिक परिवेशमा विरोधाभासपूर्ण जीवन बाँच्न अभिशप्तित मानवनियतिको चित्रण हो । यति भनेपछि कवि श्रेष्ठका कवितामा पाइने विविध भावचित्रणलाई यस समीक्ष्य केन्द्रमा वर्गीकृत गरेर हेर्न सकिन्छ, जस्तै– १. मृत्युचेतना, २. राष्ट्रिय चेतना, ३. सामाजिक/सांस्कृतिक चेतना, ४. मानवचेतना ।

–कवि श्रेष्ठका सम्पूर्ण कविताको पठनपछि जुन कुराको प्रमुख पाठकीय बोध हुन्छ, त्यो हो मृत्युचेतना । मानव जीवनको दैनन्दिन भोगाइका क्रममा सँगसँगै हिँड्ने एउटा अदृश्य त्रास बनेको हुन्छ मृत्यु । तिनै मृत्युचेतनालाई कवि श्रेष्ठले आफ्ना कविताको नेपथ्य केन्द्रभाव बनाएर प्रस्तुत गरेका छन् । यद्यपि त्यस मृत्युचेतनामा मृत्युको लाचारी वा विवशताले ग्रसित मानव नियतिलाई चित्रण गर्नु कविको ध्येय होइन, बरु मृत्यु सत्य हो, त्यससँगै हिँडेर आफ्नो जीवन बाँच्नु आजको मान्छेको अस्तित्व हो भन्ने भाव प्रस्तुत गर्नु उनका कविताको मूल मर्म हो । यसै सन्दर्भमा कविताले भनेको छ– नजन्मँदै निश्चित थियो मेरो मृत्यु/यो एक जुकाको मृत्यु– /आफैँमा गाँठो पारेर/ अन्यथा कसैले आत्महत्या गर्नुपथ्र्यो मैले/ नगरेको अपराधका लागि/ यही अपराधका लागि/ म बिनाअर्थ बाँचेको छु/ व्यर्थ बाँचेको छु/ मात्र बाँचेको छु/ आफैँले कात्रो ओढेर– (‘आफैँले कात्रो ओढेर’) । यस खाले कविताको पठन विशेष बन्दछ । पठनमा भावलाई खोज्नु कहिले त निरर्थक पनि लाग्न सक्छ । यसैले कविताको पठनमा पूर्णतः भाव खोज्नु वा त्यस हिसाबले कविताको पठन गर्नु कविताप्रति अन्याय पठन हुन जान्छ, किनभने कविता पूर्ण अर्थको प्राप्तिका लागि पठन गरिँदैन, गर्न पनि सकिन्न । कवि श्रेष्ठका कविताको अर्थमा पनि यही लागु हुन्छ । उनको मृत्युचेतका कविताले पनि यस्तै विविध भाव दिन्छन्, त्यस्ता कविता यस प्रकारका छन्, जस्तै– ‘एक पिँढीको कथा ः एक बिहान’, ‘जित्छ–हार्छ, जित्छ–हार्छ’, ‘लास नउठेको परम्परा : ब्युँतिनसकेको युग : पिँढी’, ‘मृत्यु जीवन’, ‘बात मार्छु’, ‘मेरो विगत, आगत र अनागत’, ‘म मृत्यु बाँच्छु’, ‘मृत्यु’ आदि ।

–कवि श्रेष्ठका कविताको अर्को थप विशेषता भनेको उनका कवितामा पाइने राष्ट्रिय चेतना हो । उनको राष्ट्रिय चेतना फोस्रो र अभिधामूलक नभई विभिन्न उपमा–विम्बबाट चित्रित देखिन्छ । जेजस्तो रूपमा कवितामा चित्रण भए पनि समकालीन वस्तुस्थितिलाई लिएर चिन्तन गरिएको हुन्छ । त्यस्तो कविताहरूमध्ये उदाहरणमा यस कवितालाई लिऊँ– आजभोलि÷कताकता/अलिकता/चस्स/मलाई मेरो देश दुखेको छ/ सकिनसकी पिठ्युँमा÷मैले बोकी हिँडेको÷ मैले आफ्नै ठानी आएको/ मेरो देशभित्रै/ वंशानुगत रोगग्रस्त/ एउटा  उपनिवेश दुखेको छ– (...‘मेरो देश दुखेको छ’) । यस्ता खाले कवितामा कवि श्रेष्ठका भावना मार्मिक ढङ्गमा कुँदिएको छ । त्यो भावना राष्ट्रिय सन्दर्भमा होस् वा अन्तर्राष्ट्रिय प्रस्गमा– देशलाई विविध विम्ब बनाई प्रस्तुत गरिएका कविताहरू राष्ट्रिय परिवेशको मर्म भन्ने कथ्य उपमा जस्ता लाग्छन् । कविको कलम यसमा त्यसै लिपिबद्ध भएको छैन, राष्ट्रको मर्मभित्रसम्म अन्तर्चेतन भएर मसीयुक्त भएको छ । यो कवि श्रेष्ठका कवितामा पाइने अर्को मूल विशेषता हो । यस्ता कविताहरूमा– ‘मेरो निरीह पहिचान’, ‘तोक्मा’, ‘मागल गाउने मलामीहरू’ आदि ।

–कवि श्रेष्ठका कवितामा पाइने अर्को महत्वपूर्ण भाव भनेको सामाजिक–सांस्कृतिक चेतना हो । यस्ता खाले कवितामा सामाजिक सन्दर्भअनुरूप देखिने राजनीति, धर्म, दर्शन र संस्कृतिका विषयहरू हुन् । समाजमा भएका घटना होस् वा संस्कृतिको ‘नोस्टालजिक’ विम्ब, मानवीय संवेदनाको भाव होस् वा इतिहासपरक सन्दर्भ, यी सबै पक्षलाई कविताको विषय बनाई प्रस्तुत गरिएकाले कविता विविध रूपमा रचित देखिन्छन् र यस्ता खाले कविताले विगतका तत्कालीन कुराको संस्मरण गराउँदै आजको समयलाई यथार्थ चित्रमा पनि अभिव्यक्त गरेका छन् । कवि श्रेष्ठको कलम यस्ता खाले कवितामा बडो सहज र सबल ढङ्गमा कुँदेको हुनाले कविता केही दुरूह लागे पनि अर्थका अनेक झाँकी सम्प्रेषण गर्न सफल देखिन्छन् । उदाहरणमा कविताका यस पङ्क्तिलाई मनन गरौँ– हुँगियाको डुँगियासँगै गाँसिएको÷ सुनकेसरा मैयाँको कथा नसुनेकाले लेखेको/ मेरो देशको इतिहास/ खै, कसरी इतिहास नै पो भन्ने– (‘हुँगियाको डुँगियाको कथा’) ! कवितामा सांस्कृतिक चेतना वा सामाजिक सन्दर्भको प्रसङ्ग लिई दन्त्यकथाको प्रत्यारोप गर्नाले कविता विशेष बनेको पनि छ र यस्ता खाले कविताले विशेष पठनको बोध दिएका छन् । यही विषयविशेष विम्ब लिई प्रस्तुत भएका कविताहरू यस प्रकार छन्, जस्तै–‘देउकीको छोरो’, ‘बुख्याचा’, ‘मोचन नभएको बिसेमिरा : मोचन नभएको बिसेमिरा : मेरो जीवन’, ‘शब्दहरू’, ‘गँकी’ आदि ।

–कवि श्रेष्ठका कवितामा पाइने अर्को मूल मर्म भनेको मानव चेतना हो । हुन त यो चेतना उनका चारै वटा कविता सङ्ग्रहका कवितामा प्रशस्त पाइन्छ । अझ यसो भनूँ, उनका सम्पूर्ण कविताको मूल चित्रण भनेको मानव चेतना नै हो । यसमा मानवीय संवेदनाको प्रस्तुति त छँदै छ, त्यसमा पनि मानव हुनुको नियति, नियतिले ग्रस्त पारेको जीवन र जीवनमा हुने अनागत घटनाको प्रकोपलाई बिम्बित गरिएको छ । यस्ता खाले कवितामा कविले चित्रण गर्दा कुनै अन्य काल्पनिक वा अन्तरिक्षीय घटनाप्रकोपको उपमा लिएका छैनन्, न त वायवीय कुराको प्रसङ्ग नै जोडेका छन् । हो, बरु त्यसमा विम्ब प्रक्षेपित गर्दा भने इतिहास, संस्कृति, राजनीति, दन्त्यकथानुकूल परिदृश्यादिका प्रतीक नै लिएर कविताको रचना गरेका छन् र त्यो पनि केवल घटना साधारणीकरण गर्दा लिएका सन्दर्भहरू हु्न् । तिनै सन्दर्भहरूलाई मनन गरेर कविताको पठन गर्दा कविता सहज रूपमा सम्प्रेषण गर्न सबल ढङ्गले सफल भएको बोध हुन्छ । यस्ता खाले कवितामा ‘मान्छे’ र ‘मान्छेपना’ को बडो मार्मिक चित्रण पाइन्छ, जस्तै– कुनै बेला मेरो सामु/ शिर निहु-याएर उभिने/ एउटा अभियुक्त भएर आत्मसमर्पण गर्ने/ हो, त्यो तिमी नै थियौ– (‘हो, त्यो तिमी नै थियौ’) । अन्य कविताहरू पठनमा केन्द्रित गर्नु पर्दा यी कविताहरूलाई लिन सकिन्छ, जस्तै– ‘ठूलो मान्छे’, ‘मान्छे भएर बाँच्ने अधिकार’, ‘हात्ती मान्छे’, ‘मान्छे न हो’, ‘बजार गएको मान्छे’, ‘खै, कसरी ठुलो मान्छे हुने’, ‘आजको मान्छे’, ‘विस्थापित मान्छे’, ‘अपहरित स्वप्नद्रष्टा : पल्लाघरे कान्छाहरू’ आदि ।

–यसरी कवि कृष्णभक्त श्रेष्ठका यी चार वटै कविता सङ्ग्रहका कविताहरू पठन गरेपछि वा यी चारै सङ्ग्रहको अध्ययनको निष्कर्ष यस अनौपचारिक पठनसमीक्षाले के निकालेको छ भने यी सङ्ग्रहहरूका सबै कविताहरू विविध विषय, विविध सन्दर्भ, अनेक विषयान्तर प्रसङ्गका भए पनि तिनमा पाइने एउटै गुण वा भनूँ केन्द्रीभाव भनेको मानवीय चित्रण नै हो र यसमा मानव चरित्रको साधारणीकरण गर्दा मूल विषयी भाव चाहिँ विसङ्गत संसारमा अस्तित्वरत रहने मानव नियतिको प्रकटीकरण नै हो । यो कथन किन पनि निष्कर्षित गर्न सकिन्छ भने कवि श्रेष्ठका कविताको विषयवस्तु र त्यसबाट निःसृत भाव जीवनोन्मुख मृत्युचेतमा पृष्ठित मानव चरित्रको चित्रण भन्नु नै हो । यसलाई यसरी प्रस्ट्याउन सकिन्छ, जस्तै– दोस्रो विश्वयुद्धपछि विश्वभर पैmलिएको अस्तित्ववादी–विसङ्गतिवादी चिन्तनले विश्वभर छाप पारेको कुरा स्मरणीय नै छ । तिनै चिन्तनलाई आत्मसात् गरी सिर्जना लेखन गर्ने क्रम पनि विश्वस्तरमा बढ्दै गएको यहाँ ज्ञातव्य छ । ती विसङ्गतिवादी चिन्तकहरूले भनेका छन्– ‘हामी नचाहेरै जन्मिएका हौँ । नचाहेरै मर्नेछौँ । जीवन यस्तो मोडमा छ, जहाँ बाँच्नुको कुनै सार छैन, मर्नुको कुनै अर्थ छैन । यसबाट निस्सार हामी मृत्युवरण गर्न पुगेछौँ भने पनि झन् विसङ्गत जालोमा अल्झिन्छौँ । यसैले हामी विसङ्गत समयको विसङ्गत संसारमा बाँच्न अभिशप्तित छौँ ।’ यसरी विसङ्गतिवादीहरूले प्रत्येक कुरामा विसङ्गत दृश्य देखेपछि यो तर्कलाई आत्मसात् गर्दै रचना लेखिने एक प्रकारको बाढी संसारभर उर्लिएको देखिन्छ । अनि त्यहीँनिर फेरि अस्तित्ववादी चिन्तकहरूले भनेका छन्– ‘हो, जीवन निस्सार र निरर्थक छ तर पनि त्यही निस्सार र निरर्थकतामा आफ्नो अस्तित्वका लागि सङ्घर्ष गर्नु आजको मान्छेको बाध्यता भए पनि पहिचान हो । यसैले जस्तै निरर्थकतामा पनि जन्मिएपछि मान्छे नमरेसम्म सङ्घर्ष त गर्नैपर्छ । जति नै मृत्युचिन्तना गरे पनि बाँचिन्जेल बाँच्नुको सङ्घर्षरत समयमा डट्नुपर्छ ।’

–यी दुई चिन्तनको भाव कवि कृष्णभक्त श्रेष्ठका यी चारै वटा कविता सङ्ग्रहका कवितामा प्रशस्त पाइन्छ । यहाँ यसको उदाहरण यसरी लिन सक्छौँ, जस्तै– बिनसित्ति/जीवनलाई हामी/ चढ्नै नसकिने ठाडो/ एउटा उकालो बनाउँछौँ/ र त चिप्लिएर भीरबाट एक दिन/ बाह्र बल्ड्याङ खान्छौँ/ सख्त घाइते हुन्छौँ/ र ज्यादै पीडादायी अपाहिज/ जीवनयापन गर्न बाध्य हुन्छौँ– (‘जीवन र मृत्यु’) । यसरी यस्तै विषयी भावमा कवि श्रेष्ठले आफ्नो कलमलाई सशक्त ढङ्गले चलाएका छन् । यसबाट सिद्ध हुन्छ, कवि कृष्णभक्त श्रेष्ठ एक सशक्त आधुनिक कवि हुन् र उनका कविता पढ्नु भनेको दुरूह नभएर दुरूह समयलाई आत्मबोध गर्नु हो । यसो भन्नाको कारण के हो भने उनका कवितामा रहेको मान्छे होस् वा मान्छेसँगै घटित घटना, अनि देशकाल– परिस्थितिको प्रतिविम्ब होस् वा नियतिको कठोर जालोमा अल्झिएका मानव जीवन, यस्ता सबै प्रकरणहरूको विम्बन कवि श्रेष्ठले आफ्नो मौलिक शैलीबाट गरेका छन् । यसबाट लाग्छ, कवि श्रेष्ठ कवितामा मानव नियतिको व्याख्यान गर्ने व्याख्याता हुन् भने त्यस्ता कविताको सहजीकरणमा गति र यतिका साथ कविताको कथ्यलाई मानवकै वरिपरि दृश्यित परिदृश्यलाई चित्रण गर्ने चित्रकार पनि हुन् । यी सबै विशेषताबाट विशेषित एकै संज्ञामा भन्नुपर्दा कवि श्रेष्ठ आफ्नो समयका एक सशक्त कवि हुन् ।

–अन्त्यमा भन्नुपर्ने कुरा के छ भने आजको मानव जीवन जति जटिल र दुविधापूर्ण छ, त्यसका बारे कवितामा व्यक्त गर्न र साधारणीकरणद्वारा ग्राह्य बनाउनका लागि कविताको भाषामा त्यसअनुरूप परिवर्तन अपरिहार्य पनि छ, अनि अनिवार्य पनि छ, किनभने अवचेतनको तनावपूर्ण मानसिक उद्वेलनको अभिव्यक्ति परम्परागत रूढि शिल्पद्वारा सम्भव छैन । आजको जुन घटना–ऊहापोह छ, त्यसलाई त्यसरी नै व्यक्त गर्नु पर्ने हुनाले कविताको भाषा समयानुकूल नै बनेर प्रयुक्त हुने गर्दछ । यस सन्दर्भमा कवि कृष्णभक्त श्रेष्ठ आफ्ना कविता विरोधको स्वरमा होस् वा जीवनप्रति मृत्युचिन्तनको उद्घोषमा होस्, मानवीय संवेदनामा मर्मभेदक विम्बको प्रकटीकरणमा होस् वा दन्त्यकथाको उच्च उपमा प्रयोगमा होस्, भाषागत रूपमा सामञ्जस्य गर्दै सिर्जना गर्दछन् ।

–यसै सन्दर्भमा यो पनि मनन गर्नु यहाँ सार्थक हुन्छ, त्यो के भने कविता रचिनुमा विभिन्न कारण भए पनि यसका केही कारक तìव भने हुन्छन् । ती कारक तìवलाई पनि प्रभाव पार्ने केही प्रेरक तत्व हुने गर्दछ । यसर्थ कविताको सन्दर्भमा कविता रचिनुका दुई प्रेरक तìवलाई विशेष मान्नुपर्ने देखिन्छ र ती प्रेरक तत्वलाई ‘बाह्य वर्ग’ र ‘आन्तरिक वर्ग’मा वर्गीकृत गर्ने गरिन्छ । पहिलोमा अर्थात् ‘बाह्य वर्ग’मा जेजे विषय आउँछन्, ती विषयलाई समावेश गर्दा विज्ञानका उपलब्धिहरू, पाश्चात्य दर्शन, पाश्चात्य साहित्यिक आन्दोलन तथा अन्य प्रभावहरूलाई राख्ने गरिन्छ । अनि दोस्रोमा अर्थात् ‘आन्तद्धिरक वर्ग’ अन्तर्गत पर्ने जेजे विषयभाव छन्, ती हुन्– देशका सामाजिक, राजनीतिक, आर्थिक र साहित्यिक परम्पराहरू, परिस्थितिहरू एवं उपलब्धिहरू पर्दछन् । यिनै प्रेरक तत्वबाट आजका कविता निःसृत भएकाले कवितामा पाइने मूल विषय यिनै भावमा मूलतः चित्रित देखिन्छ । यी दुई प्रेरक तìव कवि कृष्णभक्त श्रेष्ठका कवितामा पनि राम्ररी नै उपयोग भएको देखिन्छ अर्थात् यसो भनूँ, यिनै प्रेरक तत्वको धरातलमा टेकेर कवि श्रेष्ठका कविता सिर्जित भएका छन् । त्यस्ता भावाभिव्यक्तिमा कवि श्रेष्ठका कविता सबल र प्रखर रूपमा चित्रित भएका छन् भन्नु नै यस अनौचारिक पठनसमीक्षाको मूल ध्येय एवं निष्कर्ष हो ।