गोरखापत्र सामचारदाता
काठमाडौँ, कात्तिक १६ गते । जनकवि दुर्गालाल श्रेष्ठको छ पुस्तक तथा उहाँको रचनामा रहेको गीतको म्युजिक भिडियो ‘जिगु गर्व’ म्युजिक भिडियो सार्वजनिक भएको छ । काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डङ्गोलले शुक्रबार श्रेष्ठका कृति कपूया कुँ, नःलिगु नुगः खँ, छुछुं गिजिमिजि ध्वः, कावा, कविया बाखं कविया भासं र अन्तर्भाव थूयाको लोकार्पण गर्नुभयो । यसै गरी सोही कार्यक्रममा विश्वास वज्राचार्यले निर्देशन गर्नुभएको जिगु गर्व गीको म्युजिक भिडियो सार्वजनिक गरेको हो ।
दुर्गालाल साहित्य प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रममा नेपाल भाषा एकेडेमीका चान्सलर मल्ल के. सुन्दरले भाषा आयोगका सदस्य, पत्रकार तथा साहित्यकार सुरेशकिरण मानन्धरसँगको अन्तक्रिया कार्यक्रममा लेखन प्रवृत्तिसहित जनकवि दुर्गालालको जीवनका विविध पक्षबारे चर्चा गर्नुभएको थयो । मल्लको करिब ५० वर्षदेखि जनकवि दुर्गालालसँग सङ्गत रहेको छ ।
८९ वर्षीय दुर्गालाल २००६ सालमा विद्यार्थी साहित्य मण्डलको सम्मेलनमा कविता पढेर दुर्गालालको साहित्यिक यात्राको सुरुवात भएको जानकारी दिनुभयो । यसै गरी उहाँले दुर्गालाल नेपाल भाषाको सेवक हुनुमा सधैँ गर्व गर्ने व्यक्ति हो भन्नुहुँदै उहाँ गीतकार, नाटककार र अनुवादकका रूपमा उत्तिकै कलम चलेका सर्जक भएको बताउनुभयो । उहाँले ५० वर्षअघि र त्यसपछि दुर्गालालको प्रवृत्तिमा आएको परिवर्तन उहाँको साहित्यिक यात्रामा आएको परिपक्वताबारे पनि सुनाउनुभयो । मल्लले भन्नुभयो, “दुर्गालाल साहित्यमा तपस्या गरेर सिद्ध भइसक्नुभएका व्यक्ति हुनुहुन्छ । दुर्गालालको काव्यिक प्रवृत्तिमा पहिले आवेग,क्रोध र तीक्ष्णता समावेश थियो । पछि राजनीतिक चेतना आएपछि समानता, वामपन्थी र समाजमा विभेदको भावनाविरुद्धको विद्रोह उहाँको कृतिमा झल्केको र अहिले आध्यात्मिक हुनुभएको छ ।”
लेखक, पत्रकार, भाषाविद् र भाषाकर्मीलगायत करिब डेढ सय जनाको उपस्थिति रहेको कार्यक्रममा मल्लले दुर्गालालबारे सहभागीले राखेको जिज्ञासा पनि मेटाउनुभएको थियो । जनकवि दुर्गालालका ५० भन्दा बढी कृति छन् । उपमेयर ङङ्गोलले दुर्गालाल श्रेष्ठबाट धेरै कुरा सिकेको बताउँदै उहाँका बारेमा बुझ्न सहयोग गर्ने यति रचनात्मक साहित्यिक कार्यक्रम आयोजना गरेकोमा आयोजक दुर्गालाल साहित्य प्रतिष्ठानको प्रशंसा गर्नुभयो ।