• १६ कात्तिक २०८२, आइतबार

मनाइयो ‘हरिबोधिनी एकादशी’

blog

हरिबोधिनी एकादशीका दिन शनिबार भक्तपुरको चाँगुनारायण मन्दिरमा लागेको श्रद्धालुको भिड । तस्बिर : सुजन गुरुङ

गोरखापत्र समाचारदाता

काठमाडौँ, कात्तिक १६ गते । प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी हरिबोधिनी एकादशी पर्व मनाउने चलन छ । असार शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु ब्युँतिने भएकाले एकादशीलाई हरिबोधिनी वा प्रवोधिनी एकादशी पनि भनिन्छ ।

आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिनसम्म तुलसीको विशेष पूजाआराधना गर्ने शास्त्रीय विधि छ । यस दिन घर घरमा तुलसी रोपेरे मठमा गाईको गोबर र रातो माटोले पोतेर सिँगारी फूलमालाले सजाएर विवाह गरिन्छ । तुलसी विष्णु प्रिय भएकाले यस दिन तुलसीको दामोदरसँग विवाह गर्ने परम्परा बसेको हो । तुलसीको मठनजिकै विष्णुको प्रतीकका रूपमा निगालोको लिङ्ग गाडेर विधिपूर्वक पूजा गरिन्छ । आदिकालदेखि पूजाको परम्परा बसेको तुलसीको महिमा वैज्ञानिक रूपमा पनि लाभदायक प्रमाणित भएको छ । यसैले तुलसीको मठ हुने घरलाई तीर्थ समान मानिन्छ ।

कात्तिक महिनाभर सबै देवदेवी तुलसीमै निवास गर्छन् भन्ने धार्मिक विश्वास छ । हरिशयनी एकादशीदेखि पूजा गरिएको तुलसीको उद्यापन अग्नि स्थापना विधिबाट विशेष पूजा र हवनसहित गरिन्छ । शनिबारदेखि मार्गशीर्ष कृष्ण पञ्चमीसम्म अग्नि स्थापना नजुरेका दिन पनि अग्नि स्थापना विधिबाट विशेष पूजा र हवन गर्न सकिने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद्हरू बताउँछन् ।

संस्कृतिविद् प्राडा वीणा पौड्यालका अनुसार हाम्रो क्यालेन्डर अनुसार वर्षभरि २४ एकादशी हुन्छन्  । चतुर्मास परेको बेला २६ वटासम्म पनि पुग्छ । साउन, भदौ, असोज, कात्तिक यी चार वटा महिनामध्येको अन्तिम एकादशी हरिबोधनी एकादशीलाई मानिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “यी चार महिना पवित्र कार्य गर्ने गरिन्छ । धार्मिक कार्य एकदमै बढी हुन्छ । अरूबेला तुलसीलाई जल चढाएर सामान्य पूजा गरिन्थ्यो भने हरिबोधनी एकदशीको दिन विशेष रूपले पूजा गरेर तुलसीलाई सजाएर उत्सवका रूपमा मनाउने चलन भएको उहाँको भनाइ थियो । उहाँले थप्नुभयो, तुलसीको मण्डपलाई विवाहको मण्डप जस्तै सजाइन्छ । यस दिन एकादशी महात्मय पनि सुन्ने चलन भएको उहाँले बताउनुभयो । उहाँका अनुसार पण्डितले पाठ  गर्ने र त्यसलाई व्याख्या गर्ने तथा रातभर जाग्राम बसेर भजनकीर्तन गर्ने, कथा श्रवण गर्ने, नृत्य गर्ने चलन छ ।

तुलसीको महिमा वैज्ञानिक रूपमा पनि लाभदायक प्रमाणित भएको छ । यसैले तुलसीको मठ हुने घरलाई तीर्थ समान मानिन्छ । तुलसीको सुगन्धले १० दिशा पवित्र हुन्छ भनिन्छ । तुलसीको पूजा गरिएको घरमा यमदूत पनि पस्दैनन् भन्ने आस्थाका कारण हिन्दु धर्मावलम्बीले घरमा तुलसीको मठ बनाउँछन् । तुलसीको पात, डाँठ, वा फूलको रस रुघाखोकी र औँलोलगायत रोगका लागि औषधी हुन्छ । यो रस शरीरमा लगाएर सुतेमा लामखुट्टेले टोक्दैन । तुलसीको मठ भएको स्थल वरपर विषालु सर्प पनि आउँदैन । मठको वरपर बहने हावाले विषालु कीटाणुलाई नष्ट गर्दछ । शरद ऋतुभर सबै प्राणीका लागि तुलसीलाई महाऔषधी मानिन्छ । काठमाडौँ उपत्यकाका चार नारायण, भक्तपुरको चाँगुनारायण, ललितपुरको विशङ्कुनारायण, काठमाडौँका शेषनारायण र इचङ्ग्नारायण स्थानमा विशेष मेला लाग्ने गर्छन । उक्त ठाउँमा पुग्न नसक्नेले काठमाडौँको उत्तरी भेगमा रहेका बुढानीलकण्ठ नारायण स्थानको दर्शन गर्दा चार नारायणको दर्शन र पूजा गरे बराबरको फल पाइने विश्वास रहिआएको छ ।