• १२ असोज २०८१, शनिबार

नेपाल र बङ्गलादेशको खेल बराबरी

blog

काठमाडौं, असार २८ गते । बङ्गलादेशविरुद्ध पहिलो मैत्रीपूर्ण फुटबल खेलमा नेपाल बराबरीमा रोकिएको छ । ढाकाको कमलपुरस्थित वीर श्रेष्ठ शहीद सिपाही मोहम्मद मुस्तफा कमल स्टेडियममा बिहीबार साँझ भएको खेलमा नेपालले बङ्गलादेशसँग १–१ गोलको बराबरी खेलेको हो । 

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा बङ्गलादेशले ६५औँ मिनेटमा सुरुवाती गोल गरेको थियो । बङ्गलादेशका लागि सविना खातुनले गोल गर्नुभयो ।

त्यसपछि जोसिएको नेपालले दोस्रो हाफको इन्जुरी समयमा बराबरी गोल फर्कायो । नेपालका लागि सावित्रा भण्डारीले बराबरी गोल गर्नुभयो । राष्ट्रिय टोलीबाट सावित्राको यो ४४औं गोल हो । उहाँ नेपालका लागि सर्वाधिक गोल गर्ने खेलाडी हुनुहुन्छ । 

नेपालले चीनमा आयोजना हुने १९औँ एसियाली खेलकुद (एसियाड) को तयारीका लागि बङ्गलादेशसँग मैत्रीपूर्ण खेल खेलेको हो । नेपाल र बङ्गलादेशबीचको दोस्रो मैत्रीपूर्ण खेल आइतबार हुनेछ ।

नेपालले यसअघि बङ्गलादेशसँग गत वर्ष काठमाडौंमा भएको साफ महिला च्याम्पियनसिपमा प्रतिस्पर्धा गरेको थियो । त्यतिवेला नेपाल बङ्गलादेशसँग ३–१ गोलले पराजित भएको थियो ।