• १३ साउन २०८१, आइतबार

सीता दाहाल : चितवनकी छोरी, बुहारी र आमा

blog

सीता दाहाल । फाइल तस्बिर

नारायण अधिकारी

चितवन, असार २८ गते। बुधबार बिहान काठमाडौंको नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा निधन हुनुभएकी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको जीवन अधिकांश समय चितवनमा बित्यो। छ वर्षको कलिलो उमेरमै चितवन झर्नु भएकी सीताको यही विवाह भयो। सन्तान यही जन्मिए उहाँका ऊर्जाशील धेरै समय पनि चितवनै बित्यो। 

बाहिर चर्चा निकै कम भए पनि सशस्त्र द्वन्द्वको नेतृत्वकर्ता प्रचण्डलाई सफल बनाउन सीता दाहालको भूमिका महत्त्वपूर्ण थियो। चितवन सीताका लागि माइती र घर दुवै थियो। यस हिसाबले उहाँ चितवनको छोरी मात्रै होइन बुहारी र आमा पनि हुनुहुन्थ्यो। दाहालकी माइली छोरी रेणु दाहाल यतिबेला भरतपुर महानगरपालि प्रमुख हुनुहुन्छ। 

विसं २०११ साल असार २१ गते कास्कीको हेम्जामा ९ हालको पोखरा महानगरपालिका वडा नम्बर २५ मा जन्मिनु भएकी सीता छ वर्षको उमेरमा बुबाआमासँगै चितवन झर्नुभयो। मटिहानीको सुन्दरबस्तीमा उहाँहरू बसोबास गर्नुभयो। 

नजिकै शिवनगरको भीमसेन नगरका पुष्पकमल दाहालसँग उहाँको २०२६ सालमा विवाह भयो। तत्कालीन समयमा दाहाल प्रवेशिका परीक्षा मात्रै दिनुभएको थियो। सीताका भाइ हेमराज पौडेलका अनुसार वि.सं. २०३० सालमा प्रचण्ड गोरखा पढाउन जाँदै गर्दा सीता भने सासुससुरासँगै भीमसेननगरमै रहनुभयो। पौडेलका भनाइमा २०३० सालदेखि ३८ सालको बीचमा तीन छोरी र एक छोरालाई उहाँले जन्मिनुभयो। 

पौडेलले भन्नुभयो “यही समयमा भिनाजु प्रचण्ड अर्धभूमिगत भएपछि निकै सङ्घर्षका साथ दिदीले भान्जाभान्जी हुर्काउनुभयो।” घरका सासू ससुरासँगै माइतकी आमाको सहयोगले छोराछोरी हुर्काउन उहाँले सक्नुभयो। सङ्घर्षकै क्रममा २०४२ सालतिर प्रचण्ड परिवार काठमाडौंमा बस्न थाल्यो। माइली छोरी रेणु भने दुई वर्षको उमेरदेखि एसएलसीसम्मको पढाइ नसकिँदासम्म मामाघरमै बस्नुभयो। ललितपुरको पाटन, गोङ्गबुलगायतका क्षेत्रमा भाडाका घरमा सङ्घर्षका साथ दिदीले भान्जाभान्जी हुर्काएको पौडेल स्मरण गर्नुहुन्छ। 



“धनसम्पत्ति आर्जनगर्नेतर्फ कहिल्यै ध्यान नदिने सीता सर्वहारा वर्गको हितका लागि जहिल्यै पनि लाग्नुपर्छ भन्नुहुन्थ्यो”, पौडेलले स्मरण गर्दै भन्नुभयो, “दिदीले कहिल्यै आफ्नो दुःख सम्झनुभएन। सधैँ सर्वहारा वर्ग र महिलाका हकहितका पक्षमा कुरा गर्नुहुन्थ्यो।” 

जीवनको उत्तरार्द्धमा सीतालाई बुबाआमा बसेको र आफू हुर्किएको सुन्दर बस्तीमा घर बनाएर बस्न मन थियो। भान्जा भान्जीका लागि जग्गा पनि दिएको भन्दै पौडेलले पछि आफ्नै पैतृक सम्पत्तिमा घर बनाए पनि दिदी बस्न नपाउनु भएको बताउनुभयो। 

भरतपुर महानगरपालिका वडा नं. १४ भीमसेन नगरमा दाहाल परिवारले घर बनाएको छ। अघिल्लो निर्वाचनमा प्रचण्डले चितवन क्षेत्र नं ३ बाट निर्वाचित भएपछि आफ्नै गृहजिल्लालाई राजनीतिक थलो बनाउन चाहेर घर बनाइएको थियो। श्रीमती सीताको इच्छा समेत पूरा गर्दै नयाँ घर बनेपनि सीताले उक्त घरमा जम्मा तीन रात मात्रै बिताउन पाउनुभयो। पौडेलले भन्नुभयो “घर बनाउने दिदीको इच्छा पूरा भएपनि बस्ने इच्छा पूरा हुन पाएन।”

देश र विदेशले प्रचण्डलाई चिन्दै गर्दा सीतालाई धेरै कमले चिने। तर, चिन्नेहरू उहाँसँग निकै निकट भएको देखिन्छ। वि.स. २०५३ मा माइली छोरी रेणुसँग विवाह बन्धनमा बाँधिनु भएका अर्जुन पाठक सीता आमाले तल्लो वर्गका नागरिकको पक्षमा लाग्न सबैलाई प्रेरणा दिने गरेको स्मरण गर्नुहुन्छ। 

आफ्नो व्यक्तिगत स्वार्थका लागि कहिल्यै नलाग्ने सीताले जनताको अधिकार प्रत्याभूतिका लागि सधैँ लाग्न उत्प्रेरणा दिने गरेको उहाँको भनाइ छ। संविधानसभामार्फत संविधान बनेपछि पनि संविधान प्रदत्त अधिकार आम नागरिकलाई दिलाउन लाग्न सबैसँग उहाँको आग्रह हुने गरेको पाठकले बताउनुभयो। 

सादा र सादगी जीवन बिताउनुहुने सीता हक्की स्वभावको हुनुहुन्थ्यो। प्रचण्डका बहिनी ज्वाइँ भक्तिराम अधिकारीले भन्नुभयो, “परिवारका सबैसँग उत्तिकै राम्रो सम्बन्ध दिदीले गर्नुहुन्थ्यो।” परिवारको एउटा मियोका रूपमा दिदी सीता रहेको अधिकारीले स्मरण गर्नुभयो। प्रचण्डलाई सफल बनाउनुको पछाडि सीताको महत्त्वपूर्ण साथ रहेको उहाँको बुझाइ छ। 

पछिल्लो एक दशक यता प्रचण्ड परिवारसँग निकट भएर काम गर्दै आउनु भएका पत्रकार सुरेशचन्द्र अधिकारीको बुझाइमा परिवारदेखि आम नागरिकसम्ममा सीताले प्रत्यक्ष अप्रत्यक्ष रूपमा पुर्‍याएको योगदान आफैमा महत्त्वपूर्ण छ। उहाँले भन्नुभयो, “आमा सीताले कहिल्यै कसैको कुभलो चिताउनु भएन।”

प्रचण्डले महत्त्वपूर्ण निर्णय गर्नुपर्दा सीताकै सुझाव लिने गरेको अधिकारीको भनाइ छ। सीता दाहाल साँच्चिकै अन्तरमुखी स्वभावको असङ्ख्य पीडा सहन सक्ने महिला भएको अधिकारीको भनाइ छ। 

जनयुद्धका समयमा सिङ्गो पार्टीको अभिभावकका रूपमा उहाँले पार्टीभित्रका चुनौती, सङ्कट, विवाद समाधानका निम्ति समन्वयकारी भूमिका निर्वाह गर्नुभएको उहाँका निकटस्थहरू बताउँछन्।  विसं २०२८ देखि नै कम्युनिष्ट आन्दोलनमा आबद्ध उहाँ जिल्ला, क्षेत्र र केन्द्रका विभिन्न जिम्मेवारीमा रहँदै हाल माओवादी केन्द्रको सल्लाहकार हुनुहुन्थ्यो। 


जनयुद्धसँगै उहाँका धेरै समय नेपालका ग्रामीण क्षेत्रसँगै भारतीय भूभागमा पनि बितेका छन्। ती अतीतका सङ्घर्षका समयलाई सामना गर्दै आफ्नो जीवनको उत्तरार्द्धसम्म उहाँ अविचलित रहनुभयो।

पछिल्लो समय बिरामी भएपछि भने उहाँ थलिनु भएको थियो। दुई साताअघि भरतपुर महानगरपालिका प्रमुख रेणु दाहालले पारिवारिक सन्दर्भका कुरा गर्दैगर्दा भन्नुभएको थियो “काठमाडौँबाट साँझ बिहान बुबाको फोन आउँदै गर्दा झसङ्ग हुने गर्दछ। कतै आमालाई केही भयो कि भनेर झस्काइरहन्छ।” नभन्दै बुधबार बिहान त्यही नमिठो खबर प्राप्त भयो। रासस  



यो पनि पढ्नुहोस

सीता दाहालको निधनमा शोक व्यक्त

तस्बिरमा सीता दाहालको बिदाइ

पुष्पकमललाई ‘प्रचण्ड’ बनाउने सीताको महाप्रस्थान

सबैलाई मिलाउने सीताको बिदाइ

सीताको अन्त्येष्टिमा पशुपतिमा शुभचिन्तकहरूको भीड

सीता दाहाल : एक शान्त सारथि

सीता दाहालको निधनप्रति अध्यक्ष ओलीद्वारा दुःख व्यक्त

सीता दाहालको सङ्घर्षमय जीवनयात्रा

सीता दाहालको अन्त्येष्टि आजै गरिने

दाहालको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण

दाहालको अन्त्येष्टिमा राजकीय सम्मान दिइने

शोकमग्न पेरिसडाँडा

सभामुख घिमिरेद्वारा दाहालको निधनमा दुःख व्यक्त

प्रधानमन्त्री प्रचण्ड पत्नी सीता दाहालको निधन