बोमलाल गिरी
नवलपुर, वैशाख १३ गते। नवलपुरका स्थानीय पालिकाहरूले भोलि आइतबारदेखि विद्यालय सञ्चालन गर्न दबाब बढाएका छन्। तीन वटा पालिकाले विज्ञप्ति निकालेर आइतबारदेखि विद्यालय सञ्चालन गर्न आग्रह गरेका छन्।
लामो समयदेखि शिक्षक विभिन्न माग राखेर काठमाडौँमा आन्दोलन गरिरहँदा विद्यार्थीको पढ्न पाउने अधिकार हनन् भएको भन्दै कावासोती नगरपालिका, देवचुली नगरपालिका र हुप्सेकोट गाउँपालिकाले आइतबारदेखि विद्यालय सञ्चालन गर्न भनेका हुन्।
कावासोतीका नगर प्रमुख विष्णुप्रसाद भुसालले विज्ञप्ती निकालेर राष्ट्रव्यापी रूपमा भइरहेको शिक्षक–कर्मचारी आन्दोलनका कारण विद्यार्थी भर्ना, अभिलेख व्यवस्थापन र पठनपाठन कार्यमा विलम्ब भएको भन्दै यसले सिङ्गो शैक्षिक प्रणालीमा पार्न सक्ने नकारात्मक असरलाई मध्यनजर गरी भोलिदेखि विद्यालय सञ्चालन गर्न विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक सङ्घ, विद्यालय प्रशासन र शिक्षक कर्मचारीलाई आग्रह गर्नुभएको छ।
त्यस्तै देवचुली नगरपालिकाका प्रमुख हरिप्रसाद न्यौपानेले पनि लामो समयदेखि चलिरहेको शिक्षकको आन्दोलनले विद्यार्थीको पठनपाठन तथा सिङ्गो शिक्षा प्रणालीमा समेत नकारात्मक प्रभाव पर्न सक्ने भएकाले आइतबारदेखि विद्यालय सञ्चालन गरी विद्यार्थी भर्ना र पठनपाठन गराउन आग्रह गर्नुभएको छ। उहाँले शिक्षक कर्मचारीका जायज माग सम्बोधन गर्न पनि सम्बन्धित पक्षलाई आग्रह गर्नुभएको छ।
हुप्सेकोट गाउँपालिकाका अध्यक्ष लक्ष्मी पाण्डेले पनि यसअघि नै विज्ञप्ती निकालेर भोलिदेखि पठन पाठन सुरु गर्न आग्रह गर्दै विद्यालय व्यवस्थापन समिति र वडा कार्यालयबाट सुरु गरे नगरेको अनुगमन गरिने बताउनुभएको थियो।
तर शिक्षकहरूले भने आफूहरूका माग पूरा नहुँदासम्म विद्यालय सञ्चालन नगर्ने अडान लिएका छन्। नेपाल शिक्षक महासङ्घ नवलपुरका सचिव गिरिराज गिरीले आफुहरूका माग सम्बोधन नभएसम्म भर्ना अभियान र पठन पाठन सुरु हुन नसक्ने बताउनुभयो। उहाँले यो आन्दोलन शिक्षकको सेवा सुविधाका लागि मात्र नभएर समग्र शिक्षा प्रणालीको सुधारका लागि भएको भन्दै माग सम्बोधन गर्न दबाब दिने र यसबाट पर्न गएको क्षतिको बिदा कटौती गरेर परिपूर्ति गर्ने पनि बताउनुभयो।
लामो समयदेखिको शिक्षकहरूको आन्दोलनका कारण जिल्लाका सामुदायिक विद्यालयहरूको भर्ना तथा पठनपाठन प्रभावित भएको छ भने नीजि विद्यालयहरूले पठनपाठन सुरु गरिसकेका छन्। जसका कारण कतिपय अभिभावनले सामुदायिक विद्यालय छोडेर आफ्ना छोराछोरीलाई नीजि विद्यालयमा भर्ना गर्न थालेका छन्।