• १३ साउन २०८१, आइतबार

सीता दाहालको सङ्घर्षमय जीवनयात्रा

blog

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उहाँकी जीवनसँगिनी स्वर्गीय सीता दाहाल ।

काठमाडौं, असार २७ गते । सीता दाहाल वि.सं. २०११ असार २१ गते कास्की जिल्लाको हेम्जामा बुवा महेश्वर पौडेल र आमा हरिकला पौडेलको कोखबाट जन्मिनुभएको हो । सीता दाहालको २०२६ सालमा पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग विवाह भएको थियो ।

वि.सं. २०२८ सालदेखि नै कम्युनिष्ट आन्दोलनमा आबद्ध उहाँ जिल्ला, क्षेत्र र केन्द्रका विभिन्न जिम्मेवारीमा रहँदै हाल नेकपा (माओवादी केन्द्र) को केन्द्रीय सल्लाहकार हुनुहुन्थ्यो ।

पार्टी कामका लागि पञ्चायतीकालमा लामो समय भूमिगत जीवन बिताउनुभएकी सीता दाहालले देशमा जनयुद्ध सुरुवात भएपछि २०५२ सालदेखि भूमिगत राजनीतिमा सक्रिय रहँदै आउनुभएको थियो ।

सीता दाहालका बारेमा पार्टीका महासचिव देव गुरुङ भन्नुहुन्छ, ‘‘सीता दहालले जनयुद्धको समयमा  आँधीमय वर्षहरूमा सिङ्गो पार्टीको अभिभावकका रूपमा पार्टीभित्रका चुनौती, सङ्कट, विवाद समाधानका निम्ति समन्वयकारी भूमिका निर्वाह गर्नुभएको थियो । पछिल्लोसमय उहाँ पार्किन्सनजस्तो दुर्लभ रोगलगायतका रोगहरूबाट ग्रसित हुँदै आउनुभएको थियो ।’’

भरतपुर महानगरपालिका वडा नं १४ स्थायी ठेगाना भएकी दाहालका चार सन्तानमध्ये जेठी छोरी ज्ञानु दाहालको क्यान्सर र छोरा प्रकाश दाहालको हृदयाघातका कारण निधन भइसकेको छ । छोरीहरू रेनु दाहाल र गंगा दाहाल सम्पूर्ण रूपले देश र जनताको मुक्ति र परिवर्तनका निम्ति समर्पित रहँदै आउनुभएको जानकारी पनि महासचिव गुरुङले दिनुभएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालको आज बिहान निधन भएको हो भने उहाँको पशुपति आर्यघाटमा आजै अन्त्येष्टि गरिने भएको छ ।


यो पनि पढ्नुहोस

सीता दाहालको अन्त्येष्टि आजै गरिने

प्रधानमन्त्री प्रचण्ड पत्नी सीता दाहालको निधन