• १३ वैशाख २०८१, बिहिबार

दाहालको अन्त्येष्टिमा राजकीय सम्मान दिइने

blog

प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का स्वर्गीय धर्मपत्नी सीता दाहाल । तस्बिर : मनोजरत्न शाही

गोरखापत्र अनलाइन

काठमाडौं, असार २७ गते । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का धर्मपत्नी सीता दाहालको असामयिक निधनप्रति मन्त्रिपरिषद् बैठकले शोक प्रकट गर्दै श्रद्धाञ्जलि अर्पण गरेको छ । 

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माद्वारा आज जारी शोक वक्तव्यमार्फत शोक प्रकट गरिएको जनाइएको छ । माओवादी केन्द्रकी केन्द्रीय सल्लाहकार समिति सदस्यसमेत रहनुभएकी स्वर्गीय दाहालको निधनले प्रधानमन्त्री दाहाल परिवारका सदस्यप्रति बैठकले समवेदना प्रकट गरेको छ । दिवंगत दाहालको अन्त्येष्टिमा राजकीय सम्मान दिने बैठकले निर्णय गरेको छ । 

मन्त्री शर्माद्वारा जारी शोक वक्तव्यमा भनिएको छ, “यस दुःखद घडीमा सम्माननीय प्रधानमन्त्रीज्यू, शोकसन्तप्त परिवारजन र शुभेच्छुकप्रति हार्दिक समवेदना प्रकट गर्दछ ।”

वि.सं. २०२८ सालदेखि नेपाली कम्युनिष्ट आन्दोलनमा आबद्ध रही समाज रुपान्तरणका लागि भएका आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएकी ६९ वर्षीय स्वर्गीय दाहालको निष्ठा, त्याग र सङ्घर्षमय जीवनका उदाहरणीय पक्षलाई आत्मसात् गर्न सकेमा उहाँप्रति सच्चा श्रद्धाञ्जलि हुने शोक वक्तव्यमा उल्लेख छ ।

मन्त्री शर्माद्वारा जारी शोक वक्तव्यमा भनिएको छ, “बैठकले दिवंगत दाहालको अन्त्येष्टिको समयमा राजकीय सम्मानस्वरुप नेपाली सेनाको दुई सेनामुख, स्कर्टपति सहसेनानीको टुकडीद्वारा सलामी दिने व्यवस्था मिलाउने निर्णय गरेको छ ।”