• ५ चैत २०८२, बिहिबार

भ्रष्टाचार अन्त्य मुख्य कार्यसूची

blog

अस्मिता पोखरेल 

धादिङबेँसी, चैत ५ गते   । धादिङ क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित आशिका तामाङ परिवर्तनको प्रतीकका रूपमा हेरिन थाल्नुभएको छ । मोबाइल, क्यामरा बोकेर सडकमा बेथिति खोज्दै हिँड्ने उहाँ आमनागरिकको भरोसा बोकेर संसद्मा प्रवेश गर्दै हुनुहुन्छ । तामाङले सुशासन स्थापना गर्दै भ्रष्टाचार अन्त्य गर्ने मुख्य एजेन्डासहित काम गर्ने बताउनुहुन्छ । “भाषणभन्दा काममा विश्वास गर्छु,” उहाँ भन्नुहुन्छ, “म काम गर्न आएको हुँ, नागरिकको आशा र भरोसा मर्न दिने छैन ।” 

गफ र भाषणभन्दा परिणाममुखी काममार्फत जनताको अपेक्षा पूरा गर्ने आफ्नो प्राथमिकता रहने उहाँको भनाइ छ । तामाङले धादिङ हाल आर्थिक सामाजिक सूचकाङ्कमा ५२ औँ स्थानमा रहनुको प्रमुख कारण कुशासन र भ्रष्टाचार रहेको उल्लेख गर्दै यसलाई सुधार्न आफूले सक्दो प्रयास गर्ने बताउनुहुन्छ । सरकारी सेवामा पूर्ण डिजिटल प्रणाली लागु गरी खर्च विवरण नागरिकले मोबाइलमै हेर्न सक्ने ‘पारदर्शी ड्यासबोर्ड’ निर्माणमा पहल गर्ने उहाँको योजना छ ।

उहाँले शिक्षा, खेलकुद, उद्यमलाई एकीकृत गर्दै धुनीबेँसी र थाव्रmे क्षेत्रका शैक्षिक संस्थामा कृषि, पर्यटन र सूचना प्रविधिसम्बन्धी सिपमूलक तालिम अनिवार्य बनाउने योजना बनाउनुभएको छ । “अध्ययनसँगै आम्दानी कार्यव्रmममार्फत विद्यार्थीलाई आत्मनिर्भर बनाउने र युवाका लागि सहुलियत ऋण तथा स्टार्टअप इन्क्युबेसन केन्द्र स्थापना गर्ने लक्ष्य छ,” उहाँ थप्नुहुन्छ, “कृषि क्षेत्रमा ‘मेड इन धादिङ’ अभियान सञ्चालन गर्दै मल, बिउ र बिमाको सहज व्यवस्था गरिने छ ।”

स्थानीय उत्पादनलाई बजारसँग जोड्न सङ्कलन केन्द्र र कोल्ड स्टोरेज स्थापना गर्ने र धुनीबेँसी, थाव्रmे, गल्छी, गजुरी र बेनीघाट–रोराङ क्षेत्रमा पर्यटन पूर्वाधार विकास गरी ‘विकेन्ड हब’ तथा -याफ्टिङ पर्यटन प्रवर्धन गर्ने योजना पनि उहाँले सुनाउनुभयो ।

तामाङले सुरक्षित सडक सञ्जाल, खानेपानी र सिँचाइ विस्तार, जोखिमयुक्त बस्ती व्यवस्थापन तथा एकीकृत आवास कार्यव्रmम लागु गर्ने बताउनुभयो । स्वास्थ्य क्षेत्रमा प्रत्येक पालिकामा टेलिमेडिसिन सेवा र विकट क्षेत्रमा मोबाइल स्वास्थ्य सेवा सञ्चालन गर्ने, पृथ्वी राजमार्ग क्षेत्रमा अत्याधुनिक ट्रमा अस्पताल स्थापना गरी उपचारलाई छिटो सेवा लिने अवस्था सिर्जना गर्ने, आमाशिशु स्वास्थ्य, ज्येष्ठ नागरिक सेवा र सामाजिक सुरक्षालाई पनि प्राथमिकतामा राखिएको बताउनुभयो । 

निर्वाचन क्षेत्रका समस्या र अधुरा आयोजनाबारे संसद्मा सशक्त आवाज उठाउने प्रतिबद्धता जनाउँदै तामाङले जनतासँग प्रत्यक्ष संवाद गर्ने स्थायी संयन्त्र विकास गर्ने बताउनुभयो । २०४५ कात्तिक १ मा धादिङको मलेखुमा जन्मिएकी तामाङको पृष्ठभूमि राजनीतिक थिएन । कलाकारिताबाट सार्वजनिक जीवन सुरु गरेकी उहाँ पछि सामाजिक अभियन्ताका रूपमा स्थापित हुनुभयो । ‘ग्रिन एन्ड क्लिन आशिका फाउन्डेसन’ स्थापना गर्दै सरसफाइ, उपभोक्ता अधिकार र सामाजिक न्यायका अभियान चलाउँदै सामाजिक सञ्जालमा निकै लोकप्रिय बन्नुभयो । 

पानी, खाद्यवस्तुमा बढी मूल्य असुली, सार्वजनिक स्थानको अव्यवस्था जस्ता विषयमा उहाँले खुलेर आवाज उठाउनुभयो । जेनजी आन्दोलनका घाइतेलाई सहयोग गर्दै अग्रपङ्क्तिमा उभिएपछि उहाँलाई धेरैले ‘राष्ट्रिय दिदी’ को उपनामसमेत दिएका थिए ।

धादिङ–१ मा तामाङले ३९ हजार १२८ मत प्राप्त गर्दै विजय हासिल गर्दा निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का भूमि त्रिपाठीले १५ हजार ३२ मत प्राप्त गर्नुभयो । नेपाली कम्युनिस्ट पार्टीका राजेन्द्रप्रसाद पाण्डेले १४ हजार ७०९ र नेपाली कांग्रेसका कृष्णप्रसाद रिजालले १० हजार ८० मत प्राप्त गर्नुभयो ।