• १३ साउन २०८१, आइतबार

सीता दाहालको निधनले पार्टी र राष्ट्रका लागि अपूरणीय क्षति : माओवादी केन्द्र

blog

नेकपा (माओवादी केन्द्र)को पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा ।

काठमाडौं, असार २७ गते । नेकपा (माओवादी केन्द्र)ले  प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की जीवनसँगिनी तथा पार्टी केन्द्रीय सल्लाहकार सीता दाहालको निधनले पार्टी, जनता र राष्ट्रका लागि अपूरणीय क्षति भएको जनाएको छ ।

सीता दाहालको बुधबार बिहान ८ः३३ बजे नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

बुधबार पार्टीका महासचिव देवप्रसाद गुरुङले शोक वक्तव्य जारी गर्नुहुँदै सीता दाहालको निधनले सिङ्गो पार्टी स्तब्ध भएको जनाउनुभएको छ ।

शोक वक्तव्यमा भनिएको छ, ‘‘कमरेड सीता दाहालको निधनबाट पार्टी, जनता र राष्ट्रका लागि अपूरणीय क्षति भएको छ । उहाँले नेपालको कम्युनिष्ट आन्दोलनमा अत्यन्त महत्वपूर्ण र अविस्मरणीय योगदान पुर्याउनुभएको छ । सिद्धान्तप्रतिको निष्ठा, उन्नत राजनीतिक चेतना, पार्टी, जनता र राष्ट्रप्रतिको निःस्वार्थ एवम् असीमित समर्पण उहाँका लागि विशेषता हुन् । उहाँ आफ्ना योगदानमार्फत चिरकालसम्म स्मरणीय र भावी पुस्ताका लागि प्रेरणाको स्रोत रहनुहुनेछ ।’’

विसं २०२८ देखि नै कम्युनिष्ट आन्दोलनमा आबद्ध उहाँ जिल्ला, क्षेत्र र केन्द्रका विभिन्न जिम्मेवारीमा रहँदै हाल माओवादी केन्द्रको सल्लाहकार हुनुहुन्थ्यो । पार्टीको कामका लागि पञ्चायतकालमा लामो समय भूमिगत जीवन बिताउनुभएकी दाहाल देशमा जनयुद्ध सुरुआत भएपछि २०५२ सालदेखि भूमिगत राजनीतिमा सक्रियरूपमा सहभागी हुनुभएको थियो ।

जनयुद्धका समयमा सिङ्गो पार्टीको अभिभावकका रूपमा उहाँले पार्टीभित्रका चुनौती, सङ्कट, विवाद समाधानका निम्ति समन्वयकारी भूमिका निर्वाह गर्नुभएको थियो । पछिल्लो समय उहाँ पार्किन्सनलगायत रोगबाट पीडित हुनुभएको थियो ।

चितवनको भरतपुर महानगरपालिका–१४ स्थायी ठेगाना भएकी दाहालका चार सन्तानमध्ये जेठी छोरी ज्ञानुको क्यान्सर र छोरा प्रकाशको हृदयाघातका कारण निधन भइसकेको छ । छोरी रेनु र गङ्गा राजनीतिमै सक्रिय हुनुहुन्छ ।

कमरेड सीता दाहालले देश र जनताको मुक्ति एवम् परिवर्तनका निम्ति खेल्नुभएको योगदानको उच्च सम्मान गर्दै सिङ्गो पार्टी उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ ।

साथै प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष कमरेड प्रचण्ड लगायत परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै धैर्यधारणका लागि आम जनसमुदायमा हार्दिक अपिल गरिएको शोक वक्तव्यमा लेखिएको छ ।

स्वर्गीय दाहालको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि आज बिहान ११ देखि १ बजेसम्म पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा र दिउँसो २ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने कार्यक्रम रहेको छ ।




यो पनि पढ्नुहोस

सीता दाहालको सङ्घर्षमय जीवनयात्रा

सभामुख घिमिरेद्वारा दाहालको निधनमा दुःख व्यक्त

सीता दाहालको अन्त्येष्टि आजै गरिने

प्रधानमन्त्री प्रचण्ड पत्नी सीता दाहालको निधन