• १४ वैशाख २०८२, आइतबार

एक अर्ब ५२ करोड बढीको खानेपानी योजना

blog

सन्तोष सुवेदी

कास्की, वैशाख १४ गते । पोखरा महानगरपालिकाको काँहुडाँडा, कृस्ति, भरत पोखरी, निर्मलपोखरी र मट्टीखान लगायत क्षेत्रका बासिन्दाहरूलाई स्वच्छ पिउने पानीको उपलब्धताका लागि लागत साझेदारीमा परियोजना सञ्चालन गर्ने गरी त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

पोखरा २१ र ३३ लाई समेट्ने गरी नेपाल सरकारको केन्द्रीय खानेपानी आयोजना अन्तर्गत बृहत् भरत पोखरी, निर्मलपोखरी, कृस्ति खानेपानी आयोजना, मट्टीखान खानेपानी आयोजना पोखरा २१ र जलवायु अनुकूलित आयोजना अन्तर्गत काँहु धरहरा खानेपानी आयोजना पोखरा ११ को निर्माण, सञ्चालन र कार्यान्वयन सम्बन्धमा त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

नगर प्रमुख धनराज आचार्य र सिनियर डीभिजनल इन्जिनियर कुलप्रसाद पौडेल लगायतको रोहबरमा गरिएको समझदारी पत्रमा नेपाल सरकारको तर्फबाट सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना पोखराका का.मु आयोजना प्रमुख पदमबहादुर कुँवर क्षेत्री, पोखरा महानगरपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाई र खानेपानी उपभोक्ता समितिका तिनै जना अध्यक्षहरूले हस्ताक्षर गर्नुभएको हो ।

बृहत् भरत पोखरी, निर्मलपोखरी, कृस्ति खानेपानी आयोजना निर्माणका लागि ५१ करोड ७७ लाख ७६ हजार २०२ रुपियाँ कुल लागतमध्ये पहिलो चरणमा अर्थ मन्त्रालयबाट २८ करोड ४९ लाख ९१ हजार ८२८ स्रोत सुनिश्चित भई कार्यान्वयनको चरणमा पुगेको छ । 

यस्तै काँहु धरहरा खानेपानी आयोजनाका लागि कुल ४९ करोड १७ लाख १७ हजार ६०३ रुपियाँमध्ये २१ करोड ६ लाख २४ हजार १४० रुपियाँ र मट्टीखान खानेपानी आयोजनाको कुल २८ करोड ५४ लाख ६५ हजार १७३ रुपियाँमध्ये १९ करोड ७६ लाख ४१ हजार ८७६ रुपैयाँको अर्थ मन्त्रालयले स्रोत सुनिश्चित गरेको छ । 

समझदारी अनुसार स्रोत सुनिश्चित भई कार्यान्वयनमा गइसकेपछि चालु आ.वमा पोखरा महानगरपालिकाले त्यसको १० प्रतिशत रकम बेहोर्ने छ । तीन वटै परियोजनाको कुल लागत १ अरब ५२ करोड ७२ लाख ७० हजार ७ रुपियाँ लाग्ने अनुमान गरिएको छ । परियोजनाको कुल लागतको ९० प्रतिशत सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले बेहोर्ने छ ।

बृहत् भरत पोखरी, निर्मलपोखरी, कृस्ति खानेपानी आयोजना अन्तर्गत पोखरेल थोकमा निर्माणाधीन अत्याधुनिक पानी प्रशोधन केन्द्रमा पानी सङ्कलन तथा प्रशोधन गरी १७ किमी सिमलेस सहित ३५ किमी पाइपमार्फत उपोक्ताहरूको घरघरमा पानी पुर्‍याइने छ । यस आयोजनाबाट करिब २४ सय घरधुरी लाभान्वित हुने उपभोक्ता समितिका अध्यक्ष दाताराम आचार्यले बताउनुभयो । 

यस आयोजनामा दुई सय, एक सय, ७५, ५० र २० घन मिटरका ११ वटा पानी ट्याङ्कीहरू निर्माण हुने छन् । यस्तै काँहु धरहरा खानेपानी आयोजना अन्तर्गत काँहुमा प्रशोधन केन्द्र निर्माण गरी १७ किमी पाइपलाइन मार्फत उपभोक्ताको घरघरमा पानी पुर्‍याइने छ । करिब १५ सय घरधुरी लाभान्वित हुने यो आयोजना अन्तर्गत ३ सय घन मिटर एक र १ सय घन मिटरका २ वटा ट्याङ्कीहरू निर्माण गरिने छ । मट्टीखान खानेपानी योजना अन्तर्गत सेतिखोलाबाट शम्पवेल मार्फत पानी पम्पिङ गरी फेदीखोला गाउँपालिकाको नुवाकोटमा पानी सङ्कलन गरी मट्टीखान क्षेत्रमा वितरण गरिने छ । ३५ किमी पानीको पाइपलाइन विस्तार हुनेछ । विभिन्न स्थानमा १५० र ३५ धनमिटर क्षमताका ८ वटा पानी ट्याङ्कीहरू मार्फत आयोजनाले १२ सय घरधुरीलाई पानी वितरण गर्ने छ ।

चालु आर्थिक वर्षबाटै योजना सञ्चालन गर्ने गरी सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले २०८१ फागुन ८ गते सार्वजनिक टेन्डर समेत आह्वान गरिसकेको छ । आयोजनाको पोखरा कार्यालय प्रमुख कार्यान्वयन एकाइ रहेको यी आयोजना सम्पन्न भएपछि ५ हजार घरपरिवार प्रत्यक्ष रूपमा लाभान्वित हुने छन् । आयोजना कार्यान्वयन भएको मितिले ३० महिना भित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ। यी आयोजनाहरू एक घर एक धाराको अवधारणामा सञ्चालन हुने छन् ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले नगरवासीहरूलाई आधारभूत खानेपानीको उपलब्धताका लागि आफूहरू क्रियाशील रहेको बताउनुभयो । नगर क्षेत्रमा सङ्घ, प्रदेश र महानगर स्तरीय विभिन्न आयोजनाहरू सञ्चालन गरी उपभोक्ताहरूलाई स्वच्छ र सफा पिउने पानीको व्यवस्था गर्न आफूहरू निरन्तर लागिरहेको उहाँले बताउनुभयो । ‘‘पोखरा महानगरपालिकाको भूगोल विविधतायुक्त छ, यहाँ समथर मैदानदेखि अग्ला पहाडी भेगहरू छन्, सबै स्थानमा खानेपानीको सहज उपलब्धता हुन नसकिहरेका बेला पछिल्लो पटक निकै ठुलो मिहिनेतका साथ हामी यी आयोजनाहरू सञ्चालन गर्ने क्रममा आइपुगेका छौँ,’’ उहाँले भन्नुभयो ।

पानीको महसुल बुझाउन समेत मुस्किल पर्ने उपभोक्ताहरूलाई जनसहभागिता बापतको रकम महानगरपालिकाले तिरिदिने भएपछि उपभोक्ताहरूमा उत्साह थपिएको समितिका अध्यक्षहरूले प्रतिक्रिया दिएका छन् । ‘‘पोखरा महानगरपालिकाले असल अभिभावकत्वको आभास दिलाएको छ । महानगरले जनताको दुःखमा सारथीको काम गरेको छ,’’ बृहत् भरत पोखरी, निर्मलपोखरी, कृस्ति खानेपानी आयोजना उपभोक्ता समितिका अध्यक्ष दाताराम आचार्यले भन्नुभयो ।