जीवछ यादव
लहान, वैशाख १४ गते । कञ्चनपूर–कमला चार लेन सडक निर्माण कार्यलाई गति दिन लहानको मूख्यचोकमा रहेको सहिद पार्कमा रहेको मधेश आन्दोलनमा सहादत प्राप्त गरेका सहिदहरूको सालिक व्यवस्थापन गर्न माग गरिएको छ ।
सहिदहरू रमेश महतो, विजय सहनी, प्रमोद सदा, बेचन यादव र मोहम्मद अनिस अन्सारीको सालिक उचित ठाउँमा सम्मानपूर्वक व्यवस्थापन गर्न जनता समाजवादी पार्टी लहानले माग गरेको हो ।
लहान नगर अध्यक्ष राम उदगार महतोले पत्रकार सम्मेलन गरी २०८० जेठ २९ गते सहिद सालिकलाई व्यवस्थापन गर्न लहान नगरपालिका प्रमुख महेशप्रसाद चौधरीको अध्यक्षतामा प्रदेशसभाका सदस्यहरू क्रमशः राजेन्द्रप्रसाद चौधरी, राजकुमार गुप्ता ललिता दास, नेपाली कांग्रेस नगर सभापति शीतल चौधरी, नेकपा (एमाले) लहान नगर अध्यक्ष राजकुमार साह, नेकपा (माओवादी केन्द्र) लहान अध्यक्ष हेमन्तकुमार यादव जिल्ला समन्वय समिति सिराहा प्रमुख दिनेश महतोलगायतका सरोकारवालाको सर्वपक्षीय बैठकबाट सहिद पार्क रहेको स्थानदेखि दुई सय मिटर दक्षिण तरकारी बजारमा स्थापना गर्ने निर्णयमा सहमति भएको जानकारी गराउनुभयो ।
उहाँका अनुसार सहमति भएको स्थानमा स्थानीयहरूले हनुमानको मन्दिर र हनुमानको मूर्ति स्थापना गरिदिएकाले सडक निर्माण कार्यलाई गति दिन सहिदका सालिक व्यवस्थापन गर्ने नाउँमा अपमानित हुने गरी कुनै ठाउँमा राखिदिएमा मान्य नहुने निर्णयमा जनता समाजवादी पार्टी पुगेको छ ।
लहान नगरपालिका प्रमुख महेशप्रसाद चौधरीले हनुमान मन्दिरको दक्षिणपट्टि सहिद सालिक राख्न भएको भद्र सहमतिअनुसार राख्न लहान नगरपालिका अघि बढ्दा अवरोध सिर्जना भए सहिदको सालिकलाई सहमतिमा उपयुक्त ठाउँमा व्यवस्थापन गरेर विकास कार्यमा कुनै अवरोध नआउने गरी व्यस्थापनमा लागि परेको प्रष्ट पार्नुभयो ।
कञ्चनपुर–कमला सडकखण्ड अन्तर्गत कुशहा कमला सडकखण्डको सडक विभाग मिर्चैयाका सूचना अधिकारी इन्जिनियर सरोज कोइरालाको अनुसार मिर्चैयामा ओभरपास निर्माण कार्यका लागि चाहिने २४ वटा पाइल फाउन्डेसनमध्ये १६ वटा तयार भइसकेको छ ।
लहानको मूख्यचोकमा रहेको सहिदपार्क नहट्दा अहिलेसम्म एउटा पनि पाइल फाउन्डेसन निर्माणको कार्य सुरु भएको छैन । दुई चार दिनमै सहिद पार्क खाली भएन भने कार्यमा ढिलाइ हुने भएकाले यसका लागि निरन्तर लहान नगरपालिकाको ध्यान आकर्षित गराइरहेका छौं ।
सप्तरीको कुशहादेखि कम्लासम्मको ४७.४१ किलोमिटर निर्माण कार्य हेर्ने कञ्चनपुर–कमल पश्चिम खण्ड मिर्चैयाका सूचना अधिकारी कोइरालाका अनुसार यस खण्डको प्रगति विवरण ६० प्रतिशत काम सम्पन्न भइसकोको छ ।