काठमाडौं, असार २६ गते । राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत १९औँ एसियाली खेलकुद सचिवालयको आयोजनामा खेलाडी तथा प्रशिक्षकलाई लक्षित गरी एन्टी डोपिङ कक्षा मंगलबारदेखि सुरु भएको छ । तीनदिने कक्षा सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरसमा सुरु भएको हो ।
एसियाली खेलकुद (एसियाड) मा नेपालले सहभागिता जनाउने विभिन्न २९ खेललाई तीन भागमा विभाजन गरी तीन दिनसम्म कक्षा सञ्चालन गरिने छ । सहभागीलाई औषधिको प्रयोग, डोपिङको विधि, डोपिङको आवश्यकता, प्रशिक्षणको अवस्थामा रहेका खेलाडीले प्रयोग गरिहरेको औषधि, वाडाको नियमलगायत विषयमा जानकारी गराइने छ ।
दक्षिण एसियाली एन्टी डोपिङ ओर्गनाइजेसनका बोर्ड सदस्य डा. ज्ञानेन्द्र शाह, नेपाल ओलम्पिक कमिटीअन्तर्गत एन्टी डोपिङ कमिटीका संयोजक डा. नविसमान सिंह प्रधान र विज्ञ डा. सुसन वैद्यले सहभागीलाई एन्टी डोपिङ सम्बन्धी जानकारी दिनुहुनेछ ।
कार्यक्रमको युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले एक कार्यक्रमबीच उद्घाटन गरे । सोही अवसरमा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले १९औँ एसियाली खेलकुदमा नेपालले सहभागिता जनाउने विभिन्न २९ खेलका खेलाडी तथा प्रशिक्षकलाई किट्स पनि हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रममा राखेपका उपाध्यक्ष शिव कोइराला, सदस्य सचिव टङ्कलाल घिसिङलगायतको उपस्थिति रहेको थियो ।