• ९ मंसिर २०८१, आइतबार

निरन्तर सिर्जनशील

blog

एकनासले यौनकेन्द्रित बनेर नेपाली साहित्यमा दिएको योगदान सम्झने हो भने पुष्कर लोहनीलाई उछिन्ने सायदै भेटिएलान् । यौनकेन्द्रित लेखनले अलग रूपमा चिनाएको मात्र हो, बैँसालु उमेरमा थालेको यात्रा उमेर चढ्दै गएपछि पनि निरन्तर छ लेखन । खोज र समालोचनाका सन्दर्भमा उल्लेख्य व्यक्तित्व मानिएको उहाँले अचेल त्यतातिरभन्दा अन्यत्र बढी कलम चलाउन थाल्नुभएको छ । यता केही वर्षदेखि साहित्यमा समालोचना, खोजभन्दा बढी तान्का, हाइकु, चोका, कटौतामा केन्द्रित लेखनले पुष्कर लोहनीको पहिलेको व्यक्तित्व ओझेल परेको छ । पुरानादेखि नयाँ पुस्तासम्मका कृति बजारमा आएपछि त्यसलाई पढ्ने र मिलेसम्म कलम चलाउने जाँगर पनि उस्तै छ । अध्ययनमा कुनै सीमितता छैन, भेटेसम्म खोजेर, किनेर पढ्ने बानी छ तर लेखनमा अलि भिन्न । जे लेखे पनि यौनलाई छाड्नुहुन्न उहाँ  । एक किसिमको लगाव छ । दाबी पनि छ– नेपाली साहित्यमा यौन अभिव्यक्तिको पृष्ठभूमिलाई ध्यानमा राखेर अध्ययन गर्नुका साथै आधुनिक जीवनमा विभिन्न पक्षमा देखापरेका विकृतिलाई विम्ब र प्रतीकको माध्यमद्वारा उतार्ने काममा हात हालिरहेको छु । यौन मानिसको स्वाभाविक प्रकृति हो । त्यही प्रकृतिलाई कथा र कविताको माध्यमद्वारा आफ्नो परिवेशअनुसार अध्ययन गरेर लेख्दै आएको छु । आधुनिक जीवनमा विभिन्न किसिमका वातावरणले प्रभाव पारेको हुन्छ । 

चहकदार मइन्टोल र पिलपिले लालटिन उहाँको समालोचनाको कृति, अध्ययनले खारिएर हक्की स्वभावले लेखनलाई साथ दिएपछि पुष्कर लोहनी गहन र खोजमूलक समालोचनामा पनि त्यत्तिकै सफल नाम हो । नेपाली साहित्यमा अध्ययनको कमी र कम लेखेर बढी चर्चामा आउनेहरूको जगजगीप्रति उहाँ असन्तुष्ट हुनुहुन्छ । जसले जुन विधामा लेखे पनि लेखेको कुरामा बहस गर्नसक्ने तागत हुनुपर्छ, पर्याप्त अध्ययन हुनुपर्छ भन्ने मान्यता राख्ने उहाँ अल्पज्ञान भएका र संस्थागत मान्यताले थिचिएका व्यक्तिहरूको पञ्जाबाट साहित्यलाई छुट्कारा नदिउनजेल उच्च स्तरीय साहित्य निस्कन नसक्ने दाब्ी गर्नुहुन्छ  । अध्ययनशील साहित्यकारहरूले आफ्नो युगीन परम्परालाई एकातिर विकास गर्दै आएका छन् भने अर्कोतिर सङ्कीर्ण तथा परम्परावादी साहित्यकारहरूले अध्ययनशील तथा प्रतिभाशाली साहित्यकारहरूलाई थिच्ने र दबाउने काम गरिरहेको आरोप पनि छ उहाँको । 

काठमाडौँको डिल्लीबजार घट्टेकुलोमा लोहनीहरूको घर प्रशस्त भेटिन्छन्, त्यही स्थानमा उहाँकोे घर पहिल्याउँदै गएर कुरा गर्ने हो भने पुष्कर लोहनीको अध्ययन, विद्वता, हक्की स्वभाव सबै देखिन्छ । आफ्नै स्वभावले नेपाली साहित्यमा पछि पारिएको दुखेसो छ उहाँको । उहाँको पिताजी होमप्रसाद लोहनी पनि यसै भन्नुहुन्थ्यो रे– बोली र लेखनमा नियन्त्रण गर्ने हो भने पुष्कर धेरै माथि पुगिसक्थ्यो । 

अरूले भनेको कुरामा उहाँ पनि सहमत हुनुहुन्छ– देखेको, बुझेको, जानेको कुरा भनिदिन्छु, लेखिदिन्छु, धेरैलाई त्यो मन पर्दैन । त्यसैले मलाई पछि पारे । मैले लेख्न थाल्दा कलम पनि नचलाएकाहरू पुष्कर लोहनीले पछि पार्ने भो भन्ने ठानेर आफू पदमा हुँदा सकेसम्म मलाई अघि बढ्न दिएनन, न त कुनै अवसर नै दिए । म लेखनमा नयाँ नयाँ प्रयोग गर्न रुचाउँछु, एकनासको लेखन त्यति रुचिकर लाग्दैन । उमेर बढ्दै गए पनि गर्नुपर्ने काम र लेख्नुपर्ने कुरा सम्झ्यो भने अत्यास लाग्छ । लेखनमा सधैँ सहयोगको भावना देखाउने जीवनसङ्गिनी महालक्ष्मी लोहनीतर्फ सङ्केत गर्दै उहाँ भन्नुहुन्छ– मेरो लेखनको प्रेरणा, पहिलो पाठक र सहयोगी ऊ नै हो ।

धेरैको आलोचना, कमको प्रशंसा मात्र गर्नुहुन्छ भन्ने आरोपका सन्दर्भमा पनि उहाँको स्पष्टोक्ति छ– म अध्ययन र निष्पक्ष भएर मूल्याङ्कन गर्छु, आफूलाई सही लागेको कुरा, अध्ययन र तथ्यले भनेको कुरा लेख्न  र बोल्न किन पछि पर्ने ? मलाई यसरी लेख्दा सन्तुष्टि मिल्छ । लागेको कुरा अभिव्यक्त गर्न केको डर ? कसको डर ? के नै गर्लान् र हद गरे नलेख भन्लान्, नभए लगेर थुन्लान् । त्यसको पनि डर छैन । पेन्सन आइहाल्छ, घरको बहाल आउँछ म त ढुक्क छु । खराब कसैको गरेको छैन । साहित्यको यथार्थ र अध्ययनले देखेको, सर्जकले लेखेको कुराबारे मेरो समालोचना हो, मेरो दृष्टिकोण हो । यसमा गाली, असन्तुष्टि भन्ने त कुरै आएन ।   

कान अलि टाठा हुँदा हुन त पुष्कर लोहनीलाई ८५ टेकेको मान्छे भनेर हम्मेसी पत्याउँदैनन् । उमेर बढ्दै गएपछि पनि स्वभाव उस्तै छ, देखेको कुरा लेखिहाल्ने, भनिहाल्ने । जे लेखे पनि त्यसको बारेमा पर्याप्त अध्ययन गरेर लेख्नुहुन्छ, लेख्नका लागि, रहर गरेर लेख्ने लेखक होइन उहाँ । समालोचना लेख्दा वा कुनै कुराको आलोचना गर्दा पनि पर्याप्त अध्ययन गर्नुहुन्छ । अध्ययनले खारिएको साहित्यकारमा दरिनुहुन्छ उहाँ । २०१६ देखि यौनमा केन्द्रित उहाँ आफूलाई यौनवादी लेखक भन्न रुचाउनुहुन्छ र चिनारी पनि यही हो । उमेरले आठ दशकको नेटो काटिसक्दा पनि सव्रिmय, प्यारी नामक हाइकु सङ्ग्रह, कौडीको दोस्रो संस्करण, ध्यान कविताको एउटा कृतिको प्रकाशनको चाँजोपाजो मिलाउँदै हुनुहुन्छ । यसो त चिनारीका अनेक पाटा छन्, व्यक्तित्वका अनेक पाटा छन् । कलम र चक घोटेर बितेको जीवनमा उल्लेख गर्नुपर्ने कुराको सूची लामै छ उहाँसँग, अङ्कित मात्र गर्ने हो उहाँले, त्यसको लेखाजोखा गर्ने त अरूले हो । लेखाजोखा गर्नेहरू उहाँको लेखनभन्दा स्वभावमा बढी केन्द्रित बनिदिन्छन्, पन्छिन्छन् । उहाँकै शब्दमा भन्नुपर्दा पर्याप्त अध्ययन र बुझेको कुरा भन्ने हो लेख्ने हो, अध्ययन नै नगरेकाले बुझ्नु पनि त प¥यो नि । छ कसैको तागत ?

१३–१४ वर्षको उमेरदेखि नाटक लेखेर साहित्यमा चासो राख्ने उहाँको कथा पहिलो रचना बनेर २०१६ सालमा प्रकाशमा आयो ज्योतिमा । पुख्र्यौली थलो नुवाकोट छाडेर १३ वर्षको उमेरमा काठमाडौँ आएपछि काम विशेषले, समय सन्दर्भमा मात्र नुवाकोट पुग्नुहुन्छ उहाँ । सुरुका दिन काठमाडौँको धोबीचौर  अनि डिल्लीबजारमा बसेरै पुष्कर लोहनीले आफूलाई चिनाउनुभयो विविध माध्यमले, ठडिनुभयो साहित्यकारका रूपमा । चहकदार मइन्टोल र पिलपिले लालटिन (२०३७), पाँच सय वर्ष सुन हो कि घुन (२०३९, भट्ट मोतीराम भट्ट (२०६४, मसलाको रुख (प्रकाशोन्मुख)–समालोचना, धरहराको टुप्पो कथासङ्ग्रह, अदृश्य मान्छे–उपन्यास, कौडी (२०४०), कविता सङ्ग्रह, जूनको छाया, प्रेम प्रणय कटौता सङ्ग्रह पीपलबोट चोका सङ्ग्रह, चौतारी हाइकु सङ्ग्रह, केराको थाम तान्का सङ्ग्रह–संयुक्त लेखन उहाँका प्रकाशित कृतिका सूची हुन । अचेल ध्यान कवितामा ध्यान केन्द्रित गर्नुभएका पुष्कर लोहनीले साहित्यिक पत्रकारितामा सम्पादन र स्तम्भ लेखनका माध्यमबाट पनि योगदान दिनुभयो । बगैँचा (साहित्यिक २०१८, नयाँ कविता (कवितामूलक २०२१, विम्ब (कथामूलक २०२६), महामण्डल (साहित्यिक) पत्रिकाको सम्पादनमा संलग्न उहाँले तरुण साप्ताहिकमा लामो समय स्तम्भ लेख्नुभयो । 

पुख्र्यौली थलो नुवाकोट छाडेर १३ वर्षको उमेरमै काठमाडौँ आएपछि पुष्कर लोहनीले नदुखेको टाउको डोरीले बाँधेर दुखाए जस्तै दुःख र सङ्घर्षका दिन सुरु गर्नुभयो । हुनेखाने परिवारमा जन्मिए पनि काठमाडौँ आएपछि आर्थिक जोहोका लागि कलिलो उमेरमै हालखबर पत्रिकामा आबद्ध हुनुभयो । महिनाको सय रुपियाँ तलब खानेगरी काम थालेर पत्रकारिता जीवनको आरम्भ गर्ने उहाँको जीवनमा धेरै अवसर आए पनि बुवाको रुचि नभएकाले अवसरहरू छाड्दै जानुप¥यो उहाँले । कारणवश हालखबर बन्द भएपछि यसमा कार्यरत पत्रकार सम्पादक सबै गोरखापत्रमा जोडिने अवसर पनि आएको थियो, यहाँ पनि उहाँले बुवाका कारण जागिर खान रुचाउनु भएन । बृहस्पति स्कुल खोलेर प्रिन्सिपल बन्नुभएका उहाँले आफ्नै घरमा अर्किड न्यासनल स्कुल खोलेर चलाउनुभयो । २०३५ देखि २०५८ सम्म त्रिचन्द्रमा पढाएर पनि बस्नुभयो । प्रेस चलाएर व्यवसाय पनि गर्नुभयो । यीबाहेक अवसर त धेरै आए उहाँका जीवनमा तर समयले साथ नदिएकाले अवसरलाई गुमाउनुप¥यो । अवसर गुमे वा उहाँले चाहनुभएन त्यो अलग कुरा हो, लेखनमा पुष्कर लोहनी एकनासले लागिरहनुभएको छ । मेरो कुनै स्वार्थ छैन, लेखन नै मेरो कर्म हो भन्दै लेखनको अवसरबाट चाहिँ कहिले टाढिनु भएन ।  

Author

जय भट्टराई