• २१ वैशाख २०८१, शुक्रबार

चुरे चहार्दै जनकपुरधामका प्रमुख

blog

ढल्केबर समाचारदाता

ढल्केबर, असार २३ गते । जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साह चुरे तथा भावर क्षेत्र चहार्दै हिँड्नुभएको छ। मङ्गलबार उहाँ चुरे क्षेत्र जलाद खोलाको सिरान भेटिनु भयो। त्यसअघि प्रमुख साह तीन पटक चुरे तथा नदी प्रणाली विज्ञ टोलीसहित धनुषा, महोत्तरी र सिराहा जिल्लाको चुरे तथा भावर क्षेत्रको अवलोकन गर्नुभएको थियो। 

उहाँले यसरी चुरेका खोला खोल्सी चहार्नुको उद्देश्य जनकपुरवासीलाई दीर्घकालीन रूपमा खानेपानी सेवा उपलब्ध गराउनु तथा भूमिगत जलस्तर बढाउने उपायको खोजी रहेको छ। अहिलेसम्म उहाँसहितको टोलीले महोत्तरीको कारीघोप्टे, सिराहाको बाबाताल र धनुषाको औरही तथा जलाद खोलाको जलाशय क्षेत्रको अवलोकन गरिसकेको छ।  

धनुषाको चुरेस्थित जलाद खोलामा भेटिनुभएका प्रमुख साहले जनकपुरधामवासीका लागि पानीको खोजीमा चुरे चहार्दै हिँडेको बताउनुभयो। जनकपुरधाममा खानेपानीको सङ्कट बढ्दै गएको छ। जनकपुरधाम र वरपरको ठाउँमा पछिल्लो केही वर्षयता जमिनमुनिको जलस्तर घट्दै गएपछि चापाकल तथा इनार सुक्न थालेको छ। यस्तै अवस्था रह्यो भने आठ/नौ वर्षपछि जनकपुरधाममा खानेपानीको हाहाकार हुन्छ। त्यसैले समय छँदै खानेपानीको वैकल्पिक उपायको खोजीमा जुटेका छौँ, प्रमुख साहले भन्नुभयो।

अवलोकनका क्रम जारी रहेको बताउँदै उहाँले धनुषाको जलाद र औरही खोलाबाट जनकपुरधाममा पानी लैजान सकिने सम्भावना देखिएको बताउनुभयो। उहाँले भन्नुभयो, “जलाद र औरही खोलामा पर्याप्त पानी छ। थप अध्ययनका लागि प्राविधिक र विज्ञ टोली फेरि पठाउँछौँ।” 

“जलाशय क्षेत्रबाट जनकपुरधाम लगभग २८ किलो मिटर दक्षिणमा छ। भौतिक संरचना निर्माण गरेर यहाँबाट पानी सजिलै लैजान सकिन्छ,” प्रमुख साहले मेलम्ची खानेपानी आयोजनाको उदाहरण दिँदै भन्नुभयो, “मेलम्चीबाट काठमाडौँसम्म पानी ल्याउन सकिन्छ भने यहाँबाट जनकपुरसम्म पानी पठाउन किन सकिँदैन ? यसका लागि मिथिला नगरपालिकासँग सहकार्य गरेर योजनालाई चाँडै अगाडि बढाउँछौँ।”  

पानी खोज्ने कार्यमा चुरेविद् डा. विजयकुमार सिंह दनुवार, जल उत्पन्न प्रकोप नियन्त्रणविद् रत्नेश्वरलाल कायस्थ, चुरे तराई मधेश संरक्षण समिति जनकपुरका प्रमुख शिवकुमार पोखरेल, पैरवी मञ्च नेपालका प्रमुख नागदेव यादव, कमला सिँचाइ परियोजनाका प्रमुख वीरेन्द्र यादव, चुरे तथा नदी प्रणाली संरक्षण सरोकार पत्रकार समाजका अध्यक्ष अनिलकुमार कर्णलगायत चुरे तथा नदी विज्ञहरूको सहभागिता रहेको थियो। 

चुरेविद् दनुवारले तल्लो तटीय क्षेत्रमा पानीको जलस्तर बढाउन वर्षाको पानी चुरेमै रोक्नुपर्ने बताउनुभयो। तराईका निम्ति चुरे क्षेत्र जल भण्डार भएको बताउँदै उहाँले चुरे भएर बग्ने नदीनालामा तटबन्ध निर्माण गरेर वर्षाको पानी चुरे क्षेत्रमै रोक्न सके जनकपुरधामको मात्रै नभएर तल्लो तटीय क्षेत्रको धेरैजसो स्थानको भूमिगत जलस्तर बढ्ने जानकारी दिनुभयो। 

अव्यवस्थित सहरीकरण र वन फँडानीका कारण जमिनले पर्याप्त मात्रामा वर्षाको पानी सोसेर राख्न नसक्नुका कारण भूमिगत पानीको सतह तल हुँदै गएको छ। तराईका जिल्लामा पहिलाभन्दा दोब्बर तेब्बर गहिराइमा पाइप गाड्दा मात्रै चापाकलमा पानी आउने गरेको छ। त्यसैले तीनै तहका सरकार समयमै यसप्रति आवश्यक कदम चालेन भने भविष्यमा तराईमा पानीको चरम अभाव हुन्छ, उहाँको भनाइ छ।