• १६ भदौ २०८१, आइतबार

संवाद र विविधताको सम्मानबाटै दिगो शान्ति

blog

काठमाडौँ, असार २१ गते । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले वार्ता, समझदारी र द्वन्द्वको शान्तिपूर्ण समाधानको प्रवद्र्धन गर्दै त्यसका लागि सामूहिक प्रयास गर्न विश्व नेतृत्वलाई आग्रह गर्नुभएको छ। 

अजरबैजानको बाकुमा आयोजित असंलग्न आन्दोलन (नाम) को मन्त्रीस्तरीय बैठकलाई बुधबार सम्बोधन गर्दै मन्त्री साउदले असंलग्न आन्दोलनको समय–परीक्षित सिद्धान्तको महत्वलाई जोड दिँदै सामूहिक प्रयासबाटै विश्वशान्तिको पहल हुन सक्ने औँल्याउनुभएको हो। 

समूहको अध्यक्ष राष्ट्र अजरबैजानले आयोजना गरेको सो बैठक ‘नामः उदीयमान चुनौतीहरूको सामना गर्न एकताबद्ध र अटल” भन्ने प्रमुख नाराका साथ औपचारिक रूपमा बुधबार सुरु भएको हो। पहिलो दिनको सत्रमा समूहको सक्रिय सदस्यका रूपमा नेपालको पालो आएको हो। आफ्नो सम्बोधनका क्रममा मन्त्री साउदले वर्तमान विश्वव्यापी चुनौतीबारे प्रकाश पार्दै संवाद र विविधताको सम्मानबाट दिगो शान्ति प्रवर्धन गर्नुपर्ने प्रस्ट पार्नुभएको छ। 

उहाँले नामभित्र अन्तर्राष्ट्रिय सहयोग प्रवर्धन, दक्षिण–दक्षिण सहयोगलाई प्रगाढ बनाउन र विश्वव्यापी समस्याको समाधानका लागि केन्द्रमा रहेको संयुक्त राष्ट्रसङ्घसँग बहुपक्षीयतालाई सुदृढ गर्ने आवश्यकतामा जोड दिनुभयो। उहाँले भन्नुभयो, “नेपाल नामको सिद्धान्त र यी चुनौतीहरू सामना गर्ने एकताको शक्तिमा दृढ विश्वास गर्दछ।”

मन्त्री साउदले दिगो विकासका लागि सन् २०३० को लक्ष्य हासिल गर्न आर्थिक विकासलाई तीव्रता दिनुपर्ने र न्यायपूर्ण, समावेशी र समतामूलक विश्व व्यवस्थाका लागि प्रयास गर्नुपर्नेमा जोड दिनुभयो। ‘कोही पनि पछि नपरोस्’ भन्ने ख्याल राख्दै सबैको समृद्धि सुनिश्चित गर्नुपर्ने मन्त्री साउदले प्रस्ट्याउनुभयो। त्यस्तै अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूलाई थप समावेशी, पारदर्शी र प्रभावकारी बनाउन नामले भूमिका खेल्नुपर्ने सुझाव दिनुभयो। सन् २०२६ सम्ममा अल्पविकसित मुलुकबाट स्तरोन्नति हुने नेपालको आकाङ्क्षालाई प्रकाश पार्दै परराष्ट्रमन्त्री साउदले नेपालमा जलवायु परिवर्तनको प्रतिकूल असरका बारेमा चर्चा गर्नुभयो। जलवायु अनुकूलन र न्यूनीकरण प्रयासका लागि जलवायु न्याय, दिगो विकासको प्रवर्धन र जलवायुसम्बन्धी सहयोग जुटाउन नामको सामूहिक वकालत गर्नुपर्ने आवश्यकता रहेको मन्त्री साउदले सम्बोधनमा बताउनुभयो। बैठकको अध्यक्षता अजरबैजानका विदेशमन्त्री जेहुन बायरामोभले गर्नुभएको छ। बैठकमा ६० जना वक्ताले सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ। सो क्रम बिहीबारसम्म जारी रहने छ। 

यसैबिच परराष्ट्रमन्त्री साउदले मलेसियाका विदेशमन्त्री डा. जाम्ब्री अब्दुल कादिरसँग द्विपक्षीय भेटवार्ता गर्नुभयो। त्यस्तै भेनेजुएलाको विदेश मामिलाका लागि जनशक्तिमन्त्री युभान गिल–पिन्टो, इथियोपियाका विदेश राज्यमन्त्री मेसगानु अर्गामोच तथा भियतनामका उपविदेशमन्त्री डो हङ भियतसँग पनि छुट्टाछुट्टै भेट गरी आपसी हित र साझेदारीका विषयमा कुराकानी गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ।