ए रवि,
जा न
आज मेरो छोरोको बिहेको दिन
विवाह मण्डपसम्म पुगेर
त्यहाँको आँखो देखा हाल
प्रत्यक्ष वर्णन गर्
त्यसरी नै जसरी
सञ्जयले गान्धारीपति धृतराष्ट्रलाई
कुरुक्षेत्रको तात्तातो दृश्यावलोकन
प्रत्यक्ष सुनाएका थिए ।
धृतराष्ट्र त जन्मान्ध थिए
तर म जन्मान्ध नभएर पनि
नेत्रान्ध भएको छु
वरपरका सबै कुरो देख्न सक्छु
तर पर परका केही देख्न सक्दिनँ
किनकि म सञ्जय भइनँ
जो टाढा बसेर पनि दूर देख्न सक्छ ।
नेत्रान्ध मलाई
मेरो छोरोको विवाहमण्डपको
प्रत्यक्ष प्रसारण देखा
किनकि म पो जहाँतहाँ
जति बेला चाह्यो उति बेला
पुग्न सक्दिनँ
पुग्न चाहेर पनि पुग्न पाउँदिनँ
पुग्न सकेर पनि पुग्न हुँदैन
अदृश्य साङ्लाले मेरा वर्तमान जेलिएका छन्
अदृश्य नेलले मेरा पाइला बाँधिएका छन्
नदेखिने हत्कडीले मेरा हत्केला कसिएका छन्
पारदर्शी फन्दाले मेरा घाँटी बेरिएका छन् ।
तँ त स्वतन्त्र छस्
जहाँ पनि पुग्न सक्छस्
तँ त आजाद छस्
जति बेला पनि पुग्न सक्छस्
तँलाई हामीमा जस्तो भेद विभेद छैन
तँलाई छूत अछूतको बात लाग्दैन
तँलाई समान असमानको सीमाले छँुदैन
तँलाई न्याय अन्यायले छेक्न सक्दैन
तँलाई आग्रह पूर्वाग्रहले रोक्न सक्दैन
तँ माछो देख्दा दुलोभित्र हात
सर्प देख्दा दुलोबाहिर हात गर्दैनस्
काम सकियो भाँडो आफल तेरो ठाँडो पनि
तँमा लागु हुँदैन ।
तैँले सुटुक्क जानु पनि पर्दैन
लुकेर चियाउनु पनि पर्दैन
कसैले देख्ला कि भनी डराउनु पनि पर्दैन
तेरो आगमनलाई कसैले चाहेर पनि छेक्न सक्दैन
तेराअगाडि कसैले चाहेर पनि तगारा तेस्र्याउन सक्दैन
तँ पुग्न नसक्ने ठाउँमा कवि पुग्न सक्छन् भन्थे
तर यो कवि आज विवश छ
छोरोको बिहे
बाबुलाई देख्न नदिए भएको छ ।
यो विदीर्ण अनर्थका बिच
मेरा लागि भरोसायोग्य पात्र
तँबाहेक अरू कोही हुन सकेन
म मेरा देख्न सक्ने आँखा चिम्म गर्छु
आँखामा अँध्यारो कालो पर्दा झार्छु
त्यही पर्दामा
तँ मेरा लागि सञ्जय भइदे
मेरो छोरोको विवाहमण्डपको प्रत्यक्ष प्रसारण देखाइदे
गुनको बदलामा बैगुन तिर्ने दुनियाँमा
तँ पुग्न नसक्ने ठाउँ पुग्ने हैसियत भएको
विवश विवश कवि युगभिक्षा माग्छ
होइन भने
यो कविको धर्ती फाट्छ ।
मध्यपुर थिमि–१, भक्तपुर