• १४ पुस २०८१, आइतबार

बाटोमा खहरे बग्दा यातायात ठप्प, उत्तरी सर्लाहीको जनजीवन कष्टकर

blog

सर्लाही समाचारदाता

सर्लाही, असार १९ गते । खहरे खोलाले बाटो बिगारेपछि सर्लाहीको उत्तरी चुरेभेगका स्थानीयको दैनिकी कष्टकर बनेको छ। वर्षाले बाटो बिगारेपछि उत्तरी सर्लाहीका नारायण खोला, शिर कालिञ्जोर, पिपलदमारलगायतका क्षेत्रमा यातायातका साधन ठप्प भएका छन्। हिउँद यामभर खोलाको बगरबाट सञ्चालन हुने बस, जिपलगायतका सवारीसाधन अहिले बन्द भएका छन्। हिउँदमा गाडी गुड्ने खोलाको बाटोमा अहिले बाढी बगिरहेको छ। यातायात ठप्प हुँदा स्थानीयलाई औषधोपचार तथा खाद्यान्न किन्न बजारसम्म आउजाउमा समस्या परेको बताइन्छ। 

लालबन्दी नगरपालिका–१५, शिर कालिञ्जोरका तिलकबहादुर स्याङतानले खोलामा गाडी चल्न छाडेपछि गाडी चल्ने ठाउँसम्म पुग्न पैदल हिड्नुपर्ने बाध्यता आइपरेको बताउनुभयो। उहाँले भन्नुभयो, “हिउँदयामभर त खोलाकै बगरबाट गाडी चल्दा राहत हुन्छ, अब यो वर्षायाममा त पैदल नै हिड्नुपर्ने हुन्छ।” उहाँले भन्नुभयो, “अरू बेला पैदल हिँडेरै गाडी चल्ने ठाउँसम्म पुग्छौँ तर बिरामी नै परियो भने असाध्य अप्ठेरो पर्छ। झोलुङ्गोमा हालेर परवानीपुर चोकसम्म पु-याउनुपर्ने हुन्छ।”

चुरेभेगका कतिपय बस्तीबाट गाडी चल्ने ठाउँसम्म आई पुग्न पाँच घण्टासम्म हिड्नुपर्ने हुन्छ। सिन्धुलीको तल्लो भेगसँग सीमा जोडिएका बस्तीबाट घारिबथान, पत्थरकोट र परवानीपुरसहित गाडी चल्ने ठाउँसम्म आउन घण्टौँ पैदल हिड्नुपर्ने बाध्यता रहेको छ। खोलामा बाढी घटेको समयमा जोखिम मोलेर ट्याक्टरमार्फत खाद्यान्न ढुवानी गर्ने गरिएको स्थानीय बताउँछन्। त्यसरी खाद्यान्न लैजाँदा बिच बाटोमा पुग्दानपुग्दै बाढी आउने र बारम्बार ट्याक्टर फस्ने समस्या रहेको लालबन्दी नगरपालिका–१४, नारायण खोलाका रोशन दोङले बताउनुभयो। 

चुरेभेगमा कतिपय स्थानीयले वर्षायाममा बर्सेनी यातायात ठप्प हुने भएकाले हिउँदमै खाद्यान्न लगेर जोहो गरी राख्ने गरेका छन्। त्यहाँ रहेका ससाना किराना पसलमा खाद्यान्न र अन्य सरसामग्रीको मूल्य वर्षायाममा दोब्बर नै हुने गरेको छ। ईश्वरपुर नगरपालिका–१२, माथिल्लो छोड्केका वीरबहादुर तामाङले वर्षायाममा बिरामी पर्दा झोलुङ्गो बोक्ने मान्छे गाउँमा नपाइने बताउनुभयो। 

उहाँले भन्नुभयो, “यो झरीको समयमा सामान्य बिरामी परियो भने घरमै बस्ने हो तर गम्भीर नै बिरामी परियो भने झोलुङ्गोमा हालेर गाडी चल्ने ठाउँसम्म पु-याउँछौँ।” उहाँले गाउँघरमा युवा नै बस्न छाडेकाले झोलुङ्गो बोक्ने मान्छे जुटाउन पनि मुस्किल पर्ने गरेको बताउनुभयो। बिरामी बोकेर ल्याउन झोलुङ्गो बोक्ने चार जना चाहिन्छ। पालोदिने मान्छे नहुँदा चुरेको पाखो तथा खोलाको बगरबाट बिरामी बोकेर ल्याउन असाध्य अप्ठेरो हुने गरेको तामाङले बताउनुभयो।