• १२ साउन २०८१, शनिबार

बैंकको एटिएमबाट रकम लुट्ने प्रयास असफल

blog

मेचीनगर–६ काँकरभिट्टास्थित एनआईसी एशिया बैंकको एटिएम । तस्बिर : लिलाराज झापाली

लिलाराज झापाली
बिर्तामोड, असार १८ गते ।
मेचीनगर–६ काँकरभिट्टास्थित एनआईसी एशिया बैंकको एटिएमबाट रकम लुट्ने प्रयास असफल भएको छ । सोमबार राति २ बजे मेचीनगर–६ स्थित राधिका क्षेत्रीको घरमा सञ्चालित बैंकको एटिएमबाट रकम लुट्ने प्रयास भएको हो ।

भुइँतलामा रहेको एटिएमको सटरमा मान्छे भित्र पसेर एटिएममा राखिएको रकम लुट्ने प्रयास भएको बैंकका मेनेजर रेवन्त न्यौपानेले बताउनुभयो । तर एटिएमको भल्ट नखुलेकाले करिब २० लाखभन्दा बढी रकम सुरक्षित रहेको न्यौपानेको भनाइ छ ।

अन्दाजी २०/२२ वर्षको नकावधारी एक युवाले एटिएमभित्र पसेर भल्ट फोड्ने प्रयास गरेको सिसीटिभीमा देखिएको जानकारी मेनेजर न्यौपानेले दिनुभयो ।

उहाँले भन्नुभयो, ‘‘युवकले भल्ट फोड्ने प्रयास गरे पनि नसकेपछि अन्यत्र गएको पाइएको छ ।   भल्ट खोल्ने प्रयास गरेको र नखुलेपछि छाडेर हिँडेको देखिएको छ ।’’ 

इलाका प्रहरी कार्यालय काँकरभिट्टा प्रमुख प्रहरी नायब उपरीक्षक दीपक भारतीले एनआईसी एशिया बैंकको एटिएम फोडेर राति पैसा निकाल्ने प्रयास गरेको पाइएको र  फरार युवाको प्रहरीले खोजी गरिरहेको बताउनुभयो ।