• ९ पुस २०८२, बुधबार

प्रमुख प्रशासकीय अधिकृत मुस्तफाविरुद्ध मुद्दा

blog

देवाही गोनाही नगरपालिका रौतहट ।

प्रवीणकुमार शर्मा 

रौतहट, पुस ९ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको देवाही गोनाही नगरपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत महमद शेरे मुस्तफाबिरुद्ध बुधबार विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको छ ।  

पर्साको बहुदरमाई नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत रहेको बेला उपसचिव मुस्तफाले बोलपत्रको सूचना प्रकाशन गर्दा सार्वजनिक खरिद ऐन, २०६३  को दफा ४० को उपदफा ३ बमोजिम राष्ट्रियस्तर वा स्थानीयस्तरको समाचारपत्रमा प्रकाशन गर्नु पर्नेमा सो नगरी सूचना लुकाई ठेक्काको प्रयोजनार्थ अभिलेखमा राख्ने काम मात्र गरेको भन्दै आयोगले उपसचिव मुस्तफासहित  बहुदरमाइ नगरपालिकाका सह–लेखापाल उपेन्द्रकुमार साह तथा जनप्रतिबिम्ब दैनिकका प्रकाशक–प्रधान सम्पादक संजयकुमार साहबिरुद्ध मुद्दा दायर गरेको हो । 

बहुदरमाई नगरपालिकाबाट आव. २०७९–८० मा वडा २, बैरिया पानीटंकी प्रवेशद्वारदेखि उत्तर पिपरा हुँदै महावीर साह माध्यमिक विद्यालयसम्म जाने सडक मर्मत कार्यको बोलपत्रको सूचना सार्वजनिक खरिद ऐन, २०६३ को दफा ४० को उपदफा (३) बमोजिम राष्ट्रियस्तर वा स्थानीयस्तरको समाचारपत्रमा प्रकाशन गर्नु पर्ने बताउनुभयो ।

सो नगरी आपसी मिलेमतो तथा योजनामा आफूहरुले गैरकानूनी लाभ लिने, दिने तथा नगरपालिकाको सम्पत्ति हानी नोक्सानी गर्ने बदनियतले उक्त सूचना लुकाइ छिपाई, सूचना प्रकाशन नगरी, नगराई ठेक्काको प्रयोजनार्थ अभिलेखमा राख्नेगरी जन प्रतिबिम्ब दैनिक पत्रिकाको एकप्रति मात्र सूचना प्रकाशन गरेको आयोगको ठहर छ ।

प्रेस काउन्सिल नेपालबाट प्राप्त कागजातअनुसार पत्रपत्रिका व्यवस्थापन अभिलेख प्रणालीमा जनप्रतिबिम्ब दैनिकको हार्डकपी र पिडिएफ दुवैमा बहुदरमाई नगरपालिकाको सडक मर्मतको लागि कुनै पनि बोलपत्रको सूचना प्रकाशन भएको नदेखिएको बताइएको छ ।