फडिन्द्र अधिकारी
लेखनाथ, पुस ९ गते। जेनजी आन्दोलनका क्रममा भवन ध्वस्त भएपछि भवनविहीन गण्डकी प्रदेशसभा सचिवालय पोखरा–१२, माटेपानी सारिएको छ। पोखरा–३, नदीपुरमा रहेको प्रदेशसभा सचिवालय, सभाहल, दलका कार्यालय र सवारीहरुसमेत आन्दोलनका क्रममा ध्वस्त भएका थिए।
२०७५ साल भदौमा निर्माण सम्पन्न भएको पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयको भवनमा प्रदेशसभा सचिवालय सारिएको हो। प्रदेश सरकारले प्रशासनिक पुनर्संरचनाका क्रममा निर्देशनालय खारेज गरेपछि भवन खाली थियो। त्यही भवनमा सचिवालय सञ्चालन गरिएको सभामुख कृष्णप्रसाद धितालले बताउनुभयो।
मङ्सिर अन्तिम साता सचिवालय सारिए पनि सभाहल बनिसकेको छैन। निर्देशनालयको साढे दुई तले भवनमा सभामुख, उपसभामुख, प्रदेशसभा सचिव र कर्मचारीहरुको व्यवस्थापन भएको छ। सभामुख धिताल भन्नुहुन्छ, “व्यवस्थापन मिलाउँदै छौँ, हल साँघुरो छ। संसदीय समितिका बैठक भने बस्न मिल्छ।”
नदीपुरमा प्रदेशसभा भवन बन्न अझै कम्तीमा दुई वर्ष लाग्ने देखिन्छ। दलहरुको संसदीय दलका कार्यालय र संसदीय समितिका कार्यालयका लागि अस्थायी प्रकृतिका भवन बनाउनेबारे छलफल भइरहेको छ। सभामुख, उपसभामुखलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता र सचेतकले फिर्ता गरेका गाडी दिइएको छ। जेनजी आन्दोलनका बेला राप्रपा संसदीय दलका नेता पञ्चराम गुरुङ र सचेतक विन्दु पौडेलले राजीनामा दिएको घोषणा गर्नुभएको थियो।
आन्दोलनकै समयमा भदौ २३ गते प्रदेशसभा सचिवमा गोविन्द नियुक्त हुनुभएको थियो। त्यस बेला भदौ २५ गतेका लागि तय गरिएको प्रदेश सभाको बैठक अनिश्चित कालका लागि स्थगित भएको थियो। अबको प्रदेशसभा बैठक त्यही बस्ने गरी तयारी भएको सचिवालयका सूचना अधिकारी शशिधर सुवेदीले बताउनुभयो।
भवन ध्वस्त भएपछि भदौ २५ गते स्थगित भएको प्रदेशसभा बैठक कात्तिक २४ गतेबाट ३ दिनसम्म पोखरा–५, मालेपाटनको कृषि विकास निर्देशनालयको हलमा बसेको थियो। बैठकका लागि कृषि विकास निर्देशनालयकै सामग्रीहरु प्रयोग गरिएकोमा नयाँ हलका लागि भने धेरै सामग्री किन्नुपर्ने अवस्था छ।
स्थापनादेखि आठ वर्षसम्म गण्डकी प्रदेशसभा नगर विकास प्रशिक्षण केन्द्रको साढे चार दशकअघि बनेको पुरानो भवनमा चलेको थियो। जेनजी आन्दोलनका क्रममा ध्वस्त ध्वस्त भएको त्यही कार्यालयको पश्चिमतर्फ २५ करोड ३७ लाख ८२ हजार आठ सय ६१ रुपैयाँ लागतमा सुविधा सम्पन्न गण्डकी प्रदेशसभा भवन बन्दै छ।
तीन वर्षभित्र निर्माण सक्ने गरी भवन निर्माणको जिम्मा श्रेष्ठ एन्ड सन्स/इस्ट वेस्ट जेभी काठमाडौंले पाएको छ। आउँदो माघ महिनासम्म पहिलो तला ढलान गरिसक्ने योजना छ।