सिराज खान
नेपालगन्ज, पुस ९ गते । नेपालगन्ज नाका हुँदै चालु आर्थिक बर्षको पाँच महिनामा ३० अर्बभन्दा बढीको मालसामान आयात भएको छ । नेपालगन्ज भन्सार कार्यालयको तथ्याङ्क अनुसार चालु आर्थिक बर्ष २०८२–८३ को मङ्सिर मसान्तसम्म ३० अर्ब ६६ करोड ८९ लाख ९० हजार रुपियाँ मूल्य बराबरको वस्तु तथा सामान आयात भएको हो ।
गत आर्थिक बर्ष २०८१–८२ को सोही अवधिमा २९ अर्ब ८ करोड ४५ लाख ४४ हजार रुपियाँ मूल्य बराबरको मालसामान आयात भएको थियो । नेपालगन्ज भन्सार कार्यालयबाट चालु आवको पाँच महिनामा एक अर्ब १ करोड ६३ लाख ८९ हजार रुपियाँ बराबरको मालसामान निर्यात भएको छ । अघिल्लो आवको सोही अवधिमा ८८ करोड ६८ लाख ८२ हजार बराबरको मालसामान निर्यात भएको थियो ।
चालु आर्थिक बर्षको पाँच महिनामा नेपालगन्ज भन्सार कार्यालयबाट कुल ३१ अर्ब ६८ करोड ५३ लाख ७९ हजार रुपियाँ बराबरको कारोबार भएको छ । अघिल्लो आवको सोही अवधिमा २९ अर्ब ९७ करोड १४ लाख २६ हजार बराबरको कारोबार भएको थियो ।
नेपालगन्ज भन्सार कार्यालयबाट हुने व्यापारघाटा अघिल्लो आव र चालु आवको पाँच महिनाको अवधिमा उस्तै रहेको छ । अघिल्लो आवको पाँच महिनामा व्यापार घाटा ९७ प्रतिशत रहेकोमा चालु आवमा व्यापार घाटा ९६.६८ रहेको छ ।
नेपालगन्ज भन्सार कार्यालयको अनुसार चालु आवको पाँच महिनामा सात अर्ब ६५ करोड १९ लाख ९० हजार रुपियाँ भन्सार राजस्व संकलन भएको छ । जुन मङ्सिर महिनाको लक्ष्यको ८३.४५ प्रतिशत हो । चालु आवको कुनै पनि महिनामा नेपालगन्ज भन्सार कार्यालयले निर्धारित मासिक लक्ष्य हासिल गर्न सकेको छैन ।
नेपालगन्ज भन्सार कार्यालयको तथ्यांकअनुसार अघिल्लो आर्थिक बर्ष २०८१–८२ को साउनमा लक्ष्यको ७३.६७ प्रतिशत, भदौं महिनामा लक्ष्यको ६६.६२ प्रतिशत, असोजमा ६६.९१ प्रतिशत, कात्तिकमा ७६.४४ प्रतिशत र मङ्सिरमा ७६.२७ प्रतिशत राजस्व संकलन भएकोमा चालु आर्थिक बर्षको क्रमशः उक्त महिनामा मासिक लक्ष्यको ७४.१४ प्रतिशत, ६९.७७ प्रतिशत, ८७.८३ प्रतिशत, ७२.३० र ८३.४५ प्रतिशत राजस्व संकलन भएको छ ।