बोदेबरसाइन समाचारदाता
बोदेबरसाइन (सप्तरी), असार १८ गते । मधेश प्रदेशका मुख्य न्यायाधिवक्ता वीरेन्द्रकुमार ठाकुरले मधेश प्रदेशमा मानव अधिकारको प्रत्याभूति र समाजमा न्याय निरूपण गर्न मुख्य न्यायाधिवक्ताको कार्यालयले निष्पक्ष ढङ्गले काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
मुख्य न्यायाधिवक्ता कार्यालय मधेश प्रदेशले राजविराजमा आइतबार आयोजना गरेको नागरिक समाजसँगको अन्तर्क्रिया कार्यक्रममा उहाँले प्रतिबद्धता व्यक्त गर्नुभएको हो। “सामाजिक न्याय निरूपणसँगै सार्वजनिक महत्व र सार्वजनिक सरोकार बोकेको मुद्दामा आवश्यक चासो लिएर जाने हाम्रो उद्देश्य छ,” उहाँले भन्नुभयो।
उच्च सरकारी वकिल कार्यालयका प्रमुख उत्तम श्रेष्ठले मधेश प्रदेशमा देखिएका मिटरब्याजी समस्या समाधानमा सकभर मेलमिलापकै शैली अपनाउँदा समाजलाई दीर्घकालीन लाभ हुने बताउनुभयो। मधेश कृषि विश्वविद्यालयका उपकुलपति डा. वैद्य नाथ महतोले मुख्य न्यायाधिवक्ताको कार्यालयले गर्ने यस प्रकारका कार्यक्रमले यहाँका कार्यालयदेखि समाजको तल्लो वर्गको पक्षमा राज्यको उपस्थितिलाई अनुभूति दिलाएको बताउनुभयो। जिल्ला सरकारी वकिल कार्यालय सप्तरीका प्रमुख गोकुल निरौलाले सङ्घ र प्रदेश सरकारको मुद्दा हाम्रो बराबरको अधिकार भएकोले त्यही रूपमा अनुसन्धान हुनुपर्ने उल्लेख गर्नुभयो।