• ११ मंसिर २०८१, मङ्गलबार

बाँकेमा बकर इद मनाइँदै

blog

नेपालगञ्जकाे इदगाहमा सामुहिक नमाज पढ्दै मुस्लिम समुदाय ।

सिराज खान 

नेपालगञ्ज, असार १४ गते । इस्लाम धर्मावलम्बीहरूको दोस्रो ठुलो पर्व इद–उल–अजाह (बकर इद) बाँकेमा धुधामका साथ मनाइँदैछ । तीन दिनसम्म मनाइने यो पर्वलाई कुर्बानी र बलिदानको पर्व पनि भनिन्छ । 

नेपालगञ्जस्थित इदगाहमा बकर इदको सामूहिक नमाजका लागि बिहान नेपालगञ्ज र सो वरिपरिबाट ठुलो सङ्ख्यामा मुस्लिमहरू पुगेका थिए । इदगाहभित्र ठाउँ अपुग भएपछि धेरैले बीपी चोक वरिपरि सडकमा नै नमाज पढेको देखियो ।

स्थानीय इदगाहमा बकर इदको सामूहिक नमाज पढेर सुरु भएको सो पर्व तीन दिनसम्म खसी, भेडा, दुम्बा, भैँसी, राँगा जस्ता जनावर हलाल गरेर कुर्बानी गरेर तेस्रो दिन समापन गरिने धार्मिक गुरु मौलाना अब्दुल जब्बार मन्जरीले बताउनुभयो । उहाँले त्याग, बलिदान र कुरबानीको पर्वका रूपमा मनाइने यो पर्वको विशेष महत्त्व रहेको बताउनुभयो । 

इदगाहमा आयोजना गरिएको सामूहिक नमाजपछि मुलुकमा धार्मिक सदभाव, आर्थिक विकास र शान्ति तथा अमनचैनको कामना गर्दै सामूहिक प्रार्थना गरिएको थियो । इदगाहमा नमाज पढ्न पुग्नुभएका पुर्वमन्त्री मोहम्मद इस्तियाक राईले धार्मिक र सामाजिक सद्भावलाई बलियो बनाउँदै देशको आर्थिक अवस्था बलियो बनाउनु अहिले आवश्यक भएको बताउनुभयो । 

नेपालगञ्ज उपमहानगरका प्रमुख प्रशान्त विष्टले इद जस्ता पर्वहरूले एकअर्काबीच भाइचारा बढाउन सहयोग गर्ने बताउनुभयो । सोही प्रकारले उपप्रमुख कमरुद्दीन राईले नेपालगञ्जको धार्मिक सदभाव र एकता देशभरिकै लागि नमुना भएको बताउनुभयो ।  

बकर इदमा कुर्बानी (पशुबली) दिने चलन भएकोले कुरबानीको क्षमता राख्ने हरेक मुस्लिमले आ–आफ्नो घरमा खसी, भेडा, दुम्बा, भैँसी, राँगा जस्ता जनावरको बलिदान गरिरहेका छन् । 

धार्मिक गुरु मौलाना मन्जरीका अनुसार भेडा, खसी बाख्रा, दुम्बा जस्ता साना जनावरमा एक जनाको नाममा मात्र कुर्बानी हुने चलन छ भने राँगा भैँसी, उट जस्ता ठुला जनावरमा ७ जना मिलेर बलिदान गर्न सकिने परम्परा छ । उहाँले बलिदान गराएको मासु तीन भाग गरी एक भाग गरिबमा बाँड्ने, एक भाग छरछिमेकमा बाँड्ने र एक भाग घरमा पकाएर आफू र आफन्तलाई खुवाउने प्रचलन रहेको बताउनुभयो ।

मुस्लिम समुदायमा जोसँग साढे सात तोला सुन वा साढे ५२ तोला चाँदी वा सो बराबरको धनसम्पत्ति छ र कुनै ऋण छैन भने त्यो व्यक्तिले अनिवार्य रूपमा बकर इदमा बलिदान गराउनु पर्ने धार्मिक नियम छ ।