• १० जेठ २०८१, बिहिबार

यस कारण दुख्छ सुतेका बेला टाउको

blog

मानिसको सुत्ने अवस्थाले बिहान उठ्ने बेला टाउको दुखाउन सक्छ। यसबाट बच्न सुत्ने बेला टाउकोलाई ओछ्यानभन्दा केही माथि राख्ने गर्नुपर्छ। यसको धेरै फाइदा छ : टाउकोमा चोट लाग्न पाउँदैन, ग्यास्ट्रिक कम हुन्छ र श्वासप्रश्वासको समस्या घट्छ।

शरीरलाई स्वस्थ राख्न पृथ्वीको गुरुत्वाकर्षण शक्तिको पनि भूमिका हुने स्पष्ट छ। दिउँसो बढी उभिने भएकाले पैतला र गोलीगाँठो वरिपरि विस्तारै द्रव र अन्य अनुपयोगी पदार्थ जम्मा हुन्छन्। गुरुत्वाकर्षण शक्तिको प्रभावले हरेक वस्तु तल आउन खोज्छ र यसैले उभिएका बेला हाम्रो शरीरको तल्लो भागमा दबाब अधिक हुन्छ। 

गुरुत्वाकर्षण शक्तिले मस्तिष्कको स्वास्थ्यमा भूमिका खेल्छ। उभिएका बेला मुटुभन्दा माथि मस्तिष्क रहन्छ र मस्तिष्कमा रगत पम्प गर्नुपर्ने हुन्छ। यस अवस्थामा गुरुत्वाकर्षण शक्तिले गर्दा रगतको चाप तल बढी नहोस् भनी मुटुले अतिरिक्त दबाब थेग्नुपर्छ। यसैगरी मस्तिष्कबाट फर्कने रगतलाई गुरुत्वाकर्षण शक्तिले सहयोग पुग्छ।

सुतेका बेला मस्तिष्कमा तरल पदार्थले गर्दा थप दबाब पर्ने हुन्छ। यसले गर्दा मस्तिष्कलाई आवश्यक पर्ने अक्सिजन र ग्लुकोजको कमी हुन जान्छ। सबैभन्दा पहिले मस्तिष्कले आफ्नो स्वास्थ्यमा दुष्प्रभाव नपरोस् भनी मानिसलाई ब्युँझाउँछ र ओछ्यानबाट उठ्न उत्प्रेरित गर्दछ। 

त्यससँगै रक्तनलीले टाउको र मस्तिष्कमा अस्थायी रूपमा रक्तप्रवाह बढाएर त्यहाँ सफाइ गरी दबाब घटाउँछ। यसरी मस्तिष्कमा सफाइको काम हुँदा अस्थायी रूपमा बढेको दबाबले टाउको दुख्ने गर्छ। राति समथर ओछ्यानमा सुतेर बिहान उठ्दा यसैकारणले टाउको दुख्छ। तकिया प्रयोग वा ओछ्यानमा टाउकातिरको भाग हल्का उठाएर सुतेमा बिहान टाउको दुख्दैन।