• ५ जेठ २०८१, शनिबार

घोडाघोडी, गौरीगङ्गा र बर्दगोरियाको बजेट सार्वजनिक

blog

बर्दगोरिया गाउँपालिकाको १२औं गाउँअधिवेशनबाट नीति कार्यक्रम तथा बजेट प्रस्तुत ।

चाँदनी आचार्य

घोडाघोडी  (कैलाली) असार १० गते । कैलालीको मध्येक्षेत्रमा रहेका बर्दगोरिया गाउँपालिका, घोडाघोडी र गौरीगङ्गा नगरपालिकाले आईतबार आर्थिक वर्ष २०८०-०८१ को बजेट सार्वजनिक गरेका छन् । 

घोडाघोडी नगरपालिकाको नगर सभाको १७ औ‌ अधिवेशनमा नगर उपप्रमुख गुलिया कुमारी चौधरीले विनियोजन विधेयक टेबल सम्बन्धी प्रस्ताव पेश गर्दै आर्थिक वर्ष ०८०-०८१ लागि ९७ करोड ४३ लाख ९८ हजार प्रस्तावित बजेट सार्वजनिक गर्नुभएको छ । 

आर्थिक विकास, रोजगारीको सृजना उत्पादनमा आत्मनिर्भरता, गुणस्तरीय शिक्षा, पूर्वाधार विकास बजेटको मुख्य उद्धेश्य रहेका छन् भने सडक, पुल, भवन, खानेपानी निर्माण, पूर्वाधार   विकास, शिक्षा, स्वास्थ्य, कृषी, पशुक्षेत्र, सामाजिक क्षेत्रको विकास, पर्यटन, वातावरण संरक्षण, सुशासनलाई बजेटको प्राथमिकतामा राखिएको उपप्रमुख चौधरीले बताउनुभयो ।

घोडाघोडीमा चालु अर्थिक वर्षमा कुल एक अर्व एक करोड २३ लाख ३९ हजार अनुमानित बजेट विनियोजन गरेको जनाउँदै उपप्रमुख चौधरीले कुल बजेट मध्ये ४५ प्रतिशत पूजीँगत र ५ प्रतिशत चालु खर्च हुने अनुमान रहेको बताउनुभयो ।

त्यसैगरी बर्दगोरिया गाउँपालिकाले समेत आईतबार नगरसभा अधिवेशनमा ७९ करोड ८६ लाख १३ हजार १२४ रुपियाँ बराबरको प्रस्तावित बजेट पेश भएको छ । गाउँपालिका उपाध्यक्ष गणेशराज गिरीले नगरसभामा आगामी वर्षको प्रस्तावित बजेट सार्वजनिक गर्नुभएको हो । 

बर्दगोरिया गाउँपालिकामा चालु आर्थिक वर्षको बजेट ७६ करोड ७० लाख ५५ हजार रहेको थियो । गौरीगङ्गा नगरापालिकाको आर्थिक वर्ष २०८०।०८१ को बजेट ८९ करोड ७१ लाख ७३ हजार रहेको छ । आईतबार नगरपालिकाका उपप्रमुख भोजबहादुर बमले नगरसभामा बजेट प्रस्तुत गर्नुभएको थियो । प्रस्तुत बजेटको आयतर्फ संघीय समानीकरण अनुदान १५ करोड २५ लाख, संघीय सर्शत अनुदान चालुतर्फ २२ करोड ५१ लाख, प्रदेश समानीकरण अनुदान एक करोड ३७ लाख ७० हजार प्रदेश सर्शत अनुदान चालु ६२ लाख ५० हजार, प्रदेश समपुरक अनुदान पूँजीगत एक करोड ६५ लाख रहेको छ ।

त्यसैगरी, मुल्य अभिवृद्धि कर र अन्तशुल्क १४ करोड २३ लाख ५७ हजार, वन रोयल्टीबाट ३५ लाख, घरग्गा रजिष्ट्रेशन दस्तुर दुई करोड, सवारी साधन कर ९१ हजार २६ लाख, सामाजिक सुरक्षा तथा संरक्षण भत्ता २५ करोड ५८ लाख र आन्तरिक राजश्वबाट तीन करोड ४१ लाख ७० हजार रहेको छ । 

गौरीगङ्गा नगरपालिकामा चालु आर्थिक वर्षमा ७५ करोड ८ लाख ३५ हजार ३५८ रुपियाँ बजेट रहेको जनाइएको छ । सबै पालिकाले प्रस्तावित बजेटमाथि छलफल गरी असार मसान्तभित्र बजेट नीती तथा कार्यक्रमलाई पूर्णता दिने जनाइएको छ ।