खलङ्गा समाचारदाता
दार्चुला, असार १७ गते । आधारभूत तहदेखि ८ कक्षासम्मका बालबालिकाले पाउँदै आएको दिवा खाजा कार्यक्रमबाट प्रभावित हुने भएका छन् । अमेरिकी कृषि विभाग (युएसडिए) को आर्थिक सहयोगमा दार्चुला जिल्लामा सञ्चालनमा रहेको ‘स्थानीय उत्पादनमा आधारित विद्यालय दिवा खाजा कार्यक्रम’ बन्द हुने अवस्थामा पुगेपछि बालबालिका सो कार्यक्रमबाट प्रभावित हुने भएको दिवा खाजा कार्यक्रम दार्चुलाका संयोजक कृष्णसिंह ठगुन्नाले जानकारी दिनुभयो ।
अनुदान रकम कटौती गरिएपछि दार्चुलालगायत नेपालका ७७ वटै जिल्लामा दिवा खाजा कार्यक्रम प्रभावित हुन सक्ने उहाँले बताउनुभयो । ‘स्थानीय उत्पादनमा आधारित विद्यालाय दिवा खाजा कार्यक्रम’ लाई टिकाउन नेपाल सरकार र स्थानीय तहले अपनत्व लिनुपर्ने उहाँको भनाइ छ । दिवा खाजा कार्यक्रमबाट दार्चुलाका नौ वटै स्थानीय तहका ३३९ सामुदायिक विद्यालयका बालबालिकालाई गाउँमै उत्पादित खाद्य सामग्रीबाट खाजा खुवाउने गरिएको थियो ।
अमेरिकी सरकारले अनुदान रकम कटौती गरेपछि नेपालस्थित विश्व खाद्य कार्यक्रमले आगामी सन् २०२५ जुलाई ३१ सम्म मात्रै विद्यालयलाई सागपात र दाल उपलब्ध गराउन सकिने भनेर पत्राचार गरेको उहाँले बताउनुभयो । विश्व खाद्य कार्यक्रमसँग चामलको मौज्दात आगामी अङ्ग्रेजी वर्ष १५ जनवरी २०२६ सम्मका लागि भएको जनाए पनि सागपात र दालका लागि आवश्यक रुपियाँ नभएको उल्लेख छ । यहाँका शिशु कक्षादेखि कक्षा ८ सम्मका २५ हजार ७५४ बालबालिकाले दिवा खाजा कार्यक्रममार्फत भिटामिनयुक्त चामलको भात र स्थानीयस्तरमा उत्पादित दाल तथा तरकारी प्राप्त गर्दै आएका थिए । दिवा खाजा बन्द हुने भएपछि सो कार्यक्रम सञ्चालनका लागि खटिएका ५८ जना विभिन्नस्तरका कर्मचारीको रोजगारीसमेत गुम्ने भएको छ ।
दिवा खाजा कार्यक्रमले दार्चुलाका २२४ जना कृषकबाट दाल र तरकारी खरिद गर्दै आइरहेको थियो । कार्यक्रम बन्द हुने भएपछि कृषकलाई समेत प्रत्यक्ष असर पुग्ने देखिएको छ । विश्व खाद्य कार्यक्रमको मापदण्ड अनुसार एक जना बालबालिकाले हरेक दिन २० ग्राम चामल, १० ग्राम तेल र दुई ग्राम नुन प्राप्त गर्छन् भने स्थानीयस्तरमा उत्पादित २० ग्राम दाल र ४० ग्राम तरकारी प्राप्त गर्ने गर्छन् ।