• १७ असार २०८२, मङ्गलबार

महाकाली सिँचाइ योजना एक महिनामै पूरा

blog

महाकाली लिफ्टिङ योजना निर्माणपछि खेतमा पानी पुर्‍याउने तयारी गरिँदै । तस्बिर सौजन्य : गोविन्दराज जोशी

बैतडी समाचारदाता

बैतडी, असार १७ गते । पञ्चेश्वर गाउँपालिकाले महाकाली नदीबाट पानी तानेर विनायक फाँटमा सिँचाइ पु¥याउने योजना पूरा गरेको छ । गत चैत महिनामा विस्तृत अध्ययन प्रतिवेदन तयार गरेर जेठबाट निर्माण सुरु भएको योजना एक महिनामै पूरा भएको हो । पञ्चेश्वर गाउँपालिका–४, विनायकको पल्लोभोरामा पानी वितरण गर्न १५ हजार, आठ हजार र एक हजार लिटरका तीन वटा ट्याङ्की निर्माण गरिएका छन् । १७ हर्सपावरको विद्युतीय मोटर जडान गरेर चार इन्च मोटो पाइपमार्फत टङ्कीमा पानी भरेर सिँचाइ पुर्‍याउने गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले बताउनुभयो । 

योजना निर्माणको प्राविधिक पाटो कृषि क्षेत्रमा काम गर्दै आइरहेको सामाजिक संस्था रुडेस बैतडीलाई दिइएको छ । रुडेसले यसअघि दशरथ चन्द नगरपालिका–१०, खडेनी र बुर्किल गाउँमा महाकालीकै पानी तानेर सिँचाइ सुविधा पुर्‍याइसकेको छ । योजना निर्माण गर्न पञ्चेश्वर गाउँपालिकाको ३० लाख रुपियाँ र प्राविधिक सहयोग रुडेसले गरिरहेको संस्थाका कार्यकारी निर्देशक गोविन्दराज जोशीले बताउनुभयो । उहाँले महाकाली नदी किनारबाट पानी जम्मा हुने ट्याङ्कीसम्म २३८ मिटर दुरी रहेको बताउनुभयो । 

खेतसम्म सिँचाइ पुर्‍याउन छ सय मिटर पाइपलाइन बिछ्याइएको छ । १७ हर्सपावरको विद्युतीय मोटरले चार इन्च मोटो पाइपबाट प्रतिसेकेन्डमा २२ लिटर पानी पान्ने छ । पानी जम्मा गर्न निर्माण गरिएका २४ हजार लिटरका ट्याङ्की भर्न करिब १८ मिनेट समय लाग्ने छ । विद्युतीय महसुल कम हुने भएकाले कृषि मिटर जडानको तयारी भइरहेको छ । 

तीन हजार रोपनीमा जौले धान 

विनायक गाउँमा सिँचाइ योजना पुगेपछि तीन हजार रोपनीमा स्थानीय जौले धान र रातो बासमती फल्ने भएको छ । विनायक गाउँमा लिफ्ट सिँचाइ योजना निर्माण भएपछि रोपाइँको तयारी गरिरहेको स्थानीय वीरेन्द्र चन्दले बताउनुभयो । उहाँले गाउँमा सिँचाइ योजना पुगेपछि सूर्य पश्चिमबाट उदाएको जस्तो अनुभूति भएको बताउनुभयो । यसअघि विनायक गाउँको पल्लोभोरामा आकासे पानीको भरमा खेती हुँदै आएको उहाँले जानकारी दिनुभयो ।

विनायक गाउँमा सडक र सिँचाइ योजना बनेपछि तरकारी खेती गर्ने किसानलाई फाइदा भएको छ । गाउँमा उत्पादन भएको तरकारी गाउँपालिका केन्द्र र स्थानीय बजारमा बिक्री गर्न कृषि क्षेत्रमा काम गर्दै आइरहेको रुडेसले सहयोग गर्ने बताएको छ ।

 पानी कुलाउँ पुर्‍याउने लक्ष्य 

पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले सङ्घ र प्रदेश सरकारले बजेट उपलब्ध गराएमा महाकालीको पानी विनायक हुँदै गाउँपालिका केन्द्र आमचौरा र पञ्चेश्वर गाउँपालिका–३ को कुलाउँ बजारसम्म पुर्‍याउने लक्ष्य रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “बजेट भयो भने महाकालीको पानी गाउँपालिका केन्द्र आमचोरा हुँदै कुलाउँसम्म पुर्‍याउने सोच बनाएका छौँ । यसका लागि सङ्घ र प्रदेश सरकारलाई पनि गुहारेका छौँ । 

बजेट भयो भने अबको लक्ष्य महाकालीको पानी तानेर हराभरा पञ्चेश्वर बनाउने हो ।” उहाँले जलवायु परिवर्तनका कारण खोलानाला सुक्दै गएकाले पञ्चेश्वरवासीका लागि महाकालीको पानी सदुपयोग गर्नुको विकल्प नरहेको बताउनुभयो ।