• २७ वैशाख २०८१, बिहिबार

साफ च्याम्पियन्सिप २०२३ : नेपाल समूह चरणबाट बिदा

blog

बेङ्लोर (भारत), असार १० गते । साफ च्याम्पियन्सिप २०२३ मा नेपाल शनिबार भारतसँग २–० ले हारेर समूह चरणबाट बिदा भएको छ । पछिल्लो संस्करणमा नेपाल फाइनलमा भारतसँग हारेर उपविजेतामा सीमित बनेको थियो ।

यस प्रतियोगितामा नेपालको यो लगातार दोस्रो हार हो । हारले नेपालको सेमिफाइनल प्रवेशको ढोका बन्द भयो । नेपाल उद्घाटन खेलमा कुवेतसँग पनि पराजित भएको थियो । अब नेपाल र पाकिस्तानबिच मङ्गलबार खेलिने खेल प्रतिष्ठाका लागि मात्र हुने छ । पकिस्तान पनि सुरुका दुई खेल हारेर प्रतियोगिताबाट बिदा भइसकेको छ । समूह ‘ए’ बाट कुवेत र भारत सेमिफाइनलमा पुगेका छन् ।

भारतको बेङ्लोरस्थित श्री कान्तिभरा रङ्गशालामा सुनील क्षेत्री र नोयरेम महेस सिंहको गोलबाट नेपाल निराश बनेको हो । दुवै गोलमा क्षेत्री र सिंहको साझेदारी रह्यो । खेलको ६१ औँ मिनेटमा बनेको राम्रो मुभमा सिंहले मैदानको बायाँ भागबाट दिएको पासमा गोलपोस्ट नजिक रहेका क्षेत्रीले सहज ढङ्गले बल ‘ट्यापिङ’ गरी गोल गर्नुभयो । क्षेत्रीले पहिलो खेलमा पाकिस्तानविरुद्ध ‘ह्याट्रिक’ गर्नुभएको थियो । 

यसअघि नेपालले अनपेक्षित रूपमा पूर्वाद्र्धमा भारतलाई राम्रो टक्कर दिएको थियो । नेपाललाई उपाधि होडमा कायम रहन भारतसँग कम्तीमा बराबरीमा खेल्नुपर्ने समीकरण थियो । तर पहिलो हाफमा गरेको उच्च प्रदर्शन मन्ध्यान्तरपछि दोहो¥याउन नसक्दा नेपाललाई आफू अनुकूल नतिजा प्राप्त भएन ।

पूर्वाद्र्धमा तुलनात्मक रूपमा नेपालले बढी गोल गर्ने अवसर सिर्जना गरेको थियो । खेलको १८ औँ मिनेटमा मिडफिल्डर एरिक विष्ट पहिलो गोलको नजिक पुग्नुभएको थियो । लकेन लिम्बूको कर्नर प्रहारलाई भारतीय डिफेन्डरले हेडमार्फत क्लियर गरेपछि आफूतिर आएको बलमा डिबक्सबाहिर रहेका एरिकले भली प्रहारमार्फत सशक्त प्रहार गर्नुभएको थियो । एरिकको सो प्रयासलाई भारतीय गोलरक्षक गुरप्रीतसिंह सन्धुले विफल पार्नुभयो । यसै गरी ३० औँ मिनेटमा मनीष डाँगीले मैदानको दायाँ भागबाट मिलाइदिएको पासलाई डिबक्सभित्र बिनानिगरानीमा रहेका विमल घर्ती मगरले ठम्याउन सक्नु भएन । 

नेपालका प्रशिक्षक भिन्सेन्जो अलवर्टो एनिसले भारतविरुद्ध पहिलो रोजाइमा तीन परिवर्तन गर्नुभएको थियो । पछिल्लो खेलमा सुरुवाती ११ मा नपरेका विमल घर्ती मगर, आयुष घलान र देवेन्द्र तामाङमाथि इटालियाली प्रशिक्षक एनिसले विश्वास गर्नुभएको हो । नयाँ संरचनामा नेपालको आक्रमण चुस्त देखिएको थियो । देवेन्द्रको नेतृत्वमा रहेको डिफेन्सले पनि भारतीय कप्तान क्षेत्रीलाई खुलेर खेल्न दिएन । तर खेलको ४५ औँ मिनेटमा कीर्तिमान गोलतर्फ अग्रसर स्ट्राइकर अञ्जन विष्टले घाइते भएर मैदान छोडेपछि नेपालको लय बिग्रियो । अञ्जनलाई आभाष लामिछानेले प्रतिस्थापन गर्नुभएको थियो ।

सीमान्तको पदार्पण

भारतविरुद्ध खेल्दै सीमान्त थापाले अन्तर्राष्ट्रिय फुटबलमा पदार्पण गर्नुभएको छ । साफ च्याम्पियन्सिपका लागि प्रशिक्षक एनिसले सीमान्तलगायत विमल पाण्डे र लकेन लिम्बूलाई टिममा समावेश गर्नुभएको हो । साफको तयारीका क्रममा फिलिपिन्ससँगको मैत्री खेलमा लकेन र विमलले पदार्पण गरे पनि सीमान्तले यस उपलब्धिका लागि केही समय पर्खनुप¥यो । खेलको ६७ औँ मिनेटमा सनिस श्रेष्ठको स्थानमा सीमान्त मैदानमा प्रवेश गर्नुभएको हो । 

‘पर्याप्त तयारी पुगेन’

प्रशिक्षक एनिसले साफ च्याम्पियन्सिपका लागि पर्याप्त तयारी हुन नसक्दा सेमिफाइनलमा पुग्न नसकेको धारणा राख्नुभयो । “यस प्रतियोगिताका लागि पर्याप्त समय मिलेको भए सायद स्थिति अर्कै हुन सक्थ्यो । तर पनि मेरो टिमले अहिलेसम्म यस प्रतियोगितामा गरेको प्रदर्शनले म खुसी छु । पाकिस्तानविरुद्धको खेल जितेर घर फर्कनेछौँ,” उहाँले भन्नुभयो । उहाँ भारतविरुद्धको प्रदर्शनमा पनि सन्तुष्ट देखिनुभयो । “नेपालले पहिलो हाफमा धेरै राम्रो खेल्यो । नयाँ खेलाडीहरू धेरै भएकाले अनुभवको पनि कमी भयो । तर हामीले भारतलाई उसकै घरेलु भूमिमा तर्साउन सफल भयौँ ।”  

भारतका सहायक प्रशिक्षक महेश गलीले पहिलो हाफमा राम्रो प्रदर्शन नभए पनि दोस्रो हाफमा नेपाललाई दबाबमा राख्न सफल भएको बताउनुभयो । पहिलो हाफ हाम्रा लागि निकै कठिन थियो ।