• ८ चैत २०८२, आइतबार

नेविसङ्घको ऐतिहासिक योगदान कसैले बिर्सन सक्दैन : महामन्त्री घिमिरे

blog

। नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरे ।

काठमाडौँ, चैत ८ गते । नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) को ऐतिहासिक योगदानलाई कसैले पनि कम आँक्न नसक्ने बताउनुभएको छ ।

आइतबार ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा नेविसङ्घले बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै महामन्त्री घिमिरेले नेपालको इतिहासबाट नेविसङ्घलाई अलग राख्ने हो भने इतिहास नै अपुरो हुने उल्लेख गर्नुभयो । वि.सं. २०२७ मा पञ्चायती कालरात्रि विरुद्ध विद्यार्थीलाई सङ्गठित गरी प्रजातान्त्रिक आन्दोलन सुदृढ बनाउन नेविसङ्घको स्थापना भएको स्मरण गर्दै उहाँले कतिपय सन्दर्भमा पार्टीले भन्दा पनि बढी यसले कुर्बानी र बलिदान गरेको बताउनुभयो ।

पछिल्लो समय नेविसङ्घका गतिविधिलाई पार्टीले सूक्ष्म रूपमा नियालिरहेको बताउँदै महामन्त्री घिमिरेले मुलुकमा विकसित नयाँ राजनीतिक परिस्थिति र नयाँ दलहरूको उदयका बिच नेविसङ्घको भूमिका अझ सशक्त र प्रभावकारी हुन आवश्यक रहेकोमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “कुनै पनि दलको भ्रातृ संस्था रहने वा नरहने भन्ने कुरा पार्टीकै अधिकार क्षेत्रभित्रको विषय हो, तर यो संस्था पार्टीको सन्तान जस्तै हो ।”

नेपालमा ४० वर्षमुनिका झन्डै एक करोड २० लाख युवा जनमत रहेको तथ्य औँल्याउँदै उहाँले कुनै पनि राजनीतिक दलले यो जनमतलाई उपेक्षा गर्नु मूर्खता हुने बताउनुभयो । उहाँले नेपाल तरुण दल, नेपाल महिला सङ्घ लगायतका अन्य भ्रातृ संस्थाका विषयमा पनि पार्टीले समयमै संस्थागत निर्णय गर्ने तयारी गरिरहेको जानकारी दिनुभयो ।

आइतबार बिहान नेविसङ्घका कार्यकर्ताको टोलीले सिनेट बैठकको नाममा अवैधानिक गतिविधि भएको र वर्तमान नेतृत्वले सङ्गठनको गरिमामा आँच पुर्‍याएको आरोप लगाउँदै ज्ञापनपत्र बुझाएको थियो । गणपूरक सङ्ख्याको न्यूनतम उपस्थिति समेत नभएको बैठकले निर्णय गर्नु अवैधानिक हुने उनीहरूको जिकिर छ ।