• ८ चैत २०८२, आइतबार

बालबालिकालाई तीन महिने प्रशिक्षण

blog

प्रशिक्षणमा सहभागी बालबालिकाहरु । तस्बिरः अमिरमैया रञ्जित

गोरखापत्र अनलाइन 

ललितपुर, चैत ८ गते । यल अध्ययन केन्द्रले १२ वडाका स्थानीय बालबालिकालाई तीन महिने नेपालभाषा, नेवार नृत्य, गायन, बाजा, खेल र वाचनकला प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । 

आदर्श कन्या निकेतन माध्यमिक विद्यालय, मंगल बजारमा सम्पन्न गरिएको प्रशिक्षणमा नेपालभाषा, साहित्य, संस्कृति प्रबर्धनको निम्ति आगामी आर्थिक वर्षमा पनि थप बजेटको ब्यवस्था हुने प्रमुखअतिथि ललितपुर महानगरपालिका वडा १२ का अध्यक्ष नारायण अवालेले बताउनुभयो ।

तुल्सीलाल सिंहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपालभाषा मंका खलः यलका अध्यक्ष महेन्द्र महर्जनले नेपालभाषाको विभिन्न खेलहरुबारे जानकारी मात्र नभइ खेल खेल्ने र खेलाउने तरिका पनि सिकाउन आवश्यक भएको बताउनुभयो । 

यल मंकाः खलःले आगामी दिनमा नेपालभाषा खेलसम्बन्धी पुस्तक तयार गर्ने बताउनुभयो । यस तालिमको समयमा साना–साना भाइबहिनीहरुको मोबाइल हेर्ने बानी हट्नुका साथै लोप हुन लागेको नेपालभाषा, साहित्य, संस्कृतिले निरन्तरता पाउनेमा प्रशिक्षित बालबालिकाका अभिभावकले खुशी व्यक्त गर्नुभयो ।

कार्यक्रममा आदर्श कन्या निकेतन माबिका प्रधानाध्यापक शैलेशबहादुर प्रधानले शुभकामना तथा बधाई मन्तव्य राख्नुका साथै प्रशिक्षित साना–साना भाइबहिनीहरुले आफ्नो प्रतिभा प्रस्तुत गर्नुभयो ।