• ८ चैत २०८२, आइतबार

बागलुङमा ‘मिडिया मेला’ आयोजना हुने

blog

नेपाल पत्रकार महासङ्घ बागलुङमा रहेको आफ्नै भवन । तस्बिरः नवराज नेपाली

नवराज नेपाली

बागलुङ (गलकोट), चैत ८ गते। बागलुङलाई राष्ट्रिय रूपमा चिनाउन मिडिया मेला गर्न लागिएको छ । पत्रकारको मेलाको रूपमा लिइएको मेलामा देशभरका पत्रकार बागलुङमा जम्मा हुने छन् । नेपालमा नमूना कार्यक्रमको रूपमा रहेको मिडिया मेलाको तयारीलाई महासङ्घले तिब्रता दिएको छ । 

नेपाल पत्रकार महासङ्घ बागलुङ शाखाले शाखा स्थापनाको २५ औं वर्षको अवसरमा चैत २० र २१  ‘बागलुङ मिडिया मेला’ आयोजना हुँदैछ । मेला चैत २० र २१ गते बागलुङ बजारको जोजोलोपा ब्याङ्केटमा गरिने भएको नेपाल पत्रकार महासङ्घ बागलुङले जनाएको छ। 

मेला सम्पन्न गर्न अध्यक्ष राम थापा अविरलको संयोजकत्वमा मूल आयोजक समिति र विभिन्न उपसमितिहरु गठन गरेर तयारी थालिएको छ। बागलुङलाई मिडियाको माध्यमबाट उजागर गर्न समृद्ध बागलुङ निर्माणमा हातेमालो गर्दै नीजि क्षेत्रको लगानी भित्र्याउन मिडिया मेलाको आयोजना गरिन लागिएको हो । खासगरी बागलुङमा जन्मेर पत्रकारिताको कर्मथलोलाई विभिन्न स्थानमा पुर्‍याउनुभएका पत्रकारलाई गृह जिल्लाको समृद्धिमा चासो दिने, पुनर्मिलन गर्ने, निजी क्षेत्र र पालिकाबिचको सम्बन्ध बढाउँदै बागलुङ बजारको ५० वर्ष पुराना इतिहास झल्काउने तस्बिर प्रदर्शनी गर्ने लगायतको काम गरिने नेपाल पत्रकार महासङ्घ बागलुङका अध्यक्ष राम थापा अविरलले जानकारी दिनुभयो । 

अविरलका अनुसार अहिले आर्थिक उपसमितिले काठमाडौँ र बागलुङका स्थानीय पालिकासँग मेलामा सहकार्यका लागि भेटघाट तथा छलफल गरिरहेको छ । मेलामा ८ सेसनको प्यानल डिस्कशन हुने बताइएको छ । पुराना सञ्चार सामग्री प्रदर्शन गरिने भएको छ। 

पत्रकारिता, सञ्चार माध्यम, पत्रकारको बदलिदो भूमिका र ग्रामीण पत्रकारिताको महत्त्व उजागर गर्न र यस क्षेत्रमा सबैको ध्यान केन्द्रीत गर्न मेलाले सघाउने छ । मेलामा गण्डकी प्रदेशका मुख्यमन्त्री, पत्रकार महासङ्घका पदाधिकारी, गण्डकी प्रदेशका ११ जिल्लाका पत्रकारको समेत उपस्थिति रहने छ। 

मेलामा विद्वत प्रवचन, प्यानल डिस्कसन, बागलुङे पत्रकारहरूको पुनर्मिलन, भित्तेपत्रिका लेखन प्रतियोगिता, तस्बिर प्रदर्शन, लाइभ पेन्टिङ, सञ्चार सामग्री र उपकरणको प्रदर्शनी रहेको छ । 

मेलामा १७ लाख खर्च हुने अनुमान गरिएको शाखाका कोषाध्यक्ष खेमराज गौतमले बताउनुभयो । मेलामा आन्तरिक पर्यटक भित्र्याएर उहाँहरूलाई बागलुङको सञ्चार माध्यम, पुस्तकालय, धार्मिक तथा पर्यटकीय गन्तव्यको भम्रण गराउने उद्देश्य रहेको शाखाका सचिव नारायण रिजालले जानकारी दिनुभयो । 

मेला प्रवर्धनमा सघाउने नीजि क्षेत्रको व्यावसायिक स्टलहरू रहने आयोजकको भनाइ छ । मेलामा राष्ट्रिय र स्थानीय कलाकारहरूको साङ्गितिक प्रस्तुति रहने छ । मेलामा २५ हजार जनाले मेलाको अवलोकन गर्ने अनुमान गरिएको शाखाका उपाध्यक्ष सुवास आचार्यले बताउनुभयो । मेलाको उद्घाटन चैत २० गते हुने छ ।