• २५ माघ २०८२, आइतबार

नेपाललाई इङ्ग्ल्यान्डको कठिन चुनौती

blog

काठमाडौँ, माघ २५ गते । नेपालले आइतबार क्रिकेटको जननी इङ्ग्ल्यान्डसँग खेलेर विश्वकप टी–२० क्रिकेट प्रतियोगितामा आफ्नो यात्रा सुरु गर्दै छ । सो खेल भारतको मुम्बईस्थित ऐतिहासिक वानखेडे रङ्गशालामा हुने छ ।

नेपालको समग्रमा तेस्रो र लगातार दोस्रो पटक विश्वकप खेल्दै छ । विगतमा ‘मिनोज’ को रूपमा हेरिएको नेपाल तेस्रो संस्करणसम्म आइपुग्दा विश्वकपमा ‘अन्डरडग’ टिमको रूपमा प्रस्तुत भइसकेको छ । त्यसैले दुई पटकको विजेता तथा उपाधि दावेदारमध्ये एक इङ्ग्ल्यान्डले पनि नेपाललाई हलुको रूपमा लिएको छैन । नेपाल प्रतियोगिताकै हेर्न लायक टिमका रूपमा रहेको छ ।

नेपालका कप्तान रोहित पौडेलले भारतमा भको कप्तानसँगको भेटघाटमा विगतकाभन्दा यसपालिको विश्वकप फरक हुने छ भनी नेपाली समर्थकलाई आश्वासन दिनुभएको छ । उहाँले भन्नुभएको थियो– हामी २०१४ को विश्वकप देखेर खेल्न प्रभावित भएका थियौँ । यो पटक पछिल्लो संस्करणको विश्वकपबाट प्रभावित भएर नयाँ पुस्ता आएको छ ।

उहाँले यो पटक राम्रो तयारी भएकाले सुपर आठको लक्ष्य बनाएको जानकारी पनि दिनुभयो । विश्वकप नजिकिँदै गर्दा हामी टेस्ट टिमलाई टी–२० शृङ्खलामा हराएर खेल्न आएका छौँ । त्यसैले पनि मनोबल उच्च छ– कप्तान पौडेलको भनाइ छ ।

नेपालले समग्रमा तेस्रो पटक र लगातार दोस्रो पटक आइसिसी टी–२० विश्वकपमा खेल्ने छ । करिब चार महिनाअघि ओमानमा भएको आइसिसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटमा च्याम्पियन भएर नेपाल सन् २०२६ मा हुने विश्वकपमा चयन भएको हो । यसै गरी दुई पटकको विश्व विजेता वेस्ट इन्डिजविरुद्ध टी–२० शृङ्खला जितेर इतिहास बनाएकाले पनि नेपाली टिमको मनोबल उच्च छ ।

एकदिवसीय र टी–२० क्रिकेटको जन्म पनि इङ्ग्ल्यान्डबाटै भएको हो । इङ्ग्ल्यान्ड विश्वकपअघिको टी–२० शृङ्खलामा श्रीलङ्कालाई उसकै मैदानमा ३–० ले हराएपछि उच्च मनोबलमा रहेको छ । त्यसैले पहिलो पटक खेल्दै गरेको इङ्ग्ल्यान्डलाई हराउनु नेपालकै लागि फलामको च्युरा चपाउनु सरह नै हुने छ । ह्यारी ब्रुकको कप्तानीमा रहेको इङ्ग्ल्यान्डले लगातार सीमित ओभरको क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेको छ । सन् २०१० र २०२२ मा टी–२० विश्वकप जितेको इङ्ग्ल्यान्ड तेस्रो पटक टी–२० उपाधि जित्ने पहिलो राष्ट्र बन्ने दाउमा पनि छ ।

फिल साल्ट, जोस बट्ल, विल ज्याक्स, कप्तान हेरी बुक्स ब्याटिङको मेरुदण्ड हुनुहुने छ । इङ्ग्ल्यान्डको बलिङमा पनि विविधता छ । आदिल रसिद विश्व क्रिकेटकै सबभन्दा अनुभवी स्पिनरमा पर्नुहुन्छ ।  साम करन र नयाँ खेलाडी ज्याकबो बेन्थलको रूपमा विश्वस्तरीय अलरान्डर इङ्ग्ल्यान्डसँग छ । जोफ्रा आर्चरको तेज बलिङको सामना गर्न पनि नेपाली ब्याट्सम्यानलाई दबाब हुन सक्छ ।

यसै गरी नेपाललाई प्रतियोगिताकै स्तब्धकारी नतिजा निकाल्नु छ भने एक टिमका रूपमा एकजुट भएर प्रदर्शन गर्नुपर्ने हुन्छ । विशेषतः अनुभव लेग स्पिनर सन्दीप लामिछानेका काँधमा ठुलो जिम्मेवारी रहने छ । नेपालका लागि सन्दीप टी–२० अन्तर्राष्ट्रियमा सबैभन्दा बढी विकेट लिने बलर हुनुहुन्छ । उनले १२.०५ को औसतमा १२९ विकेट लिनुभएको छ ।

प्रारम्भिक ब्याट्सम्यानद्वय कुशल भुर्तेल, आसिफ सेख, कप्तान रोहित र दीपेन्द्रसिंह ऐरी ब्याटिङमा चम्कनुपर्ने छ । करण केसी र सोमपाल कामीसँग पहिलो स्पेलका साथै पछिका स्पेलमा पनि रन लुटाउने छुट हुने छैन । उहाँहरूले चाँडै विकेट पनि निकाल्नुपर्ने छ ।

वेस्ट इन्डिज र पाकिस्तानको विजयी सुरुवात

यसै गरी १० औँ विश्वकप टी–२० को उद्घाटन खेलमा पाकिस्तान विजयी भएको छ । श्रीलङ्काको कोलम्बोमा भएको खेलमा पाकिस्तानले नेदरल्यान्ड्सविरुद्ध कठिन तीन विकेटको जित हासिल ग¥यो । समूह ‘ए’ मा रहेको पाकिस्तानले भारतसँगको खेल बहिष्कार गर्ने निर्णय गरेको छ । त्यसैले पनि पाकिस्तानलाई सुपर आठमा पुग्नु छ भने कुनै खेल हार्ने छुट छैन । 

पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्स १९.५ ओभरमा १४७ रनमा अलआउट भएको थयो । नेदरल्यानड्सले अन्तिम छ विकेट २० रनमै गुमाएको हो पाकिस्तानले तीन बल बाँकी छँदा सात विकेटको क्षतिमा ११७ रन बनाएर बल्लतल्ल जित हात पा¥यो । पाकिस्तानका लागि प्रारम्भिक ब्याट्सम्यान साहिबजादा फरहानले ३१ बलमा सर्वाधिक ४७ रन बनाउनुभयो ।

यसै गरी भारतको कोलकातास्थित इडेन गार्डेनमा भएको खेलमा पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले पाँच विकेटको क्षतिमा १८२ रनको बलियो स्कोर तयार पारेको थियो । स्कटल्यान्ड १८.५ ओभरमा १४७ रनमा अलआउट भयो ।