• २० असोज २०८१, आइतबार

जारको पानीमा भेटियो मरेका किरा र भातको सिता

blog

जारको पानीमा अखाद्य बस्तु फेला । तस्बिर : कोकिला भण्डारी

कोकिला भण्डारी

धनकुटा, असार ७ गते । हिमधारा कम्पनीको जारको पानीमा मरेको किरा र भातको सिता भेटिएको छ । धनकुटा नगरपालिकास्थित सञ्चयकोषको कार्यालयमा राखिएको जारको पानीमा किरा र भातको सिता फेला परेको हो । 

सुनसरीको इटहरी महानगरपालिका –१० स्थित हिमधारा कम्पनीले उत्पादन गरेको उपहार नामक जारको पानीको ‘सिलप्याक’ भाँडोभित्र पखेटासहितको मरेको किरा र भातको सिता फेला परेको कर्मचारी सञ्चयकोषका प्रमुख सहायक पूर्ण याखाले जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, “सफा हुन्छ भनेर जारकै पानी ल्याएर खाने गरेका थियौँ, अहिले ल्याएको जारको भाँडोभित्र त किरा र भातको सिताहरू पो भेटियो ।” धनकुटाको हुलाकटोलस्थित सनोज किराना पसलबाट सञ्चयकोषका कर्मचारीले आइतबार खरिद गरी लगेको चार वटा जार मध्येको एउटा जारको पानीमा अखाद्य बस्तु फेला परेको छ । 

जसमध्ये एउटा सिलप्याक भाँडोभित्र प्रस्टै देखिनेगरी किरा र भातको सिता देखिएपछि कार्यालयका कर्मचारीहरू आश्चर्यमा परेका छन् । सञ्चयकोषका कार्यालय प्रमुख दिपेन्द्र सापकोटाले जारको पानी उत्पादक कम्पनीको चरम लापरबाही देखिएको गुनासो गर्नुभयो । उपहार पानी उद्योगकै गाडीले गत शनिबार धनकुटाका विभिन्न पसलहरूमा बिक्रीका लागि मिनरल वाटर र जारको पानी दिएको थियो । 

सनोज किरानामा पनि सोही दिन सात वटा जार राखिएको थियो, जसमध्ये एउटा जारमा यस्तो अखाद्य पदार्थ फेला परेको हो । वषाैँ अघिदेखि सो उद्योगको गाडीले नै पसलमा बिक्रीका लागि मिनरल वाटर र जार ल्याइदिने गरेको पसल सञ्चालकको भनाइ छ । 

यसैबीच, जारमा अखाद्य बस्तु फेला परेको जानकारी पाएपछि सोमबार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धनकुटाका प्रतिनिधिले सञ्चयकोषको कार्यालयमा पुगेर जार निरीक्षण गर्नुभएको छ । जारको सिलप्याक भाँडोभित्र अखाद्य पदार्थ भएको पुष्टि भएकाले जार उत्पादक कम्पनीमाथि कारबाही प्रक्रिया अघि बढाइने खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका खाद्य निरीक्षक सुशील कोइरालाले जानकारी दिनुभयो ।