• २० असोज २०८१, आइतबार

आप्रवासी स्रोत तथा सूचना केन्द्र हस्तान्तरण

blog

कोकिला भण्डारी 

धनकुटा, असार ७ गते । धनकुटा नगरपालिका र चौबिसे गाउँपालिकालाई आप्रवासी स्रोत केन्द्र हस्तान्तरण गरिएको छ । ग्रामीण उद्यम तथा विप्रेषण आयोजना समृद्धिले एक कार्यक्रमका साथ धनकुटा नगरपालिकालाई आप्रवासी स्रोत केन्द्र र चौबिसे गाउँपालिकालाई आप्रवासी सूचना कक्ष हस्तान्तरण गरेको हो । 

सुरक्षित वैदेशिक रोजगार र स्थानीय तहमा प्रभावकारी तथा दिगो आप्रवासन सेवाको लागि समृद्धि आयोजनाले केही वर्षयता जिल्ला प्रशासन कार्यालय धनकुटा र इलाका प्रशासन कार्यालय राजारानीमा यो केन्द्र तथा सूचना कक्ष सञ्चालन गरिरहेको थियो । सम्बन्धित पालिकासँगको साझेदारीमा सञ्चालन भइरहेको यो केन्द्र अव समृद्धिले छोडेर पालिका कै पूर्ण स्वामित्वमा सञ्चालन गर्नेगरी हस्तान्तरण गरिएको समृद्धि आयोजनाका प्रमुख सरोज प्रसाद गुरागाँइले जानकारी दिनुभयो । 

धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ र चौबिसे गाउँपालिकाका उपाध्यक्ष टङ्कमाया पाङ्मी मगरलाई समृद्धि आयोजनाका प्रमुख गुरागाँइले आप्रवासी स्रोत केन्द्र हस्तान्तरण पत्रका साथमा हस्तान्तरण विवरण पुस्तिका प्रदान गर्दै आप्रवासन केन्द्र हस्तान्तरण गर्नुभएको हो । 

कार्यक्रममा केन्द्र तथा सूचना कक्षका लागि आवश्यक प्रोजेक्टर सहितका सामग्री पनि धनकुटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिनाथ सुवेदी र चौबिसे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत परशुराम दाहाललाई हस्तान्तरण गरेको हो । सोही अवसर पारेर उत्कृष्ट कार्य सम्पादन गरेबापत आप्रवासी स्रोत केन्द्र धनकुटाका सूचना अधिकृत मञ्जु राई, परामर्शकर्ता ओमकुमारी ढुङ्गाना सुशीला र आप्रवासी सूचना कक्ष राजारानीका सूचना सहायक सुरेन्द्र लिम्बुलाई प्रशंसा पत्रले सम्मान गरिएको छ । 

सोही अवसरमा बोल्नुहुँदै वैदेशिक रोजगारका लागि ठुलो सङ्ख्यामा युवाहरू विदेश जाने गरेकाले उहाँहरूलाई समस्या रहित रोजगारीको वातावरण निर्माण गर्न आप्रवासी स्रोत केन्द्रले भूमिका निर्वाह गर्ने नगरप्रमुख तामाङको भनाइ छ । 

युवायुवतीलाई भरसक स्वदेश मै रोजगारीको व्यवस्था गर्ने तथा स्वरोजगार बन्न प्रोत्साहन गर्ने नगरपालिकाको अभियान भइरहेको भन्दै नगरप्रमुख तामाङले विदेश नै जान चाहनेलाई पनि सहयोग पुर्‍याउन आप्रवासी केन्द्रलाई नगरपालिका मातहत ल्याइएको जानकारी दिनुभयो । 

धनकुटामा गत २०७५ पुस २२ गतेबाट सुरु गरिएको यस केन्द्रबाट रोजगारीको खोजीमा रहेका युवाहरूलाई स्वदेशी रोजगारी, स्वरोजगार सम्बन्धी सूचना तथा जानकारी दिने र विदेश नै जान चाहनेलाई सुरक्षित वैदेशिक रोजगारी सम्बन्धी सूचना दिने उद्देश्यका साथ स्थापना गरिएको यस संस्थाले विदेशमा समस्या परेमा उद्धार गर्ने र विदेशमा मृत्यु तथा अङ्गभङ्ग भएका व्यक्ति वा आफन्तलाई राहत प्रदान गर्न सहजीकरण गर्ने, वैदेशिक रोजगारका क्रममा ठगिएकाहरूलाई क्षतिपूर्ति तथा न्याय प्रदान गर्ने लगायतका काममा सक्रिय रहँदै आएको छ ।